logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

विश्वमा आज : ‘वर्ल्ड ट्रेड सेन्टर’ आक्रमणको १८ वर्ष

एजेन्सी वि.सं २५ भाद्र २०७६, बुधबार १६:३८
Blog single photo

एजेन्सी: अमेरिकी आतंककारी हमलाको आजबाट १८ वर्ष पूरा भएको छ । ११ सेप्टेम्बर २००१ का दिन भएको सो आक्रमणले गर्दा लिइएको आतंकवाद विरुद्धको विश्वव्यापी लडाईंको अमेरिकी नीतिले विश्वभरी नै प्रभाव परेको छ ।

सो दिन न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा र रक्षा मन्त्रालय पेन्टागनमा आतंकवादी हमला भएको थियो । अमेरिकाले तत्कालै अफगानिस्तानमा युद्ध शुरु गरेर कट्टरपन्थी समूह तालिवानलाई सत्ताबाट हटाएको थियो ।

सेप्टेम्बर ११ का दिन इश्लामिक आतंकवादी समूह अल कायदाले गरेको आक्रमणमा दुईहजार ९९६ जना मानिसको ज्यान गएको थियो । ६ हजार भन्दा बढी मानिस घाइते भएका थिए ।

१० बिलियन डलर बराबरको भौतिक सम्पति नष्ट भएको थियो । सोही दिनको घटनाको असरले गर्दा अझै थुप्रै मानिसहरु क्यान्सर जस्ता रोगबाट मृत्युको अवस्थामा पुगेका छन् ।

चारवटा विमानको प्रयोग गरेर सो आक्रमण भएको थियो । ती एयरलाइन्स युनाइटेड एयरलाइन्स र अमेरिकन एयरलाइन्सका थिए । ती विमान अपहरण गरेर वर्ल्ड ट्रेड सेन्टरमा ठोक्काइएका थिए । सो आक्रमणमा ११० तले दुवै टावर ढलेका थिए । अर्को विमान अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा ठोक्काइएको थियो । त्यसले सामान्य क्षति मात्रै गराएको थियो ।

त्यतिबेला अमेरिकाले लिएका नीतिका कारण विश्वभरीका साना ठूला विद्रोही समूहहरु समेत आतंकित भएका थिए । अहिले १८ वर्षपछि पनि उनै तालिवानसँग अमेरिका वार्ता गरिरहेको छ । सम्झौताको नजिक पुगेकोमा अमेरिकी राष्ट्रपतिले गएको शनिबार मात्रै वार्ता रद्ध गरिदिएका थिए ।

सन् २०१७ मा ट्रम्प प्रशासनले आफ्नो राष्ट्रिय सुरक्षा योजना जारी गरेको थियो । त्यसमा अमेरिकी विदेश नीति आतंकवादको विरुद्ध विश्वव्यापी लडाईंबाट हटेर पुरानै नीतिमा फर्केको जनाइएको थियो ।




Top