logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

पुर्वसभासद कार्की जेल चलान

स्टिम न्युज वि.सं १९ भाद्र २०७६, बिहीबार १४:४५
Blog single photo

काठमाडाैं: अदालतले घुसकाण्डमा दोषी ठहरिएको पूर्वसभासद् डोलबहादुर (डिवी) कार्की जेल चलान भएका छन् । घुस काण्डमा सर्बोच्चको फैसला पछी फरार रहेको कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज बिहान पक्राउ गरेको थियो ।

विसं २०६७ भदौ १४ गते राजकुमार राईलाई नेपाल प्रहरीको प्रहरी निरीक्षकको नोकरी लगाइदिने बहानामा रकम लिइ स्वामी ब्रम्हानन्द उदासीनले रु दुई लाख पाँच हजार र कार्कीले रु एक लाख लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

स्याङ्जा घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्दै आएका कार्कीलाई सर्वोच्च अदालतको गत असार १७ गतेको फैसलाले रु एक लाख जरिवाना र छ महीना कैद हुने फैसला सुनाएको थियो ।

विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत चार/चार महीना कैद र बिगोबमोजिम रु एक/एक लाख जरिवाना हुने फैसला सुनाएको थियो ।

कार्की तत्कालीन संविधानसभा तथा व्यवस्थापिका–संसद्को सभासद् भएकाले उक्त ऐनको दफा २४ बमोजिम थप दुई महीना कैद सजायसमेत थप गरी छ महीना कैद र एक लाख जरिवाना हुने ठहर गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो ।

प्रहारी ले कार्कीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो । अदालतको आदेशले कार्कीलाई आजै जेल चलान गरिएको ब्युरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो । उनलाई कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।




Top