logo
  • Tuesday, November 24, 2020
  • वि.सं ९ मंसिर २०७७, मंगलवार

जो आफ्नो मेहनतले उद्यमी बने…

रासस वि.सं २८ श्रावण २०७७, बुधबार १४:३१
जो आफ्नो मेहनतले उद्यमी बने…

चितवन। परम्परागत कृषि, रोजगारी गर्ने पूर्खाहरुको पेशालाई छोडेर उद्योगतर्फ होमिएका युवाहरु आफ्नो मेहनतका कारण सफल भएका छन् । परम्परागत पेशा व्यवसाय छोडेर रोजगारीतर्फ नलागी आफैँ रोजगार सिर्जना गर्न लागेका उनीहरु अहिले सफल व्यवसायीका रुपमा पहिचान बनाउन पनि सफल भएका छन् ।

नेपालका प्रायः नागरिकमा पूर्खाहरुले गर्दै आएको पेशा व्यवसायलाई निरन्तरता दिने प्रचलन रहेको देखिन्छ । नेपाली समाजमा रोजगारीको अवस्था हेर्दा शिक्षक तथा कर्मचारीका छोराछोरी आफ्नै आमाबुबाकै पेशामा लाग्नेहरु धेरै भेटिन्छन् । तर पुख्र्याैली परम्परालाई पर छाडेर उद्योगतर्फ लाग्ने युवाहरु भने थोरै मात्र भेटिन्छन् । ती थोरै मध्येका चितवनका केही केही युवा छन् जो अहिले सफल व्यवसायीका रुपमा आफूलाई स्थापित गरेर समाजमा प्रेरणका स्रोतसमेत बन्न सफल छन् ।

भरतपुर महानगरपालिका वडा नं १० निवासी दिनुप बराल जिल्ला शिक्षा अधिकारीका छोरा हुनुहुन्छ । उहाँको बुबा लामो समय विद्यालयको प्रधानाध्यापक हुनुभयो । तर दिनुप भने आफ्नो शुरुवाती जीवन नै उद्योगतर्फ लगाउनुभयो । निर्माण व्यवसायबाट उद्यमी बन्नुभएका बरालको भरतपुर महानगरपालिका वडा नं ४ मा इको पोलिमर उद्योग छ । जुन उद्योगले पानी ट्याङ्की, पिपिआर पाइप, पाइप फिटिङ, प्लाष्टिकका भाडा उत्पादन गर्दछ । यस उद्योगमा रु ५० करोडभन्दा बढी लगानी भएको बराल बताउनुहुन्छ ।

उहाँको उद्योगमा ९० जनाभन्दा बढीले रोजगारी पाएका छन् । नौ वर्षअघिबाट युवा उद्यमी बरालको यो उद्योग सफलरुपमा चलिरहेको छ । उहाँले भन्नुभयो, “मेरो त सानैदेखि उद्योग गर्नुपर्छ भन्ने ध्यान थियो ।” बुबाले पनि उद्यमी बन्न आफूलाई प्रेरणा दिएको बराल बताउनुहुन्छ । रोजगारीबाट आफूलाई मात्रै हुने तर उद्योगले अरुलाई पनि रोजगारी दिनसक्ने भएकाले आफ्नो ध्यान उद्योगतर्फ गएको उहाँको भनाइ छ ।

भरतपुर महानगरपालिका वडा नं ३ बेलचोकका युवा उद्यमी लक्ष्मण अर्याल पनि नेपालका एक सुपरिचित उद्यमी हुनुहुन्छ । उहाँ जस्मिन पेन्टस्, जगदम्बा प्लाष्टिक, सन केमिकल, एभोकार्डाे इन्टरनेशनल, टाटा मेटल एण्ड क्राफ्ट, निसिका फाउण्डेशन लगायतका संस्थासँग आबद्ध हुनुहुन्छ । पुख्र्यौली व्यापारतर्फ नलागी अर्याल उद्योग क्षेत्रमा लाग्नुभयो ।

एभोकार्डाे व्यापार र फाउण्डेशन सामाजिक संस्था हुन् भने अन्य उद्योग हुन् । उहाँको दरबार फुड्स ‘नामक’ उद्योग पनि सञ्चालनको तयारीमा छ । जस्मिन एकल कम्पनी हो भने अन्य साझेदारी कम्पनी हुन् । अर्यालका अनुसार यी सबै कम्पनीमा रु पाँच अर्बभन्दा बढी लगानी भइसकेको छ । आफ्नो २५ वर्षको उद्यमी जीवनलाई सफल मान्नुहुने उहाँले सानैबाट उद्योगमा आकर्षण भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आफू मात्रै नभएर देशका लागि केही दिन उद्योग नै गर्नुपर्छ भनेर यसतर्फ लागेको हुँ ।” देशलाई आत्मनिर्भर बनाउन उद्योगको विकास गर्नुपर्ने अर्यालको जोड छ । आफूले आम्दानी गरेको केही हिस्सा फाउण्डेशनमार्फत् सामाजिक क्षेत्रमा खर्च गर्ने गरेको उहाँले बताउनुभयो ।

