logo
  • Friday, November 22, 2019
  • वि.सं ६ मंसिर २०७६, शुक्रबार

टाँगाको शहर’ नेपालगञ्ज अब एकादेशको कथा मात्रै

वि.सं २० असार २०७६, शुक्रबार १६:११
Blog single photo

टाँगाको शहर’ नेपालगञ्ज अब एकादेशको कथा मात्रै

बाँके, २० असार:  अंग्रेजले भारतमा शासन चलाएको बेला लखनउ विद्रोह दबाउन राणासँग सहयोग मागेका थिए । त्यस क्रममा आफैं लखनउ पुगेका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले त्यहाँजस्तै गञ्ज (शहर) नेपालमा पनि बनाउने सपना देखे । विद्रोह असफल पार्न सहयोग मिलेपछि अंग्रेजले आफूले युद्धमा जितेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता दिए ।

त्यसपछि बाँकेको समथर फाँट छानेर राणा शासकले नेपालगञ्ज बनाउने आदेश दिएका थिए । त्यतिबेला आधुनिक सवारी साधन थिएनन् । राणा र राजपरिवारबीच बग्गी प्रचलनमा रहेको नेपालगञ्जका जानकारहरुको भनाइ छ । दुई पाङ्ग्रा भएको साधनलाई एउटा जनावरले तान्ने गरी बनाइएको स्वरुप नै बग्गी भएको नेपालगञ्जका साहित्यकार समेत रहनुभएका सनत रेग्मी बताउनुहुन्छ ।

उहाँका अनुसार त्यसलाई एक्का भनिन्थ्यो, पछि समय परिर्वतनसँगै त्यसैलाई टाँगा भन्न थालियो । आधुनिक प्रविधि र सवारीसाधन प्रवेश गर्नुपूर्व नेपालगञ्जमा टाँगा नै सर्वसाधारणका लागि अत्यावश्यक सवारीका रुपमा स्थापित भएको थियो । उहाँले भन्नुभयो – “त्यसैले त, नेपालगञ्ज टाँगैटाँगाको शहर भनेर चिनिन थालेको हो ।” उहाँका अनुसार टाँगा चढ्न नेपालगञ्ज आउने पर्यटक धेरै भेटिन्थे ।

करीव २०० वर्ष पुरानो नेपालगञ्ज शहरको मौलिकताका रुपमा रहेको टाँगामा बसेर यात्रा गर्नुको मज्जै बेग्लै हुन्थ्यो । कुनै बेला शहरको मुख्य सवारीसाधन टाँगा थियो । नेपालगञ्जदेखि कोहलपुर–चिसापानीसम्म टाँगा चल्थे । खजुरा बजारमा रहेको विमानस्थल पुग्ने एक मात्र साधन टाँगा थियो । नेपालगञ्ज घुम्न आउने जो कोहीका लागि टाँगाको यात्रा रोमाञ्चक रहन्थ्यो । धेरैले घोडा चढ्ने रहर टाँगा चढेर पूरा गर्थे ।

सुर्खेत रोड हुँदै नेपालगञ्ज–रुपैडिया मार्गमा टाँगा चल्दासम्म व्यवसायीलाई राम्रै आम्दानी हुन्थ्यो । शुरुमा रिक्साले यात्रु खोसे । त्यसपछि मिनी बस र अहिले इलेक्ट्रिक रिक्साले । दुई-चार वटा टाँगा मुश्किलले देख्न पाइन्छ । नेपालगञ्जबाट भारतीय सीमा रुपैडिहासम्म किनमेल, घुमघामलगायत काममा जाँदा पहिलो रोजाइको साधन हुन्थ्यो, टाँगा । नेपालगञ्जको परिचयसँग जोडिएको यो व्यवसाय पछिल्लो समयमा लोप हुने सङ्घारमा पुगेको छ ।

आधुनिक यातायातका साधनको सङ्ख्या बढेसँगै यो व्यवसायमा सङ्कट आएको हो । उतिबेला नेपालगञ्जमै करीव ५०० को हाराहारीमा टाँगा रहेकामा अहिले मुश्किलले दुई-चार वटा मात्रै देखिन्छन् । नेपालगञ्जमा टाँगा देख्नै मुश्किल भइसकेको छ । व्यवसाय सङ्कटमा परेपछि अधिकाँश टाँगा व्यवसायी मजदूरीका भारत जाने गरेका छन् । हाल टाँगा चलाउने पेशा गर्ने धेरैले घोडा बेचिसकेका छन् ।

