logo
  • Monday, January 18, 2021
  • वि.सं ५ माघ २०७७, सोमबार

विदेशबाट फर्केर सामूहिक तरकारी खेती

रासस वि.सं २२ पुष २०७७, बुधबार १५:०५
विदेशबाट फर्केर सामूहिक तरकारी खेती

बागलुङ: विश्व महामारीका रुपमा फैलिएको कोरोनाले धेरैको भविष्य अन्योल बनाए पनि गुल्मीका युवाले भने नयाँ सोचसहित सामूहिक तरकारी खेती गर्न थालेका छन् । विदेश तथा स्वदेशमा काम गर्ने धेरैका रोजगारसमेत गुमेको बेला यहाँको रेसुङ्गा नगरपालिकाका युवा विदेशबाट फर्केर सामूहिक तरकारी तथा कृषि खेतीमा लागेका छन् ।

रेसुङ्गा नगरपालिक–१० सिमिचौरका ४० वर्षीय राजन कुँवर विगत १० वर्षदेखि मलेसियामा विभिन्न रेष्टुरेन्ट तथा अन्य कम्पनीमा काम गर्नुहुन्थ्यो । व्यक्तिगत कामका लागि गत फगुन २४ गते स्वदेश फर्कनुभयो । त्यसपछि कोरोना महामारी शुरु भयो । विदेशको भिसा पनि कम्पनीले बन्द गरिदियो । परिवार चलाउनकै लागि अर्थोपार्जका विभिन्न उपाय सोच्दै गरेका कुँवरले सामूहिक कृषि खेतीको अवधारणा बनाउनुभयो । अहिले उहाँसहित सिमिचौरका पाँच र रेसुङ्गा नगरपालिका–४ अर्खलेका एक गरी ६ जना मिलेर गत जेठदेखि सिमिचौरमै सामूहिक तरकारी खेती गरिरहनुभएको छ । उहाँसहित टोपबहादुर कुँवर, फर्सुराम कुँवर, रवि कुँवर, सुवास कुँवर र टेकराज कुँवरले सामूहिक तरकारी खेती शुरु गर्नुभएको हो । उहाँहरु सबै वैदेशिक रोजगारीबाट बन्दाबन्दीको समयमा घर फर्कनुभएको हो ।

छ युवाले सिमिचौरकै १० जनाको कूल ७२ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएका छन् । उक्त जग्गा छ वर्षदेखि बाँझो थियो । जसले गर्दा खेतमा रूख उम्रिएर जङ्गलमा परिणत भएको थियो । युवाले आफूहरुको परिश्रमसहित कूल रु ६ लाख लगानीमा ५५ रोपनी जङ्गल (खेत) फँडानी गरी अहिले तरकारी लगाएका छन् ।

जग्गाधनीमध्ये केहीले एक वा दुई वर्षको भाडा छुट गरेका छन् । त्यसपछि भने वार्षिक रु ६० हजार जग्गा भाडा बुझाउनुपर्ने राजन कुँवरले बताउनुभयो । खेतमा अहिले पाँच क्विन्टल आलु लगाइको छ । त्यस्तै गोपी, प्याज, काँक्रा, घिरौँलालगायत तरकारीका नर्सरीहरु रहेका छन् । अन्य तरकारीका बेर्नाहरु पनि यामअनुसारका उत्पादन गर्छन् । अहिलेसम्म प्याज, गोपीलगायत बेर्ना बिक्रीबाट मात्रै एक लाखभन्दा बढी आम्दानी भइसकेको छ । अहिले बारीमा बन्दागोभी, लोकल गाजर, साग, मूला, टमाटर, केराउलगायत तरकारी छन् । उत्पादित कृषिजन्य सामग्री सबै रेसुङ्गा नगरपालिकाको हाटबजारमा बिक्री हुने गरेका छन् । कृषि उपज लिन नगरपालिकाको गाडी फार्म नजीकै आउने भएकाले बजारको समस्या नभएको अर्का कृषक फर्सुराम कुँवरले बताउनुभयो ।

