logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

स्वदेशी कपडा उद्योगलाई विद्युत्मा ५० प्रतिशत छुट

वि.सं १६ जेष्ठ २०७६, बिहीबार ०९:३२
Blog single photo

स्वदेशी कपडा उद्योगलाई विद्युतमा ५० प्रतिशत छुट

काठमाडौं: सरकारले स्वदेशी कपडा उद्योगका उत्पादनलाई प्रोत्साहित गर्न ती उद्योगले प्रयोग गर्ने विद्युत् महसुलमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आव २०७६-०७७ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न मूल्य अभिवृद्धि करमा दर्ता भएका कपडा उद्योगले बैंकबाट लिने कर्जामा पाँच प्रतिशत विन्दुले व्याज अनुदान दिने व्यवस्था मिलाइएको बताउनुभयो ।

कपास, रेशम, उन र वनस्पति रेशाजन्य धागो उत्पादनलाई प्रोत्साहन गरी स्वदेशी कपडा उपभोगलाई प्रोत्साहन गरिने बजेटमा उल्लेख गरिएको छ । बाँस, अल्लो र केरालगायत वनस्पतिजन्य रेशा उत्पादनमा बजेटले जोड दिएको छ ।

आगामी वर्षसम्ममा दुई दर्जन औद्योगिक वस्तुमा आत्मनिर्भर हुने गरी स्वदेशी उद्योगको विकास, विस्तार र आधुनिकीकरणका लागि प्रोत्साहित गरिने नीति लिइएको छ । बन्द र रुग्ण उद्योगलाई सम्भाव्यताका आधारमा सहकारी र निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्ने व्यवस्था मिलाइने बजेटमा उल्लेखमा छ ।

सार्वजनिक सेवामा उपलब्ध भएसम्म स्वदेशी वस्तु तथा सेवा उपयोग गर्नुपर्ने प्रावधानको कडाइका साथ कार्यान्वयन गरिनेछ । अन्तर्राष्ट्रिय सभा–सम्मेलन र वैदेशिक भ्रमणलगायत अवसरमा सरकारी तबरबाट उपहार दिनुपर्दा स्वदेशी उत्पादनबाट दिनुपर्ने व्यवस्थालाई अनिवार्य गरिने बजेटमा व्यवस्था गरिएको छ ।




Top