logo
  • Wednesday, September 18, 2019
  • वि.सं १ आश्विन २०७६, बुधबार

आहा ! तिम्बुङ पोखरी, धार्मिक तथा पर्यटकीय महत्वको गन्तब्य

स्टिम न्युज वि.सं ४ भाद्र २०७६, बुधबार ०९:४४
Blog single photo

साउन भदौको सिमसिमे पानीमा आफ्नो लागि ओढ्ने ओछ्याउने सामान र खाद्यवस्तु बोकेर कसैले छाता ओढेर त कसैले प्लाष्टिक र रेनकोट ओढेर उकालो चढिरहेका हुन्छन् ।

बर्खे झरीमा दुई-तीन दिन सम्मको पैदलयात्रापछि पुगिने तिम्बुङ पोखरीसम्मको यात्रा धेरै कठिन झैँ लाग्छ । तर एक पटक पुगेपछि फेरि जाउँजाउँ लाग्ने, पुगेर उतै रहुँजस्तो लाग्ने धार्मिक, जैविक एवम् प्राकृतिक सुन्दरताले भरिपूर्ण तिम्बुङ पोखरीमा बर्षेनी साउनदेखि असोजसम्म आन्तरिक पर्यटकको लर्को लाग्ने गर्छ ।

बर्खा याममा मात्र जान सकिने पूर्वको प्रसिद्ध पर्यटककीय स्थल तिम्बुङ पाँचथरको याङवरक गाउँपालिका, ताप्लेजुङको सिद्धिङवा गाउँपालिका र भारतको सिक्किम राज्यको त्रिकोणात्मक संगम स्थलमा अवस्थित छ ।

हिमाललाई नजिकबाट जिस्काइरहेको जस्तो देखिने उच्च लेकाली क्षेत्र हो तिम्बङु पोखरी  धार्मिक क्षेत्रसमेत हो । समुद्र सतहबाट ४ हजार ४ सय ८० मिटरको उचाइमा रहेको तिम्बङु पोखरी। पोखरी परिसरबाट कञ्चनजंघा हिमाल नजिकबाट नियाल्न सकिन्छ ।

वर्षको ६ महिना हिउँले ढाक्ने यो पोखरीमा परापूर्वकालदेखि नै भक्तजनले पूजा–आराधना तथा दर्शन गर्ने प्रचलन रहिआएको छ । पोखरीमा पूजा र भाकल पूरा गर्दा मनोकांक्षा पूरा हुने एवं सुख, शान्ति र समृद्धि मिल्ने जनविश्वास  छ ।

नामाकरण

तिम्बुङ पोखरी नाम लिम्बू भाषाको तेम्बकबाट रहन गएको हो । लिम्बु भाषामा  ते भनेको बन्दुक र बुङ भनेको पड्किएको आवाज भन्ने बुझिन्छ । केहीले भने लिम्बू भाषामा तिम्बू भनेको टिलपिल भरिएको भन्ने अर्थ रहेकाले तिम्बुङ पोखरी नामाकरण भएको पनि बताउने गरेका छन् ।

धार्मिक बिश्वास 

अङ्ग्रेजहरूले भारतमा शासन गर्दा पोखरीमा बहुमुल्य धातु हुन सक्ने भन्दै तल्लो भागबाट कुलेसो बनाएर पानी फाल्दा त्यहीँ मृत्यु भएको जनश्रुति पनि छ । सो पोखरीमा टिलपिल भएर पानी भरिएको वर्ष अन्नपात उत्पादनमा वृद्धि हुनेमा स्थानीयको विश्वास रहेको पाइन्छ । अर्कातिर पोखरीको दर्शन गरे मनोकांक्षा पूरा हुने र भए गरेका पापबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ ।

विशेष गरेर साउन,  नागपञ्चमी र जनैपूर्णिमामा विशेष पूजा तथा दर्शन गर्ने गरिन्छ । पोखरीलाई भक्तजनले अदम्य र अद्भुत एवं पवित्रताको स्रोतका रूपमा लिन्छन् । यहाँ कुनै जात, धर्म तथा लिंगको भेदभाव छैन तर मनमा पाप, लोभ, इष्र्या, द्वेष तथा हिंसा बोकेको मान्छे गए उनीहरूको सर्वनाश हुने र त्यस क्षेत्रमै ठूलो विपत्ति आइलाग्ने जनविश्वास रहि आएको छ । जसको पुष्टि बेलाबेलामा घटेका घटनाले पनि गर्ने गरेको पाइन्छ ।

