logo
  • Friday, April 3, 2020
  • वि.सं २१ चैत्र २०७६, शुक्रबार

मेला हेर्न पुगेका दुईजना किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा चारजना पक्राउ

स्टिम न्युज वि.सं २८ फाल्गुन २०७६, बुधबार १३:२६
मेला हेर्न पुगेका दुईजना किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा चारजना पक्राउ

महोत्ररी: जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई साता पहिले भएको सामूहिक बलात्कार घटनाका आरोपीलाई पक्राउ गरेको छ।

मिथिला माध्यमिकी परिक्रमा जिल्ला सदरमुकाम जलेश्वर पुगेको दिन फागुन १५ गते राति परिक्रमा मेला हेर्न पुगेका दुईजना किशोरीलाई बलात्कार गर्ने सातजना मध्ये चारजनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा जलेश्वर नगरपालिका–६ का २६ वर्षीय खुशनुर अन्सारी, २४ वर्षीय राजु ठाकुर, ३४ वर्षीय सन्तोष ठाकुर र २५ वर्षीय कुमार प्रभातलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको हो।

परिक्रमाको पाँचौँ दिन जलेश्वरमा परिक्रमा मेला हेर्न पुगेका जलेश्वर–६ कै १६ र १७ वर्षीया दुई युवतीलाई समातेर मुख थुन्दै एकान्तस्थलमा पुर्‍याएर सातजनाले सामूहिक बलात्कार गरेका थिए। घटनामा संलग्न तीनजना अझै फरार रहेका र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो।

घटनापछि जलेश्वर अस्पताल पुर्‍याइएका दुवै किशोरी उपचारले सामान्य भएका प्रहरीले जनाएको छ। पक्राउ परेका चारैजनालाई महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धान बढाइएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो।



Loading...
loading...

Top