logo
  • Tuesday, May 26, 2020
  • वि.सं १३ जेष्ठ २०७७, मंगलवार

भाइरसबाट बच्ने आफ्नै ज्ञान के कारणले बिर्सेको?

डा. राेशन श्रेष्ठ वि.सं २२ चैत्र २०७६, शनिबार १३:१७
भाइरसबाट बच्ने आफ्नै ज्ञान के कारणले बिर्सेको?

कोरोनाभाइरसको आतंक फैलिएको समयमा हाम्रा पुर्खाहरु यस्तो अवस्थामा के गर्थे भन्ने मनन गर्नु वान्छनीय देखिन्छ । क्वारेन्टाइन, आइसोलेशन, लकडाउन जस्ता शव्दहरु घरेलु शव्द जस्तै भएको अवस्थामा हाम्रा पूर्खाहरुले गरेको‍‍ अभ्यास तथा रितिथितिहरुको सान्दर्भिकता स्मरणयोग्य छ।

जहाँ जता पुगेपनि गुचमुच्च एकै ठाउँमा बस्ति बसालेर त्यहि बस्तिलाइ शहरको रुपमा विकास गर्दै शहरिया सभ्यता अँगालेर सम्पन्नता हासिल गर्ने ‘नेवार’को घर-समाज आन्तरिक रुपमा भने निकै ‘रुढीबादी’ तथा जटील नियमहरुको गञ्जागोलमा जेलिएको मानिन्छ।

स्वतन्त्रताको आधुनिक नजरले हेर्दा बुझेर बुझ्न नसकिने त्यस्ता थुप्रै कुराहरुले हामी सबैलाइ रोमाञ्चकता होइन ‘दिक्क लाग्दो’ बनाएको थियो कुनै बेला। र हामी नै हो ती ‘रुढीबादी परम्परा’लाइ च्यातचुत पारेर भत्काउनु पर्छ भन्ने ‘उग्र क्रान्तिकारीता’मा लठ्ठिएर बुज्रुक वयस्कहरुका पुर्खौली ज्ञानमाथि धज्जी उडाउदै तिरस्कार गर्ने लठुवाहरु पनि ।

तर आधुनिक आवश्यकताहरु मनन गर्दै जाँदा हामी क्रमश: तिनै पुर्खाहरुको ज्ञानभण्डार र आनीबानी नै सहि रहेछ भन्नु पर्ने अवस्थामा घचेटिदै पुगीरहेका त छैनौं?

जस्तो कि: उदाहरणार्थ, क्वारेन्टाइन – यो शव्द अचेल कोरोनासित लड्ने महामन्त्र जस्तो भएको छ । धेरैलाइ यसको अर्थ राम्रोसित थाहा छैन । १४ दिन कतै अलग्ग राख्नु नै क्वारेन्टाइन हो भन्ठान्छन प्राय मानिस – जुन गलत बुझाइ हो ।

ल्याटिन शव्द क्वाद्रागिन्ता बाट परिणत हुँदै इटालियन शव्द बनेको क्वारान्ता को अर्थ ४० हो भने ४० दिन अरुबाट छुटाएर राख्ने (जुन एकखालको सँजाय थियो) प्रचलन क्वारेन्टाइन भयो ।

छुटाएर राख्ने वा आफै छुटिएर बस्ने चलन आइसोलेशन, सेल्फ-आइसोलेशनको प्रचलन नेवार समाजमा पहिला देखि नै छ । यसलाइ ‘पुच्वनेगु’ भनिन्छ ।

रोगब्याधि र आवश्यकताको प्रकार अनुसार फरक फरक ‘पुच्वनेगु’ प्रचलन थियो। अहिले ‘पुच्वनेगु’ शव्द मात्र होइन भाषा नै बिलुप्त हुने अवस्थामा पुग्दा ती प्रचलन र त्यसपछाडि लुकेको ज्ञान जम्मै नष्ट भएर जानु स्वभाविकै हो।

