logo
  • Monday, November 18, 2019
  • वि.सं २ मंसिर २०७६, सोमबार

तीजको दर खानुहुदैछ ? यी कुराहरुमा ध्यान दिनुहोस्

स्टिम न्युज वि.सं १५ भाद्र २०७६, आईतवार १६:५२
Blog single photo

काठमाडौं। आज हिन्दुमहिलाहरुले मनाउने चाड तीजको अघिल्लो दिन, दर खाएर मनाउने गरिन्छ । दरको रुपमा विभिन्न मीठा परिकार खाने तथा खुवाउने गरिन्छ । भोलीपल्ट बस्ने हरितालिका तीजको अवसरमा महिला दिदी बहिनीलाई दर खुवाउने चलन रहँदै आएको छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ आउेन र दरको रुपमा खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।

दर खाएको भोलीपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको अघिल्लो रातको १२ बजेसम्म दर खानुपर्छ भन्ने गरिन्छ ।

दर खादा ध्यान दिनुपर्ने कुराहरु:-

स्वच्छ खाने

मौसम वर्षातको छ । यो मौसममा बजारका खानेकुरा तथा सागसब्जी अस्वस्थ पनि हुन सक्छ । राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्र खानुपर्छ । घरमै बनाइएको ताजा र पोषिलो खाना खानुपर्छ । बासी, सडेका, ढुसी परेका खानेकुराबाट टाढा रहनुपर्छ । दरका लागि बनाइएको खानेकुरा नसिद्धिएर पछिका लागि राखेर खाँदा स्वास्थ्य समस्या हुन सक्ने भएकोले ताजा र स्वच्छ खानेकुरा मात्र खानुपर्छ । रमझम गरी रमाइलो गर्ने तीजमा बिरामी परेर हुने बिजोगबाट बच्न खानेकुराको स्वच्छतामा ध्यान दिनैपर्छ ।

भारी नखाने

दरमा माछा मासुजस्ता परिकार खाने चलन पनि छ । यस्तो परिकार धेरै मात्रामा खानु स्वास्थ्य समस्या निम्त्याउनु हो । माछा मासु र अन्य परिकार खाँदा धेरै मरमसला हालेर पकाइएको सकेसम्म नखानु राम्रो हुन्छ । तीजको अघिल्लो रात खाइने दरमा समावेश खानेकुरामा नुन, पिरो र मसलाको मात्रा कम हालेको खाध्य पदार्थ खानुपर्छ ।

तेलमा तारेको खानेकुरा धेरै खाँदा पेटका विभिन्न समस्या देखिन सक्छन् । नुन धेरै सेवन गर्दा धेरै प्यास लाग्ने भएकोले निर्जल व्रत बस्नेलाई समस्या हुन सक्छ । निर्जल व्रत बस्न चाहनेलाई निरुत्साहित रोक्न त सकिँदैन । तर, व्रत बस्दा पानीसम्म पिउन विज्ञले सुझाव दिने गरेका छन् ।

धेरै नखाने

नेपाली उखान नै छ, ‘धेरै खाए मल, थोरै खाए बल’ । हिजो-आज महिनादिन अघिदेखि नै खाइने तीजको दरको सन्दर्भमा यो उखान सान्दर्भिक हुन्छ । सकेसम्म महिनादिन अघिदेखि दर नखाएकै राम्रो । खाए पनि शरीरलाई असर नपुग्ने गरी खान विज्ञ सल्लाह दिन्छन् । शरीरले धान्नै नसक्ने गरी धेरै खाँदा विभिन्न झाडापखाला जस्ता समस्या हुनुका साथै अन्य स्वास्थ्य समस्या समेत हुन सक्छ । शरीरमा अनावश्यक बोसो जमेर अन्य रोग लाग्ने गरी खानेकुरा खान हुदैन  ।

पोषिलो खाने

पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने खाद्य खानुपर्दछ । व्रतको राति अबेर खाएर शरीरलाई व्रतका लागि तयार गर्नु उपयुक्त हुनेछ ।

शरीरका लागि ग्लुकोज तथा कार्बाेहाइड्रेड दिने खालका खानेकुरा खान उपयुक्त हुन्छ । यसका लागि फलफूल तथा अन्नबाट बनेका परिकार खानुपर्छ । मधुमेह, रक्तचाप, ग्याष्ट्रिकका समस्या भएका बिरामीले दर खाँदा खानाको सन्तुलनमा विशेष ध्यान दिनुपर्छ । यस्ता बिरामीले सबेसम्म निराहार व्रत पन्छाउनु नै राम्रो मानिन्छ।

शरीरलाई भारपर्ने गतिबिधी नगर्ने

व्रतको बेला नाचगानका धेरै शक्ति खेर फाल्नु पनि अनुपयुक्त हुन्छ । धेरै परिश्रम पर्दा लिभरमा जम्मा भएको ग्लुकोज सिद्धिएर कमजोरी तथा बेहोस हुने सम्भावना हुन्छ । त्यसैले व्रतको समय शरीरलाई भार पर्ने गतिविधि कम गर्नुपर्छ ।

मदिराको प्रयोग नगर्ने

दरको नाममा मादक पदार्थ सेवन गर्नु विसंगति हो । तीजभन्दा धेरै दिनअघि हुने गरेका दर कार्यक्रममा मदिराजस्ता हानिकारक कुरा प्रयोगलाई निरुत्साहित गरिनुपर्छ।




Top