विदेशमा काम गर्नेको तुलनामा ६० प्रतिशत मात्रै मिहिनेत गरे राम्रो आम्दानी हुने राजनको भनाइ छ । भविष्यमा आफूहरुले उक्त ठाउँलाई टमाटरको पकेट क्षेत्र बनाउने योजना रहेको उहाँले सुनाउनुभयो । विदेशमा अरूको मातहतमा काम गर्न परे पनि स्वदेशमा ‘आफ्नै हात जगन्नाथ’ हुने उहाँको अनुभव छ । ७२ रोपनीमध्ये बाँकी रहेको केही जग्गा फँडानी गरी तरकारी खेती गर्न तयारी अवस्थामा राखिएको छ । बाँकी रहेको २०÷२२ रोपनी जग्गामध्ये केही भाग फँडानी गरी बाख्रा पाल्ने र केही भाग बाख्राका लागि चरन क्षेत्र बनाउने योजना छ । अब एक÷डेढ महिनाभित्रै खोर बनाउन शुरु गरिने, खोरमा चार सयसम्म बाख्रा पाल्ने र उक्त बाख्राका लागि घाँस पनि लगाउने अर्का कृषक टोपबहादुरले बताउनुभयो ।

सिमिचौरकै २६ वर्षीय सुवास कुँवर रोजगारीको सिलसिलामा अहिलेसम्म तीन देश घुम्नुभयो । शुरुमा मलेसिया जानुभयो । दलालका कारण काम राम्रो नभएपछि उहाँ दुई महिनामै घर फर्कनुभयो । त्यसपछि रोजगारीकै लागि भारत र कतार जानुभयो । तर, कोरोनाका कारण काम बन्द भएपछि उहाँ पुनः घर फर्कनुभयो । गाउँमै केही काम गर्ने सोच बनाएका सुवास सामूहिक खेतीमा भविष्य देखेर काममा होमिनुभयो । आफूको सानैदेखि कृषिमा रुचि भएकाले पनि अहिले तरकारी खेती गर्दा आनन्द लागेको उहाँले सुनाउनुभयो । विदेशमा भन्दा स्वदेशमा काम गर्दा छुट्टै प्रकारको आनन्द आउने उहाँको अनुभव छ । “विदेशमा अरूको मातहतमा बस्नुपर्छ, समयमा तलब आउने ग्यारेन्टीसमेत हुँदैन”, उहाँले भन्नुभयो, “यहाँ त आफ्नै प्रकारको स्वतन्त्रता छ ।”

सामूहिक कृषि खेतीमा लागेका अर्का सदस्य ३७ वर्षीय टेकराज विगत पाँच वर्षदेखि मलेसिया हुनुहुन्थ्यो । कोरोनापछि गाउँ बस्ने सोच बनाएर शुरु गरेको तरकारी खेतीबाट उहाँलाई सन्तुष्टि मिलेको छ । अहिले आफूहरुलाई काम गर्नका लागि विभिन्न कृषि सामग्री फार्मसम्म पु¥याउन तथा उत्पादित कृषिजन्य उपजहरु बजारसम्म लैजान मोटरबाटोको समस्या तथा सिँचाइका लागि पानी भए पनि पाइपको समस्या रहेको उहाँले गुनासो गर्नुभयो ।

त्यस्तै विभिन्न कृषिजन्य सामग्री जस्तै हाते ट्र्याक्टर, टनेल, बीउ तथा आवश्यक मललगायत सामग्री पाए उत्पादनमा वृद्धि हुने उहाँले बताउनुभयो । मलेसियामा वार्षिक चारदेखि पाँच लाख आम्दानी हुने गरेकामा यहाँ त्योभन्दा बढी हुने उहाँको अपेक्षा छ ।

रेसुङ्गा नगरपालिकाका कृषि शाखाप्रमुख हरिशरण पन्थीले नगरपालिकाभित्रका व्यावसायिक कृषि फार्मलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम बनाएको बताउनुभयो । नगरपालिकाले कृषकलाई तालीम, अनुदान, युवा लक्षित कार्यक्रम, हाते ट्र्याक्टर, स्प्रेयरजस्ता सामग्री प्रदान गरिएको पन्थीले बताउनुभयो । कृषकको उत्पादनलाई बजारको ग्यारेन्टी नगरपालिकाले गरेको र यसबाट धेरै कृषक लाभान्वित भएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले हाटबजार सञ्चालन गरीे तोकेको दरमा जुनसुकै प्रकारका कृषि उपजहरुको बजारको ग्यारेन्टी गरेको पन्थीको भनाइ छ ।



Loading...
loading...

Top