“राजा, महाराजा र मन्त्रीहरू आउँदा पनि टाँगा चढ्ने गरेको इतिहास छ,” साहित्यकार रेग्मीले स्मरण गर्दै भन्नुभयो – “नेपालगञ्ज आउनु भनेको टाँगा चढ्नु हो भन्ने चलन जस्तै थियो । समयको मागसँगै मानिसमा आएको विलासिताको लहडले नेपालगञ्जमा टाँगा लोप हुँदै गएका छन् । मानिसहरु आजभोलि रिक्सा चढ्छन्, गाडीमा हुइँकिन्छन् ।” यतिबेला नेपालगञ्जमा मुश्किलले पाँच-छ वटा टाँगा मात्र देखिन्छन् ।

अर्का साहित्यकार एवं नेपालगञ्जका पुराना बासिन्दा सच्चिदानन्द चौवेका अनुसार रानीबगियाका चुन्नी साहुका कुनैबेला १२ वटासम्म घोडा थिए । त्यसबेला उनी टाँगा चलाउँथे, अरूलाई पनि भाडामा दिन्थे । टाँगाको स्थान रिक्सा, अटोरिक्सा र विभिन्न मोटरगाडीले लियो । टाँगा व्यवसायीहरु विस्तारै विस्थापित भए । उनीहरुले समयको मागलाई ध्यानमा राख्दै आफ्नो पेशासमेत बदलेका छन् । अहिले घोडाको कामै छैन ।

‘टाँगा चढेर राप्ती नदीको किनारमा घुम्न र नुहाउन गएको विगत र वर्तमानलाई तुलना गर्दै चौवेले भन्नुभयो – “टाँगा विस्थापनसँगै यहाँका धेरै सुमदायको रोजीरोटी खोसिएको छ ।” टाँगाहरुको आधुनिकीकरण हुन नसक्नु र संरक्षणको पहल नहुनु नै टाँगा विस्थापनको कारण भएको उहाँ बताउनुहुन्छ । अहिले धेरै मानिसहरू घोडो तस्वीर खिच्न मात्रै आउने गरेको टाँगा चालकहरू बताउँछन् ।

त्रिचालीस वर्षदेखि नेपालगञ्जमा टाँगा हाँकेर गुजारा गर्दै आउनुभएका मुन्नाको पनि हालत उस्तै छ । घोडालाई खुवाउने घाँसको धुलो, चनाको पीठो र धानको भुस किन्नसमेत पैसा नभएपछि आफूले घोडालाई खुला चौरमा चर्न छोडिदिने गरेको उहाँले बताउनुभयो । “कुनैबेला घोडाका चरन क्षेत्र रहेका स्थान घरहरुले भरिएका छन्,” मुन्नाले भन्नुभयो – “आजभोलि नेपालगञ्जमा टाँगामा चढ्ने मान्छे नै भेटिन्नन्, दिनभरि दौडायो, साँझ घोडालाई खानेकुरा किन्नेसम्म पैसा हुन्न ।”

नेपालगञ्जमा रहेका केही टाँगा व्यवसायीहरुको यही नै हो पीडा । पहिले मुस्लिम समुदायमा धेरैजसोले टाँगा चलाउँथे । टाँगा व्यवसायी मुन्ना भन्नुहुन्छ – “टाँगा हराए, हाम्रो काम पनि सकियो । टाँगा हराएसँगै टाँगावालाको पेशा सङ्कटमा मात्रै परेको छैन यो हराई नै सक्यो । टाँगाको शहर नेपालगञ्ज अब एकादेशको कथाजस्तै भइसक्यो । टाँगाको शहरको पहिचान गुमेको छ । टाँगा चालकको रोजगारी पनि खोसिएको छ ।”

टाँगा हराउँदा टाँगाका लागि घाँस काट्ने घँसियारहरुको समेत पुख्र्यौली पेशासमेत सङ्कटमा परेको छ । टाँगा हराउँदा घँसियारको जीविका मात्र नभई इतिहास पनि सङ्कटमा परेको नेपालगञ्ज महेन्द्रपार्कस्थित घाँस मण्डीका घँसियारहरु बताउँछन् । कुनैबेला नेपालगञ्ज उपमहानगरपालिका सरस्वती उमाविको छेउमा टाँगा स्टेशन थियो । जुन स्थान अझ पनि टाँगा स्टेशनका रुपमा परिचित छ ।

