निर्यण गर्दै उल्टाउदै सरकार, असार १ गतेबाट काठमाडौंमा रात्रिबस चलाउने निर्णय फिर्ता

निर्यण
Advertisement

निर्यण गर्दै उल्टाउदै सरकार, असार १ गतेबाट काठमाडौंमा रात्रिबस चलाउने निर्णय फिर्ता

काठमाडौं- आगामी असार १ गते बाट काठमाडौंमा रात्रीबस चलाउने निर्णयबाट सरकार पछि हटेको छ ।

यातायात व्यवस्था विभागले एकाएक रात्रीकालिन बससेवा सञ्चालनमा ल्याउने आफ्नै निर्णय स्थगित गरेको छ ।

यसअघि विभागले रात्रीकालिन बससेवा सञ्चालनका लागि भाडादर तोक्नुका साथै रुट समेत किटान गरिसकेको थियो ।

बिहीबार साँझ विज्ञप्ति जारी गर्दै विभागले रात्रीकालिन बससेवा सञ्चालन गर्ने निर्णय तत्कालका लागि फिर्ता लिएको जानकारी गराएको छ ।

विभागले विभिन्न १२ वटा कम्पनीलाई विभिन्न १८ रुटमा रात्रीबस चलाउन अनुमति दिइसकेको थियो ।

बिहीबार नै रात्रीबसको न्युनतम भाडा २५ रुपैयाँ तोकेर सूचना समेत निकालेको थियो ।

तर साँझ विभागले भाडावृद्धि सहित रात्रीबसको भाडा तोकेको निर्णय पनि स्थगन गरेको छ ।

काठमाडौंमा अधिकांश रुटमा रातको ८ बजेपछि गाडी पाइदैन यसले सर्वसाधारणहरूलाई असुविधा हुँदै आएको छ ।

यस्तो अवस्थामा ट्याक्सीमात्रै विकल्प बन्ने गरेकाले व्यवसायीहरु साबिकको भन्दा बढी भाडा लिएर राति १२ बजेसम्म गाडी चलाउन सहमत भएका थिए ।

यसअघि पनि रात्रीबस सेवा सञ्चालन गरिएको थियो तर प्रभावकारी रूपमा अगाडि बढ्न नसकेपछि बन्द भएको थियो ।

तत्कालीन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा २०६९ को भदौमा रात्रीकालीन बस सेवा प्रारम्भ भएको भएपनि त्यो लामोसमय टिक्न सकेन ।

सरकारले गाडी भाडा बढाउने र रात्रीबस चलाउने निर्णयसंगै काठमाडौंमा विहानदेखि बेलुकासम्म ठूला तथा साना मालबाहक सवारीको प्रवेश तथा सञ्चालनमा रोक लगाउने निर्णय पनि फिर्ता लिएको छ ।

व्यवसायीहरुले यो निर्णयका कारण व्यापार, उद्योग र कलकारखाना चलाउन नसकिने अवस्था आउने भन्दै विरोध गरेका थिए ।

यातायात व्यवस्था विभागले बिहीबार सााझ एक विज्ञप्ति निकालेर बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडसहित विभिन्न नाकाबाट मालवाहक सवारी ल्याउन नपाउने गरी घोषित नियम तत्काल लागू नगर्ने गरी स्थगित गरेको छ ।

Facebook Comments