पोखरीभित्रको फोहोरमैला धोबी चराले सफा गरिदिने विश्वास गरिन्छ । पोखरीमा भएका र चढाइएका सामान लैजानु नहुने मान्यता रहिआएको छ । त्यसरी लैजान खोज्ने १२ जना विदेशी पर्यटकको एकैचोटि मृत्यु भएको घटना त्यसैको दृष्टान्त हो । पोखरी परिसरमा शिवको शिला, किरात माङहिम र बौद्धशिलाहरू रहेका छन् ।

पहाडको टाकुरामा रहेको यो पोखरीलाई जति हेरे पनि हेरिरहुँ लाग्ने गरेको सिरिजंघा निवासी मोहन भट्टराई बताउँछन् । अर्कातिर एकातर्फबाट तर्नै नसकिने गरी निस्किएको निकासले अझ सौन्दर्य थपेको छ । मनसुनी समयमा प्राकृतिक सौन्दर्यमा रमाउन चाहने धेरै मानिस बर्सेनी यो पोखरीमा पुगेर फर्किन्छन् ।

पर्यटकीय महत्व

तिम्बुङ पोखरी क्षेत्र प्राकृतिक सौन्दर्य र जैविक विविधताका दृष्टिकोणले पनि अत्यन्तै महत्वपूर्ण छ । जनजीविकाको आधार पशुपालन तथा जडीबुटी व्यवसाय रहेको यस क्षेत्र दुर्लभ वनस्पति तथा वन्यजन्तुको अन्तरदेशीय जैविक मार्ग एवं जडीबुटीको राजधानीका रूपमा परिचित छ ।

बहुमूल्य जडीबुटी विखमा, कुट्की, पदमचाल, जटामसी, पाँचऔंले, यार्सागुम्बा पाइने यस क्षेत्रलाई सुनपाती, भैरुङपाती, सिक्पाले पुरै सुगन्धित बनाएको हुन्छ । यहाँ लरेवा, चिलिमे डाँफे, मुनाल तथा झारल, घोरल, भालु, हिउँ चितुवा, कस्तूरी, मृग, रेडपान्डा, नाउर जस्ता वन्यजन्तु पनि देख्न सकिन्छ ।

तिम्बङु पोखरी क्षेत्रमा धार्मिक एवं जैविक–प्राकृतिक सौन्दर्यसँग रमाउने पर्यटकहरु कम्तिमा साता लामो भ्रमणका लागि निस्कनु पर्दछ ।
चट्टानयुक्त पहाड र ठूला ठूला समथर मैदानले तिम्बुङ पोखरीको यात्रालाई आनन्दायक र मनमोहक बनाउँछ ।

ठूला समथर मैदान, पानीका स–साना खोला खोल्सी, सँगै भेटिने चौरी, याक, तोले, उराङ, भेडा, बाख्रा लगायतका हिमाली जनावरको चरन उत्तिकै मनमोहक हुने गर्दछ ।

गोठाला र पशुको सुरक्षाका लागि पालिएका महँगा हिमाली कुकुरको गर्जन पूरा पहाड कापेको महशुस हुने गर्दछ । यी आकर्षणलाई भेट्न कठिन भूगोल पार गर्नु पर्दछ । यहाँको धार्मिक र ऐतिहासिक पक्षका विषयमा पर्याप्त खोजी हुन सकेको छैन ।

क्षेत्रका सुन्दर हिमाल, धरातलीय स्वरूप, जैविक विविधता, विभिन्न पोखरी तथा तालकुण्ड दर्शनीय मात्र नभएर अध्ययन र अनुसन्धानका दृष्टिले पनि ज्यादै महत्वपूर्ण छन् ।

तिम्बुङ पोखरीको दर्शन तथा त्यस क्षेत्रको भ्रमणका लागि उपयुक्त समय जेठदेखि कात्तिकसम्म र त्यसमा पनि साउन अति उपयुक्त हुने गरेको छ ।




Top