logo
  • Wednesday, July 8, 2020
  • वि.सं २४ असार २०७७, बुधबार

सरकारले संविधान संशोधन प्रस्ताव आज संसद बैठकमा पेश गर्ने

स्टिम न्युज वि.सं १८ जेष्ठ २०७७, आईतवार ०७:३५
सरकारले संविधान संशोधन प्रस्ताव आज संसद बैठकमा पेश गर्ने

काठमाडौं। सरकारले संविधान संशोधन प्रस्ताव आज संसद बैठकमा पेश गर्ने भएको छ । विहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले बैठकमा जनाएको हो ।

नेपालको नक्शामा उल्लेखित अन्तर्राष्ट्रिय सिमानासँग सम्बन्धित निशाना छाप परिवर्तन गर्न सरकारले संविधान संशोधन गर्न लागेको हो । उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित गराउन सरकारले सबै दलसँग आग्रह गर्दै आएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय समितिबाटै निर्णय गराई संविधान संशोधन विधेयकमा समर्थन गर्ने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय समितिले संशोधनमा समर्थन गर्ने निर्णय गरेको हो । राजपाबाहेक संसदमा रहेका सबै दलले संविधान संशोधनमा समर्थन जनाउने निर्णय गरेका छन् ।

मधेश केन्द्रित दल राजपा र समाजवादी पार्टीले भने संविधान संशोधन गर्न लागेका समयमा आफूहरुले उठाउँदै आएका संशोधनको विषय पनि एकमूष्ठ रुपमा संलग्न गराउन माग गर्दै आएका छन् । सरकारले भने यो नितान्त भूगोलको अन्तर्राष्ट्रिय सिमानासँग जोडिएको विषय भएकाले अरु विषय मिसाउन नसकिने बताएपछि राजपा नेताहरु संविधान संशोधनको अलग्गै प्रस्ताव दर्ता गराउन खोजेका थिए । तर संसद सचिवालयले संविधान संशोधन जस्तो विषय निजी विधेयकका रुपमा प्रस्तावका रुपमा लैजान नमिल्ने भन्दै दर्ता अस्वीकार गरेको थियो ।

जेठ १४ गते नै संसदमा विधेयक प्रस्ताव गर्ने कार्यसूची सार्वजनिक गरेपनि सरकारले पछी कार्यसूचीबाट हटाएको थियो । दलहरुको समर्थन जुटाउनकै लागि प्रधानमन्त्रीले गत मंगलबार सर्वदलीय बैठक बोलाएका थिए ।

लिम्पियाधुरा, कुटी, गुञ्जी, नाबी, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्शा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो । सरकारले संविधान संशोधन विधेयक यही जेठ ९ गते संसद सचिवालयमा दर्ता गराएको थियो ।

त्यसअघि जेठ ५ गते मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्शा पारित गरेपछि दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले उक्त नक्शा सार्वजनिक गरेको थियो ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग आफ्नो भएको दाबी गर्दै भारतले दशकौंदेखि कब्जा गरेको छ भने नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक भारतले उदघाटन गरेपछि यो विषय पछिल्लो पटक विवादका रुपमा सतहमा आएको छ ।

भारतले आफ्नो कब्जामा राखेपनि सुगौली सन्धीलगायतका ऐतिहासिक तथ्य र प्रमाणमा ती भूभाग नेपालकै रहेको पुष्टि हुन्छ ।

२०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान दोस्रो पटक संशोधन गर्न लागिएको हो । यसअघि पहिलो संशोधन, संविधान जारी गरिएको वर्ष असोज १० गते नै गरिएको थियो ।



Loading...
loading...

Top