तेह्र वर्षको रोजगारीपछि उद्योगमा आउनुभएका शंकरप्रसाद कँडेल चितवनको कुखुरापालन (पोल्ट्री) क्षेत्रको एउटा चिनिएको नाम हो । आफ्ना पाका पुर्खा परम्परागत कृषि खेती भए पनि युवा उमेरदेखि नै कँडेल उद्योगतर्फ आकर्षित हुनुभयो । उहाँको जीवनको १३ वर्षको जागिरे अनुभव अहिलेको आफ्नो उद्योगका लागि सहयोगी भएको महसुस उहाँको छ । अनमोल फिड्स प्रालि (कुखुराको दाना उद्योग) सँगै ह्याचरी पनि सञ्चालनमा छन् । सामूहिक व्यापारमा लाग्नुभएका कँडेलको समूहले रु एक अर्बभन्दा बढी उद्योगमा लगानी गरेको छ ।

कँडेलले भन्नुभयो “जागिर खाँदा मेरो लागि मात्रै हुन्थ्यो, अहिले धेरैका लागि रोजगारी भएको छ ।” देशैभर दाना पु¥याउँदै आएको अनमोलले धेरै किसानलाई स्वरोजगार बनाएको कँडेल बताउनुहुन्छ । तपाई कसरी उद्योगमा आउनु भयो ? भन्ने प्रश्नमा उहाँको जवाफ छ, “काम सिक्दै गएपछि साथीभाई मिलेर उद्योग गर्ने सोचको विकास भयो ।”

उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेल तीन वटा उद्योगका मालिक हुनुहुन्छ । भरतपुर महानगरपालिका वडा नं १५ निवासी पौडेलका लाइभ केयर फर्मास्युटिकल्स, हाइड्रो केयर इन्टरनेशनल, रोज प्रिन्टिङ एण्ड प्याकेजिङ उद्योग रहेका छन् । यसैगरी प्रिकेयर ‘इन्टरनेशनल’ नामक व्यापार कम्पनी पनि छ उहाँको । यी कम्पनीहरुमा रु ४० करोडभन्दा बढी लगानी भएको उहाँले जानकारी दिनुभयो ।

यी उद्योगहरुमा उहाँले नै नेतृत्व गर्नुहुन्छ र केही साझेदारहरु पनि रहेका छन् । पन्ध्र वर्षअघिदेखि उहाँका यी उद्योग सफलरुपमा चलिरहेका छन् । बुबा शिक्षक भएकाले पढाइमा उहाँको ध्यान गयो । तर पढाई् पूरा गरेसँगै उहाँले रोजगारी त गर्नुभयो त्यसबाट अनुभव सँगालेर उद्योगतर्फ लाग्नुभयो । पौडेलले भन्नुभयो, “मैले शुरुमा तीन वर्ष छ महिना रोजगारी गरेँ, त्यहीँबाट सिकेको सीपले उद्योग खोल्न सहज भयो ।”

उद्योग खोल्नुअघि ‘लाइभ केयर’ नामक कम्पनीसँगै मल्टिनेशनल कम्पनीमा पनि छोटो समय उहाँले रोजगारी गर्नुभयो । तत्कालीन त्रिभुवन विश्वविद्यालयको रामपुर क्याम्पसबाट कृषिमा स्नातक गर्नुभएका पौडेलले पछि अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभयो । यो पढाइले उहाँलाई रोजगारतर्फ नलगी उद्योगी बनायो । उहाँले भन्नुभयो, “पढाइ सकेर घरमै कृषि कर्ममा लागेको थिएँ, साथीभाइले रोजगारीमा ल्याए, रोजगारीले उद्योगी बनायो ।”

पछिल्लो समय आधुनिक पोल्ट्री व्यवसायमा लाग्नुभएका रत्ननगरका बिनोद पोखरेलको पुख्र्यौली पेशा ठेक्कापट्टा हो । तर अहिले उहाँले आफ्नो परिचय नेपालको चिनिएको पोल्ट्री व्यवसायी बनाइसक्नुभएको छ । रत्ननगरमा किसान दाना उद्योग र दाउन्ने भेट फर्मा उहाँकै नेतृत्वमा चलेको छ । नवलपरासी (सुस्ता त्रिवेणीपूर्व) को बिनय त्रिवेणी गाउँपालिकामा उहाँको ठूलो कुखुरा फर्म छ । जहाँ दाउन्ने एग्रोफर्म, किसान एग्रो फर्म र एड्भान्स पोल्ट्री फर्म पनि सञ्चालनमा छन् । यस क्षेत्रमा मात्रै रु एक अर्ब ५० करोडभन्दा बढी लगानी भएको पोखरेल बताउनुहुन्छ ।