टाँगाका लागि पालिएका घोडालाई धेरै घाँस चाहिन्थ्यो, त्यसैले माग धान्न मुस्किल थियो तर, अहिले घोडा नै नभएपछि उनीहरु पनि बेरोजगार बनेका हुन् । टाँगा चालक तथा टाँगा व्यवसाय गर्दैआएका अधिकाँश हाल ईंटा भट्टामा ईंट्टा, माटो बोक्ने, हार्डवेयर लगायतका सामग्री ढुवानी गर्न सक्रिय छन् । “यहाँ पनि प्रतिष्पर्धा धेरै भएकाले काम पाउनै मुश्किल छ,” नेपालगञ्ज धम्बोझीमा भेटिएका बग्गी चालक जलाल बेहना बताउनुहुन्छ ।

नेपालगञ्जदेखि भारतीय सीमावर्ती बजार रुपैडिहाबाट सामान खरिद गरी ल्याउने र आवातजावत गर्ने मुख्य साधनका रुपमा रहेको थियो टाँगा । कुनैबेला नेपालगञ्जमा टाँगा सञ्चालकहरुको सङ्गठन नै थियो । आधुनिक सवारी साधनले टाँगा विस्थापन गरेपछि टाँगा स्टेशन सम्म भेट्टाउन सकिन्छ, टाँगा भेट्टाउन निकै मुश्किल छ । नेपालगञ्जको यो पहिचानलाई जोगाउन नेपालगञ्ज उपमहानगरपालिकाले चासो नदिएको टाँगा व्यवसायीहरुको गुनासो छ ।

तीन वर्ष अघिसम्म टाँगा व्यवसायी समितिका अध्यक्ष रहेका सहादल अलीेका अनुसार विगतमा रिक्साका कारण समस्यामा परेको व्यवसाय अटोरिक्सा आएपछि टाँगा व्यवसाय अब एकादेशको कथाजस्तै भएको छ,” अलीले भन्नुभयो – “स्थानीय रुटमा शुरुमा रिक्सा र पछि ई–रिक्साको प्रयोग हुन थालेपछि टाँगा विस्थापित भए ।”

विस्थापित नै हुने अवस्थामा पुगेपछि टाँगावालहरू आन्दोलन र विरोधमा पनि उत्रिए तर, उनीहरुको केही लागेन । मुख्य चोक धम्बोझी छेउको बेलासपुरबाट टाँगा स्ट्यान्ड नगर भवन सामुन्ने सारियो । सुर्खेत रोड चार लेनमा विस्तार हुने बेलासम्म स्थानीय प्रशासन र प्रहरीले रुट फेरेर टाँगालाई अस्पताल रोडमा मात्र सीमित गरिदिए । टाँगाबाट जीविका चल्न छाडेपछि केही व्यवसायी भारत छिरेर मजदूरी गरिरहेका छन् ।

केही रैथानेले आफ्ना घोडा र खच्चडलाई ईंटाभट्टामा लगाएका छन् । अहिले स्टेशनमा टाँगा नै देखिँदैनन् । अलीले भन्नुभयो – “पुराना रिक्सा चलाउनेले ऋण लिएर बिजुली रिक्सा किनेका छन् । हामी भएको घोडा कहाँ बेचौँ भन्ने अवस्थामा पुगेका छौँ ।” टाँगा व्यवसाय छाडेर अरु काम गरे पनि घोडा र खच्चड पाल्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

तीन वर्ष अघिसम्म नेपालगञ्जका टाँगा व्यवसायीको दैनिक कमाइ रु दुई हजारदेखि रु तीन हजारसम्म हुने भए पनि अहिले रु दुई-चार सय कमाउनै मुश्किल छ । त्यसकारण उनीहरु यो पेशा छाडिरहेका छन् । “अहिले बजारमा यात्रु पाउन गाह्रो छ,” टाँगा चालक जब्बर अलि भन्नुहुन्छ – “दिनभरको कमाइले साँझ–बिहानको छाक टार्न र घोडाको दानापानीको जोहो गर्न मै सकिन्छ ।”




Top