logo
  • Wednesday, September 30, 2020
  • वि.सं १४ आश्विन २०७७, बुधबार

भोजपुरको साल्पा सिलिचुङ धार्मिक आस्था र पर्यटकीय गन्तब्य

स्टिम न्युज वि.सं १० पुष २०७६, बिहीबार १५:४१
भोजपुरको साल्पा सिलिचुङ धार्मिक आस्था र पर्यटकीय गन्तब्य

भाेजपुरः प्रदेश नम्बर १ पर्यटकीय हिसाबले उच्च सम्भावना भएको क्षेत्र हो । त्यस मध्यको एउटा स्थान भोजपुर जिल्लाको साल्पा सिलिचुङ पनि एक हो। भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभाको संगम स्थलको रुपमा चिनिने समुन्द्र सतहबाट ४,१५५ मिटर मिटर उचाइमा रहेको सिलिचुङ चुचुरो र त्यसिको फेद ३,७५० मिटरमा रहेको साल्पा पोखरी धार्मिका आस्था र पर्यटकीय गन्तब्यको ठुलो सम्भावना बोकेको क्षेत्र हो ।

सिलिचुङ चुचुरो

सिलिचुङ भोजपुरको सबैभन्दा अग्लो चुचुरो हो। धार्मिक तथा प्राकृतिक सौन्दर्यताका दृष्टिले साल्पा सिलिचुङ क्षेत्र आफैमा आकर्षक क्षेत्र हो । सिलिचुङ चुचुरोको विशेषता योभन्दा पनि महत्वपुर्ण छ । यस चुचुरोबाट सोलुखुम्बुमा अवस्थित विभिन्न हिमश्रृङखला अन्तर्गतका सगरमाथा, चोयु, ल्होत्से, न्यूप्से, आमडब्लम पुमोरी, लगायतका दुई दर्जनभन्दा बढी हिमालहरुको अवलोकन गर्न सकिन्छ ।

त्यस्तै कंचनजंगा हिमश्रृङखलामा पर्ने कंचनजंगा हिमाल र यसका आसपासका अन्य हिमालहरु तथा मकालु र यसका आसपासका अन्य हिमालहरु हेर्न सकिन्छ । यहाँबाट धर्मपिक, घ्याङखर्क, मेरा, बुकुर लगायतका दर्जनभन्दा बढी पिकहरुको समेत अवलोकन गर्न सकिन्छ । साथै संखुवासभा र सोलुखुम्बुको सिमाना रहेको केन्पा लगायतका अन्य धार्मिक स्थलहरु, अरुणनदी आसपास विभिन्न बस्तीहरु, तराईका फाँटहरु अवलोकन गर्न यहाँबाट सजिलै पाउन सकिन्छ । त्यति मात्रै नभई यहाँबाट सुर्योदयको समेत मजाले अवलोकन गर्न सकिन्छ । पुर्णिमा समयमा यदि त्यहाँ पुगेमा एकसाथ सुर्योदय र चन्दास्त समेत हेर्न सकिन्छ । यसलाई प्राकृतिक भ्यु–टावर पनि भनिन्छ । यहाँका स्थानीय किराँत समुदायले सिलुछो, शिलिछो, सिलिचुङ आदि नामले यस पिकलाई पुकार्ने गर्ने गरेका छन् ।

भाेजपुरकाे ट्याम्के डाँडा

साल्पा पोखरी

सिलिचुङ बेस क्याम्प अर्थात सिलिचुङ फेदैमा छ “साल्पा पोखरी” । धार्मिक आस्थाका हिसाबले साल्पा पोखरी र सिलिचुङ एक अर्काका परिपुरक हो । साल्पा पोखरी समुन्द्र सतहबाट ३,७५० मिटर उचाइमा पर्छ । पोखरीको मूल र निकास छैन । सबै धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो यो । साल्पा पोखरी हिन्दु, बौद्धमार्गी र किरातीको साझा तिर्थ मानिन्छ ।

साल्पा पोखरीमा बैशाख, भाद्र तथा कार्तिक पुर्णिमाका दिन विशेष मेलाको साथमा आराधना हुने गर्दछ । सोही दिन शिलुछो शिरमा अवस्थित धाममाण् पनि पुजा आराधना गर्ने गर्दछ । यहाँ आराधना गरेमा मनले चिताएको पुग्ने जनबिश्वास छ । यो धार्मिक एकताको केन्द्रको रुपमा पनि परिचीत छ । बिशेषगरी किराँती सभ्यतासंग जोडिएको किँबदन्तीहरु भएपनि यस क्षेत्रमा बौद्ध, हिन्दु धर्मावलम्बीहरुले समेत यस क्षेत्रमा आई पुजा आराधना गर्ने गरेका छन् । पुजा आराधनाका लागि मात्रै बार्षिक ३ हजारभन्दा बढी मान्छेहरु आउने गरेको यस क्षेत्रका बासिन्दाको अनुमान छ ।

प्राकृतिक महत्व

प्राकृतिक रुपमा पनि यो क्षेत्र अत्यन्तै सुन्दर छ । यस क्षेत्रमा दुर्लभ डाँफे, रेड पाण्डा, कस्तुरी मृग, बाघ, भालु, बँदेल लयागतमा जंगली जीवजन्तु पनि प्रशस्त मात्रा पाईन्छ । त्यस्तै डाँफे, मुजुर कालिज लगायत सयौ चराचुरुङगी पनि पाईन्छ । विभिन्न प्रजातिका लालीगुराँस र चिमाल लगायत उच्च पहाडी क्षेत्रमा पाईने धुपी सल्ला, सुनपाती, बुकी लगायत विभिन्न जडिबुटिहरु पनि यहाँ थप आकर्षण हो ।

यस आसपासमा रहेका अत्यन्तै सुगन्धित भैरुङ, सुनपाती लगायतका अन्य सुगन्धित जडिबुटि तथा फुलहरुको सुगन्धले सिलुछोको बसाईलाई थप आनन्ददायक बनाउछ । यति आकर्षक गन्तब्य हुदैहुदै पनि यस क्षेत्रमा पर्यटक आगमन संख्या औलामा गन्न सकिने मात्र छ । यदि यस क्षेत्रलाई पनि पर्यटकका लागि गन्तब्यको रुपमा स्थापित गर्न सकिएको खण्डमा अन्नपुर्ण हिमश्रृङखला अवलोकनका लागि चर्चित पुन हिल, सुर्योदयका लागि चर्चित श्रीअन्तु डाँडा र अन्नपुर्ण रुटमा चर्चित गाउहरुको जस्तै अत्यन्तै जैविक स्वाद एकसाथ एकै स्थानबाट लिन सकिने संभावना छ देखिन्छ ।

साल्पा–सिलिचुङ मकालु वरुण तथा सगरमाथा राष्ट्रिय निकुञ्जको सिमानामा पर्छ । प्रथम सगरमाथा आरोही एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा यही बाटो हुँदै गएकाले तेन्जिङ–हिलारी पदमार्गले चिनिन्छ । सगरमाथा आउने–जाने बाटो पर्ने भएकाले पदमार्गमा रुचि भएका विदेशी पर्यटकहरूको रोजाइमा पर्छ । दैनिक थुप्रै विदेशी पर्यटक आवतजावत गर्छन् । धार्मिक आस्थाले मन अड्याउन मात्र होइन, प्रकृति र संस्कृतिको अनुपम स्वाद चाख्न समेत यो क्षेत्र उपयोगी छ ।



Loading...
loading...

Top