रानीमहल बचाउन आग्रह

रानीमहल
Advertisement

रानीमहल बचाउन आग्रह

रामपुर, १९ जेठ:पवित्रा घिमिरे ‘प्रेमको प्रतीक’ रानीमहलको संरक्षणमा सबैलाई ध्यान यहाँ उद्योगी व्यवसायीले आग्रह गरेका छन् । पाल्पा उद्योग वाणिज्य सङ्घ र रामपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीको बृहत् छलफलले ताजमहलजस्तै रानीमहललाई पनि विश्वमा नै चिनाउनुपर्ने पाल्पा उद्योग वाणिज्य सङ्घ, वाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो ।

दैनिक हजारौंँ पर्यटक आउने स्थानमा राम्रो बास, खानेपानी तथा खाजाको समेत प्रबन्ध गर्नुपर्ने तथा प्रवेश र अवलोकनका लागि शुल्क लिने समेत व्यवस्था गर्न सके यहाँ आउने पर्यटकको सङ्ख्यामा समेत वृद्धि गर्न सकिने उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालको भनाइ छ । रानीमहल क्षेत्रको विकास गर्न सके लुम्बिनी आएका पर्यटकलाई यहाँसम्म ल्याउनुपर्ने उद्योगी व्यवसायीको धारणा छ ।

पर्यटक पाल्पा भित्र्याउन समेत उद्योग वाणिज्य सङ्घको महत्वपूर्ण भूमिका रहने भएकाले रानीमहलको महत्वलाई बढाउन र यसको संरक्षणमा पहल गर्न ध्यान दिनुपर्ने सङ्घका पूर्वजिल्ला अध्यक्ष मधुदयाल सैँजुले बताउनुभयो । उहाँले भन्नुभयो, “यति ठूलो ऐतिहासिक महत्व बोकेको स्थलमा पुग्ने बाटोसमेत राम्रो छैन, पानी परेका बेला त्यहाँ पुग्नै सकिँदैन । सबैभन्दा पहिलो काम मोटरबाटो मर्मत हुनुपर्छ ।”

कालीगण्डकी किनारमा रहेको ‘नेपालको ताजमहल’ तत्कालीन बडाहाकिम खड्गशम्शेरले आफ्नी रानी(पत्नी) तेजकुमारीको सम्झनामा विसं १९५४ मा निर्माण गरेका थिए । धीरशम्शेरका १७ भाइ छोरामध्येका एक भाइ वीरशम्शेर प्रधानमन्त्री भएका समयमा उनका भाइ खड्गशमशेरलाई रुपन्देही, कपिलवस्तु, वाग्लुङ, पर्वतलगायत क्षेत्रको जिम्मेवारीका साथ पाल्पा गौँडामा पश्चिम कमाण्डिङ जनरल बनाइएको थियो ।

तेजकुमारीको निधनमा दुखित खड्गशम्शेरले उनको स्मृतिमा भारतको आग्रामा रहेको ताजमहल जस्तै बगैंँचासहितको महल निर्माण गर्ने अन्तिम वचन दिएका थिए । भारतका इञ्जिनीयर झिकाएर पाँच वर्ष लगाई महल निर्माण १९५४ मा पूरा गरिएको बताइएको छ । पाल्पा सदरमुकाम तानसेनदेखि १३ किलोमिटर उत्तर काली नदी किनारमा २४ कोठा भएको महलमा दुई पोखरी, मन्दिर, बगैँचा, पाटी, घोडा तबेला तथा भक्तिनीहरु बस्ने स्थानसमेत देख्न सकिन्छ ।

खड्गशम्शेर पाल्पाबाट पलायन भएपछि महलको संरक्षणको अभावमा त्यहाँका थुपैै्र बहुमूल्य सामान सड्ने, हराउने, बिग्रने, चोरी भएपछि महल भग्नावशेषजस्तै भएका बेला केही मर्मतसम्भार भए पनि यसको संरक्षण र विकासको पहल भएको देखिँदैन ।

पुरातत्व विभागले २०६५ सालमा दरबारका मुख्य भागको मर्मत गरे पनि निरन्तर संरक्षणको अभावले पुरानै अवस्थामा पुग्न थालेको छ । विसं २०६७ मा पर्यटन कार्यालय भैरहवाको आर्थिक सहयोगमा दरवारको माथिल्लो भाग पुर्ण रुपमा मर्मत गरि रेखदेखको काम भएको थियो ।

विसं २०६८ मा तत्कालीन जिल्ला विकास समिति, भूसंरक्षण कार्यालयलगायत निकाय र सर्वसाधारणको सहयोगमा महलको अगाडिपट्टि तटबन्ध र बगैचा निर्माण गरिएको थियो । पटक पटक गोरखदल गणका नेपाली सेनाले पटक पटक सरसफाइका काम गर्दै आएका छ । संस्कृति मन्त्रालय, पुरातत्व विभागले २०७५ साल साउन १० गते तानसेन नगरपालिकालाई महल हस्तान्तरण गरेको थियो ।

रानीमहल क्षेत्रमा काली नदी उत्तरतर्फ बगेको हुनाले(उत्तरवाहिनी भएकाले) त्यस स्थानमा स्नान गरे वा पानी छोए मात्रै पनि पवित्र होइन्छ भन्ने धार्मिक विश्वास छ । रानीमहल क्षेत्रमा दैनिक तीन हजार देखि १० हजारसम्म स्वदेशी र विदेशी पर्यटक आउने गरेको रानीमहल संरक्षण समितिले जनाएको छ ।

महलको संरक्षणका निम्ति जिल्ला समन्वय समितिको कार्यालय, पर्यटन कार्यालय भैरहवा, जिल्ला भूसंरक्षण कार्यालय गोरखदल गण नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, रानीमहल संरक्षण समिति, समाजसेवा असल शासन क्लब सटुका, बढीचौर स्याङ्जा, कालीगण्डकी गाउँपालिका स्याङ्जा, बगनासकाली गाउँपालिका पाल्पा तथा तानसेन नगरपालिका सक्रिय छन् ।

 

रासस

Facebook Comments