logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

नयाँ सभामुख चयनबारे परामर्श सुरु

पत्रपत्रिका वि.सं १६ आश्विन २०७६, बिहीबार ०८:१४
Blog single photo

काठमाडौँ,। अप्रत्याशित रूपमा कार्यकालको बीचमै सभामुख कृष्णबहादुर महराले राजीनामा दिने परिस्थिति बनेपछि नयाँ सभामुख निर्वाचनको विषयले पनि चर्चा पाएको छ ।

नयाँ सभामुख चयन नियमित वा विशेष अधिवेशनमा गर्ने परामर्श भएको छैन । अधिवेशन र पात्रबारे अनौपचारिक परामर्श भने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चलाएको छ ।

सभामुखबाट महराले दिनुभएको राजीनामा भने बुधबार सनाखत गरी रिक्तताको सूचना टाँस भएको छ । सङ्घीय संसद् सचिवालयमै कार्यरत एक महिलाले जबर्जस्ती करणीको अभियोग लगाएपछि महराले सभामुखबाट राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा लगत्तै आरोपित भनिएकी महिलाले आफ्नो आरोप खण्डन पनि गर्नुभएको थियो ।

संवैधानिक व्यवस्था अनुसार, सभामुख वा उपसभामुख फरक राजनीतिक दलको हुनुपर्छ । सभामुख वा उपसभामुखमध्ये एक फरक लिङ्गको हुनुपर्ने पनि संवैधानिक व्यवस्था नै छ । अहिले उपसभामुख तत्कालीन एमालेबाट निर्वाचित हुनुभएकी डा. शिवमाया तुम्बाहाङ्फे हुनुहुन्छ । यसअघि सभामुखमा माओवादी केन्द्रबाट महरा उम्मेदवार बन्नुभएको थियो । दुई दल एकीकृत भएपछि विपक्षी दलले पुनः निर्वाचनको माग गरे पनि सशक्त कार्यसूची भने बनाउन सकेको थिएन ।

अबको समीकरण अनुसार उपसभामुखमा तुम्बाहाङ्फेलेलाई निरन्तरता दिएमा सभामुख नेकपाले पाउने छैन । अन्य दललाई सभामुख दिन नेकपाले नचाहेमा उपसभामुखको राजीनामा अनिवार्य छ ।

तर, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने पात्र र सभामुख चयनको मितिबारे औपचारिक रूपमा कुनै पनि छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले भर्खर मात्रै अप्रत्याशित घटना फेस गरेका छौँ । अब सभामुख चयनको प्रक्रिया दलीय सहमतिमा नै अघि बढ्छ । व्यक्तिबारे हामीले कुनै छलफल गरेका छैनौँ । सम्भवतः अब अर्को अधिवेशनमा नै चयन प्रक्रिया अगाडि बढ्छ ।’’ याे खबर गाेरखापत्रमा छ ।




Top