जस्तो कि भनिन्थ्यो –
‘झारबान्ता वल कि निवा: पुच्वनेगु’ – अर्थात हैजाको महामारी फैलिदा २ हप्ता आइसोलेशन ।
‘त:कै वल कि प्यवा: पुच्वनेगु’ – अर्थात बिफर फैलिदा ४ हप्ता आइसोलेशन
‘नां काये मज्यूम्ह पुन कि खुवा: पुच्वनेगु’ – अर्थात ‘नाउँ थाहा नभएको, नयाँ खाले, संक्रमण भए ६ हप्ता आइसोलेशन । ६ हप्ता भनेको ४२ दिन, अर्थात ४० दिनको हाराहारी ‘क्वारेन्टाइन’ – यो नेवार प्रचलन पनि हो ।

अहिले विज्ञानले भन्दैछ कोरोनाभाइरस संक्रमणबाट पूर्ण मुक्तिको निमित्त ३४ दिन आइसोलेशन आवश्यक पर्छ । दिनको हिसाबले शताव्दियौं पुरानो नेवार परम्परागत ज्ञानको नजिक बिज्ञान पुगेछ भन्न मिलेको अवस्था छ ।

यसबाहेक ब्यापार वा धर्मकर्मको सिलसिलामा टाढाको यात्रा गरी फर्किए उनीहरुलाइ पनि ‘निवा: पुच्वनेगु’ (दुइ हप्ते आइसोलेशन)मा अनिवार्य राखेर त्यसपछि मात्र सगुन दिइ घर भित्राइने नियम थियो पहिला ।

अर्थात विविध रोग र आवश्यकताअनुसार क्वारेन्टाइन मात्र होइन अन्य थरीथरीका आइसोलेशन नेवार समाजमा विद्यमान थियो भन्ने बुझिन्छ, जुन हामीले बिर्सिएपछि भोली पश्चिमाहरुबाट फेरी सिक्ने होला ।

दैनिक रुपमा चलनचल्तिका नियमहरु पनि स्वास्थ्य चेतना प्रेरित थिए । जस्तो कि,

घरबस्तिबाहिर गइ कामबाट फर्किदा ‘ल्हा: तुति सिला: दुहाँ वयेगु’ अर्थात हात खुट्टा धोएर घर पस्ने नियम थियो पहिला । त्यसको लागि बस्ति छिर्ने मुलबाटोमा बस्ति नजिकै पुगेपछि ‘हिति’ (ढुङ्गेधारो)को ब्यवस्था थियो पहिला ।

दैनिक रुपमा बाहिर दिनभरी काम गरी फर्केर घरभित्र पसेपछि ‘म्हुतु च्वला: जक न्ववायेगु’ अर्थात ‘मुख पानीले कुल्ला कुल्ला गरेर मात्र अरुसित बोल्ने कुराकानी गर्ने’ नियम थियो पहिला । ‘म्हुतु च्वलेगु’ नगरेसम्म कुरा समेत नगरी हातको इशाराले कुरा गर्नु पर्ने कडा नियम थियो पहिला ।

पुनेय:गु थाय्, पुना:हैगु थाय् अर्थात संक्रमण हुने सम्भावित ठाँउहरु छ्वास, दुबात आदि पहिले नै पहिचान गरेर राखिन्थ्यो । कोहि संक्रमित भएर विरामी भए ‘पुँइ हनेगु’ (जसको शाव्दिक उल्था अरु कुनै पनि भाषामा छैन) गरिन्थ्यो । कपासको डल्ला डल्लाको बीचमा सिम्रिक रंग दलेर लामो सिन्कामा झून्डाइ बनाइने पुँइ ले अरु मानिसलाइ ‘यो ठाँउमा भाइरस सक्रिय छ, यहाँबाट पर बस’ भन्ने चेतावनी दिएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