पोल्ट्री क्षेत्रका व्यवसायीहरुको साझेदारी रहेको यस कम्पनीको नेतृत्व पोखरेलले गर्दै आउनुभएको छ । विगत २७ वर्षदेखि आफू पोल्ट्री क्षेत्रको उद्योगी हुँदै आएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मैले आफू स्वतन्त्र भएर काम गर्नका लागि जागिर नरोजी उद्योगतर्फ लागेँ ।” यसबाट धेरैलाई रोजगारी दिन पाएकामा खुशी लागेको भन्दै उहाँले निरन्तर मेहनत ग¥यो भने सफल भइन्छ भन्ने आफूले अनुभव गरेको सुनाउनुभयो । नेपालमा अहिले अण्डाको सबैभन्दा ठूलो व्यापारीका रुपमा पोखरेल चिनिनु हुन्छ ।

कलिलो उमेरमा विदेश गएकाहरु पनि स्वदेश फर्किएर उद्योगमा लाग्नेहरुको सङ्ख्या ठूलो छ । युवा उद्यमी एवं उद्योग वाणिज्य महासंघ वाग्मतीका उपाध्यक्ष राजन गौतम पुरानो पेशालाई निरन्तरता दिनेभन्दा नयाँ उद्यमी बन्नेक्रम बढेको बताउनुहुन्छ । पछिल्लो १० वर्षको अवधिमा युवामा अब नेपालमा सहज वातावरण बन्छ भन्ने लागेर उद्योगतर्फ आकर्षित हुनेको संख्या बढेको उहाँको भनाइ छ ।

गौतमले भन्नुभयो, “उद्योग गर्ने वातावरण सन्तोषजनक नभए पनि केही त गर्नैपर्छ भन्ने भावनाका साथ लाग्नेहरुको सङ्ख्या पनि ठूलो छ ।” विदेशमा गएर आर्जन गरेको लगानीले नेपालमा उद्योग खोल्ने क्रम पनि बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय रेमिट्यान्सलाई उद्योगमा लगाउनुपर्छ भन्ने भावनाको विकास भएको छ ।” बैंकहरुले उद्योगलाई प्राथमिकतामा राखेर ऋण लगानी गर्न थालेपछि थप आकर्षण बढेको गौतमको अनुभव छ ।

सफल यी युवा उद्यमीहरु युवालाई जागिरमाभन्दा सानै भए पनि उद्योगतर्फ लाग्न आग्रह गर्नुहुन्छ । नेपालमा उद्योगको सम्भावना धेरै रहेको बताउँदै उहाँहरुले विदेश जाने खर्चले त नेपालमै सानोतिनो उद्योग शुरु गर्न सकिने बताउनुहुन्छ । उहाँहरुको भनाइ छ “एकै पटक ठूलो प्रतिफल नखोजी सानोबाट शुरु गर्ने हो भने नेपालमा उद्योग क्षेत्रको भविष्य उज्ज्वल छ ।” नेपालको परनिर्भरता घटाउन पनि राज्यले युवाहरुलाई उद्योगतर्फ आकर्षित गर्नुपर्ने सुझाव उहाँहरुको छ ।

चितवन उद्योग सङ्घको तथ्याङ्कअनुसार जिल्लामा दुई हजारभन्दा बढी उद्योग रहेका छन् । ती उद्योगमध्ये ७० प्रतिशत पुख्र्यौली नभएर नयाँ युवाले सञ्चालन गरेका हुन् । चितवन जिल्लाको यो तथ्यले पनि उद्योग गर्ने युवा वर्गको जमात बढ्दै गएको देखिन्छ । स्वदेशमै केही गरौँ भन्ने भावनाले यसरी युवाहरुले स्वरोजगार तथा उद्यमशीलतालाई प्राथमिकतामा राखिदिए भने मात्र देशमा समृद्धि सम्भव छ ।

यसले हातमा सीप र जाँगर भएका युवाहरुलाई पनि स्वदेशमै रोक्न सक्नेछ र देशमा साना तथा घरेलु हुँदै ठूला उद्योगहरुको सम्भावना पनि बढ्दै जानेछ । यसरी समृद्धि उद्यमबाट मात्र सम्भव छ भन्ने तथ्य देशव्यापी बनाउनु आवश्यक छ । अन्तर्राष्ट्रिय युवा दिवसको आजको अवसरले नेपालका युवाहरुलाई यही सन्देश दिन सकोस् ।

 



Loading...
loading...

Top