‘सालको पात टपरी हुने’ बोलको गीतले बनायो नयाँ रेकर्ड

0
Advertisement

‘सालको पात टपरी हुने’ बोलको गीतले बनायो नयाँ रेकर्ड

विराटनगर। लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ बोलको म्युजिक भिडियोले युटुबमा नयाँ रेकर्ड बनाएको छ । गत असोजमा युटुब च्यानलबाट सार्वजनिक भएको यो गीतले छोटो समयमै युटुबमा दुई करोड भ्युज बनाउने पहिलो भिडियो बनेको छ ।

दर्शकबीच लोकप्रिय भएर चार महिना नपुग्दै दुई करोड बढी दर्शक पाएको हो । नवराज पन्तको शब्द, वसन्त थापाको सङ्गीत रहेको गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । यिनै चार सर्जक, कलाकार मिलेर विसं २०६८ मा ल्याएको लोकदोहोरी गीत ‘डाँडै फुर्के सल्लो’ पनि त्यसताका निकै चर्चित बनेको थियो ।

‘सालको पातको टपरी हुनी’ छोटो अवधिमा युट्युबमा धेरै हेरिएको लोकदोहोरी गीत हो । युटयुब बाहिर पनि गीतको लोकप्रियता उत्तिकै बढेको छ । रचना, स्वर र सङ्गीत तीनै पक्ष स्रोताले निकै रुचाएका छन् । ‘म्युजिक भिडियो’ ले युट्युबमा दर्शक तानेको छ । सरल शब्द, मौलिक भाखा र सुरिलो स्वर गीतको विशेषता हो ।

‘भिडियो’ मा नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ । निर्देशन शिव विकले गरेका छन् । हाल अमेरिकामा रहनुभएका गीतकार नवराज पन्तका अनुसार मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव गीतको रचना गरेका हुन् ।

सङ्गीतकार थापाले आफू बेलायत भ्रमणमा हुँदा नयाँ गीत मागेपछि पन्तले ‘सालको पातको टपरी’ लेखेका थिए । झ्याउरे लयमा ठेट शब्द र मन छुने स्वरले गीतको लोकप्रियता बढेको हो । अभ्यास डिजिटल म्युजिक प्रालिद्वारा निर्मित गीत ‘वसन्त थापा’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो ।

Facebook Comments