logo
  • Sunday, February 23, 2020
  • वि.सं ११ फाल्गुन २०७६, आईतवार

सुपादेउराली मन्दिर राजकुमारीको दैवी रूप, जहाँ भाक्कल भुल्दा पहरोमा टाँसियो लाहुरे !

स्टिम न्युज वि.सं १७ बैशाख २०७६, मंगलवार ११:२२
सुपादेउराली मन्दिर राजकुमारीको दैवी रूप, जहाँ भाक्कल भुल्दा पहरोमा टाँसियो लाहुरे !

अर्घाखाँचीमा अवस्थित रहेको सुपादेउराली मन्दिर यसका अनौठा किम्बदन्तीहरूको कारण चर्चित छ । हिन्दुधर्मालम्वीहरूमा यस मन्दिरको ठूलो महिमा छ ।

चारैतर्फबाट अग्लाअग्ला पहाडले घेरिएको हरियालीयुक्त शान्त र चिसो वातावरणमा रहेको सुपादेउराली मन्दिर प्रशिद्द हिन्दु धार्मिक स्थल हो ।

भनिन्छ वि.स. १९१६ मा बाइसे–चौबीसे राज्यअन्तर्गत खाँचीकोटका राजकुमार र बलरामपुरकी राजकुमारी बीच विवाह भयो । विवाह सम्पन्न भएपछि अर्घाखाँची जिल्लाकै सीतापुर मसानदेवी भन्ने ठाउँमा आयोजना भएको विवाह भोजमा दुवै तर्फका मान्छेहरू जुटेका थिए ।

सोहि भोजको क्रममा कुराकानीको प्रसङ्गमा खाँचीकोटका राजाले बलरामपुरकी राजकुमारीलाई झुक्याएर विवाह गरेको; र दुलहीलाई जात नमिलेको भन्ने विवाद उत्पन्न भयो ।

विवादकै बीच दुलहीलाई डोलीमा बोकेर राजकुमारको घरतर्फ लिएर जाने क्रममा यो स्थानमा एक थोपा रगत चुहिएको; र के भयो भनी फर्केर हेर्दा दुलही अर्थात् राजकुमारी मृत अवस्थामा भेटियो ।

त्यसपछि खाँचीकोट राज्यमा रोगव्याधि व्यापक बन्दै गएको; पछी एकजना खनाल थरका बाहुन आई धामीझाँक्री कवल्दा देवीको रूपमा राजकुमारी प्रकट भएको भन्ने किम्बदन्ती छ ।

सुपादेउराली मन्दिर जहाँ बुद्धजयन्तीमा बलिपूजा गर्न कानूनी छुट छ

राजकुमारीको रगतको थोपा चुहिएको स्थानमा देवीको पूजाआजा सम्पन्न गरेपछि सम्पूर्ण रोगव्याध हटेको र त्यस पश्चात् यहाँ ठकुरी, कब्दार अनि खड्काहरूले वैशाख पूर्णिमा; अर्थात् बुद्द पूर्णिमाका दिन कुलपूजा गर्ने प्रचलन शुरू भएको मानिन्छ ।

मुलुकी ऐनअनुसार, वैशाख पूर्णिमा अर्थात् बुद्धजयन्तीका दिन बलिपूजा गर्न नपाइने व्यवस्था छ; र पनि यस दिन ठकुरी, कब्दार र खड्काहरूको कुलपूजा पर्ने भएकाले उनीहरूलाई छुट रहेको छ । यहाँ वैशाख पूर्णिमाका दिन कम्तीमा ४० बोका चढ्छन् ।

शुरुवातका दिनहरूमा वर्षको १ पटक अर्थात् वैशाख पूर्णिमाका दिन मात्रै पूजा गरिने यो स्थानमा २०४० सालमा जिल्लाकै बाबुराम रायमाझीले मन्दिर निर्माण गर्नुभयो; त्यसपछि मन्दिर संरक्षणका लागि समिति बनि दैनिक पूजाआजा हुन थाल्यो ।