बौ तयेगु (यसको पनि शाव्दिक उल्था उपलव्ध छैन) भनिने स्वास्थ्यलाभको निमित्त गर्ने प्रचलन किन गरिन्छ यसपछाडिको वैज्ञानिक कारण के के छन भन्ने रहस्यकै गर्भमा छ । यस्तै थाहा हुन नसकेको अरु स्वास्थ्यलाभका नेवार प्रचलनहरु किग: ह्वकेगु, गुँ थनेगु, पिया: छ्वयेगु, पुकेगु, आदि छन् जुन अन्य भाषामा शव्द नै छैन । ज्ञात अज्ञात किटाणु वा भाइरसहरुबाट तिनले मुक्ति कसरी दिन्छ भन्ने पनि रहस्यको गर्भ मै लुकेको छ । यस्ता प्रक्रियामा संलग्न हुनेले आफै पनि हातखुट्टा मुख सबै नवद्वार पखालेर शुद्ध भइ त्यो प्रक्रिया थालेर समाप्त भइसकेपछि फेरी नवद्वार पखालीसकेपछि मात्र अरुसित बोल्न पाइने कडा नियम विद्यमान छ । भाइरस जस्ता अदृष्य किटाणुहरुसित लापरवाहि नगर है भन्ने ज्ञानचेतनाकै कारण ती कडा नियमहरु बनेको हो ।

अलि ब्यापक प्रचलनमा रहेको र बुहार्तनको मामिलामा झञ्ञटिलो शव्द ‘चिपनिप’ अर्था जुठोचोखो पनि स्वास्थ्यचेतना सित सम्बन्धित नियम नै हो। चिपं थिल भन्दाखेरी जुठो भयो, अपवित्र भयो, फोहर भयो भन्ने बुझिन्छ । ‘चिप भ्या: जुल’ पनि भनिने अर्को खाले संक्रमण छ, जसको शाव्दिक उल्था पश्चिमा मात्र होइन नेपालकै अरु भाषाभाषिमा पनि शायद छैन होला । यस्तै ‘चिपं स्वात’ भन्ने फेरी फरक खाले संक्रमण पनि छ, यो पनि राम्ररी बुझ्न बुझाउन बाँकि नै छ।

मृत्युकर्म वा अशक्त विरामीलाइ सहायता गरेर फर्केपछि ‘क:थियेगु’ भन्ने प्रचलन छ। यो चलनमा हातखुट्टा सफा गर्नको लागि मँ/हेम्व (धानको भुस) र क: (जाँड वा रक्सि पारेर बचेको रेजिड्यू) मिसाइ त्यसले हातखुट्टा राम्रोसित माडेर धोइपखाली गर्ने चलन थियो । अचेल भने कर्मकाण्डी पारामा त्यो मिश्रणमा खुट्टाको औलामात्र चोपल्ने गरिएको छ। यो चलन पनि हात खु्ट्टामा रहन सक्ने किटाणु जिवाणु नष्ट गर्नुपर्छ भन्ने चेतनाको अवशेष नै हो ।

त्यस्तै कतिपय संस्कारहरुमा ‘खौ कायेगु’ चलन छ । सरसफाइ गरीसकेपछि तोरीको पिना लिएर अनुहार हात जस्ता ‘एक्सपोज’ हुने छालामा पिना दल्ने प्रचलनलाइ ‘खौ कायेगु’ भनिन्छ । तोरीको तेल तथा पिनाको यस्तो प्रयोगले भाइरसबाट कसरी बचाउँछ भनेर पहिला पनि बताइसकेको छु ।

यस्ता परम्परागत ज्ञानहरु परिष्कृत गर्दै समयसापेक्ष गर्दै लानु पर्नेमा, उल्टो झन ‘रुढीबादि् भन्दै तिरस्कार गर्ने, तथा नयाँ पुस्तामाझ भाषा नष्ट भए सँगै ती ज्ञानहरु पनि नष्ट हुँदै गएको अवस्था छ । यस्तो दुखद सिलसिला कसरी अन्त्य हुने हो खै? आज आएर नेवार समाजले विकास गरेका यस्ता अनगिन्ति ज्ञानगुणका कुराहरु नेवारलाइ बुझाउनको निमित्त पनि अरु भाषाको सहारा लिन पर्ने दुखद परिस्थिति आएको छ ।

परम्परागत ज्ञान पनि भाषाबिलिन भए सँगै बिलिन भएर जाने अवस्था देखिएको छ ।

पश्चिमेली छाउपडी प्रथा को पश्चिमेली समाधान !



Loading...
loading...

Top