हेटौंडाबाट स्मार्ट कार्ड वितरण शुरु, मुख्यमन्त्री पौडेलले गरे शुभारम्भ

स्मार्ट लाइसेन्स सवारी चालक अनुमति पत्र, अनलाइन लाइसेन्स फारम,लाइसेन्स फराम बन्द,लाइसेन्सको ठेक्का,स्मार्ट कार्ड वितरण
Advertisement

हेटौंडाबाट स्मार्ट कार्ड वितरण शुरु, मुख्यमन्त्री पौडेलले गरे शुभारम्भ

हेटौँडा, ८ जेठ: प्रदेश नं ३ को मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकासमन्त्री डोरमणि पौडेलले यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाद्वारा शुरु गरिएको प्रदेश नं ३ को अस्थायी राजधानी हेटौँडामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको स्मार्ट कार्ड वितरण कार्यको आज शुभारम्भ गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले सवारी अनुमतिपत्र स्मार्ट कार्ड प्राप्त गर्नुहुने २६ जना मध्ये नारायणी यातायात सङ्घका पूर्वअध्यक्ष माधव अधिकारी, हेटौँडा उद्योग सङ्घका पूर्वअध्यक्ष ऋषिराम घिमिरे, समाजसेवी सुयस पराजुली, केशवलाल श्रेष्ठ र महिला सेवाग्राही सुरक्षा पौडेललाई स्मार्ट कार्ड वितरण गरे ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले यातायात क्षेत्रमा देखिएको अनियमित कार्य र विसङ्गतिलाई अन्त्य गरी सेवाग्राहीलाई सहज र सुलभ सेवा उपलब्ध गराउन प्रदेश सरकारको उच्च प्राथमिकता रहेको बताए ।

प्रदेश सरकारले अब छ महीनाभित्र प्रदेशको १३ जिल्लामा स्थायी राजधानी तोकिएपछि हेटौँडाबाटै नियमित स्मार्ट कार्ड वितरण गर्ने प्रणाली लागू गर्न गृहकार्यका साथ प्रक्रिया अघि बढाइसकेको उनले स्पष्ट पारे ।

यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख पोषण थापाले स्मार्ट कार्ड वितरण अभियानलाई निरन्तरता दिने र नयाँ सेवाग्राहीका लागि सवारी अनुमतिपत्र दुई महीनाभित्रै वितरण गर्ने कार्यलाई सहज पार्न प्रक्रिया शुरु भइसकेको जानकारी र्दिए।

सेवाग्राहीका तर्फबाट नारायणी यातायात सङ्घका पूर्वअध्यक्ष गोकर्ण पराजुली र माधव अधिकारीले यातायात क्षेत्रबाट सेवाग्राहीलाई दिँदै आएको कर दस्तुरलाई प्रदेश सरकारले पुनः समीक्षा गरी करको दरलाई घटाउन आग्रह गर्दै यातायात कार्यालयले १३ वटै जिल्लाबाट आएका सेवाग्राहीलाई निष्पक्ष एवं पारदर्शी र व्यावहारिक अनुकूलता हेरी स्मार्ट कार्ड र यातायात व्यवसायीलाई सवारीको साधनलाई नवीकरण गर्ने कार्यलाई निरन्तरता दिन सुझाव दिए।

 

रासस

Facebook Comments