श्री नरनारायण बाबा आश्रम सेवा संस्थाको सहयोगमा २०६५ भदौ २३ गते प्राचीन शैलीमा ऐतिहासिक मन्दिर पुनर्निर्माण भए संगै र यस मन्दिरको प्रचार प्रसार हुन थालेपछि; बिस्तारै यहाँ अन्य जिल्लाबाट आउने भक्तजनहरूको संख्या बढ्दो छ ।

दाङ, कपिलवस्तु, प्युठान, बुटवल, पाल्पा साथै देश भरका अन्य जिल्लाहरु बाट पनि तिर्थालुहरू यो मन्दिरमा दर्शन गर्न आउने गर्दछन् । सन्धिखर्क चल्ने सबैजसो सवारीका गाडीहरू यो मन्दिरमा भेटी चढाएपछि मात्र आफ्नो सवारी शुरू गर्दछन् ।

भुल्नु हुँदैन भाक्कल ! सुपादेउराली मन्दिर, जहाँ भाक्कल भुल्दा पहरोमा टाँसियो लाहुरे !!

यो मन्दिरलाई सम्झिएर भाक्कल गरेमा मनोकामना पूरा हुने जनविश्वास रहेको छ; भने सुपादेउराली मन्दिरमा भाक्कल गरिसकेपछि कुनै पनि हालतमा भुल्नु हुँदैन भन्ने ठूलो विश्वास रहेको छ ।

कुनै समय एकजना बाटो हिँड्ने युवकले ‘लाहुरे सेनामा भर्ति हुन पाउँ भनि देवी संग मागेको र सेनामा भर्ती भएमा सुन चढाउने भाक्कल गरेकोमा, पछी उ भर्ति भएर फर्किदा सुन नल्याएपछी उसलाई देवीले पहरामा टाँसिदिएको किम्बदन्ती पाइन्छ ।

लाहुरे टाँसिएको भनिने स्थान अर्थात् पहरामा नियालेर हेर्ने हो भने लाहुरेको नक्सा र उसले बोकेको ब्यागहरूको आकृति देख्न सकिने कारण पनि यो स्थानको महत्व र चर्चा बढ्दै गएको हो ।

सुपादेउराली मन्दिरभित्र नवदुर्गा, महाकाली, महालक्ष्मी, महासरस्वती, शिवजी, गणेश, पाञ्चायन देवता, सिद्ध, झाँक्रीलगायतका थुप्रै मूर्तिहरू छन् ।

बलि पूजा हुने यस मन्दिरमा औंसी, पूर्णिमा, श्राद्ध, श्रावण र माघ महिना, अष्ट तृतीया, जन्माष्टमी, रामनवमी र एकादशीमा भने  बलि पूजा गरिन्न ।

सुपादेउराली मन्दिर र लाहुरे टाँसेको स्थानले लोकप्रिय बनेको यो स्थानभन्दा करिब ४५ मिनेटको यात्रा पछी शिवजीले ३ पानेमा नुहाउने स्थान, बाघको रूप धारण गरी घाम ताप्ने गरेका मूर्तिहरू अनि शिवजीले होमन र यज्ञ गरेका स्थानहरू देख्न सकिने विश्वास छ ।

त्यस्तै सुपादेउराली मन्दिर देखि आधा घन्टा टाढा अर्थात् खाँचीकोट गाविस ९ मा देख्न सकिने खाना पकाउने चुलो, द्वापरयुगमा सीताजीले पारेका तितौरा र खाना पकाउन प्रयोग गरेको चुलो हो भन्ने विश्वास रहीआएको छ ।

शिवजी र सीताले बसोबास गरेका विश्वास रहिआएको यस सुपादेउराली मन्दिर समुचित संरक्षण र प्रचार प्रसार गर्न सके धार्मिक पर्यटनको हिसाबले धेरैनै फाइदा पुग्ने देखिन्छ ।

https://stimnews.com/coconut-in-temple/



Loading...
loading...

Top