दैलेख र पाल्पामा पेट्रोलिमय पदार्थको उत्खनन हुँदै

0
पेट्रोलिमय पदार्थको
Advertisement

दैलेख र पाल्पामा पेट्रोलिमय पदार्थको उत्खनन हुँदै

काठमाडौँ, ८ असार:सरकारले दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्न लागेको छ ।

उक्त क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ उत्खननका लागि चिनियाँ प्राविधिकसमेत आइसकेका छन् ।

पहिलो चरणमा चिनियाँ प्राविधिकले प्राविधिक तयारी गर्ने छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले एक साताभित्रै पेट्रोलिमय पदार्थको उत्खननका लागि प्रक्रिया शुरु हुने जानकारी दिनुभयो ।

नेपाल र चीन सरकारबीच भएको सहमतिका आधारमा चिनियाँ प्राविधिक यहाँ आएका छन् ।

विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले देशभित्रै पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु हुन लागेको जानकारी दिनुभयो ।

यस्तै सरकारले नवलपरासीको धौवादीमा रहेको फलामखानीको उत्खननको प्रक्रियासमेत अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।

उहाँले उपलब्ध साधनस्रोतको उपयोग गरी बजार अनुगमन गरिएको, गुणस्तरीय वस्तु उपभोक्तालाई उपलब्ध गराउन निरन्तर अनुगमन जारी रहेको बताउनुभयो ।

गत जेठ मसान्तसम्म एक हजार ५४५ वटा फर्मको अनुगमन गरिएको उल्लेख गर्दै मन्त्री यादवले १४५ फर्मलाई जरिवाना गरिएको जानकारी दिनुभयो ।

उहाँले एक फर्मको अनुमतिपत्र खारेज गरिएको र छ वटा फर्मलाई कारवाहीका लागि सम्बन्धित निकायलाई पठाइएको र तीन वटालाई मुद्दा चलाइएको उल्लेख गर्नुभयो ।

यस्तै गुणस्तर तथा नापतौल विभागबाट १४५ वटा गुणस्तर चिह्न प्राप्त गरेका फर्म र अन्य १६९ फर्मको अनुमगन गरिएको छ ।

अनुगमनका क्रममा कूल ११ प्रकारका सामग्रीको बिक्री रोक्का गरिएको र १३ वटाको गुणस्तर चिह्न स्थगन गरिएको मन्त्री यादवले बताउनुभयो ।

यस्तै उपभोक्ता ठगी गर्ने २१ वटा पेट्रोलपम्पलाई कारवाही गरिएको मन्त्री यादवको भनाइ छ ।

निजी क्षेत्रलाई पनि पेट्रोलियम पदार्थको आयात र बिक्रीका लागि सरकारले सहजीकरण गर्न लागेको र अध्ययन समिति गठन गरिएको जानकारी दिँदै मन्त्री यादवले थप पेट्रोलपम्प खोल्नका लागि सूचना आह्वान गरिएको र यही असार १३ गतेसम्म आवेदनको समयावधि रहेको बताउनुभयो ।

उद्योग मन्त्रालय अर्थ मन्त्रालयको महाशाखा हुनै सक्दैन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्थ मन्त्रालयको महाशाखा जस्तो भयो भन्ने सन्दर्भमा मन्त्री यादवले व्यवहारतः त्यस्तो नभएको प्रष्टीकरण दिनुभयो । उ

हाँले भन्नुभयो, “उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्थ मन्त्रालयको महाशाखा हुनै सक्दैन । विगतमा भोगेका साथीहरुलाई त्यस्तो लागेको होला ।

तर अहिले एकअर्काे मन्त्रालयसँग तालमेल गरेर एकताबद्ध भई काम गरिरहेका छौँ ।”

नेपालमा लगानीको वातावरण बनेको छ

मन्त्री यादवले नेपालमा लगानीको वातावरण बनेको स्पष्ट पार्नुभयो ।

वैदेशिक तथा आन्तरिक लगानीको प्रवद्र्धनका लागि सरकारले आवश्यक ऐन, नियम तथा कानूनको प्रबन्ध गरेको र सोहीअनुसारको वातावरण बनाएको बताउनुभयो ।

वर्तमान सरकारले लगानी विस्तारका लागि हदैसम्मको प्रयास गरेको र त्यसको प्रतिफल केही समयपछि स्पष्टरूपमा देखिने उहाँको कथन थियो ।

निर्यातमूलक उद्योगको प्रवद्र्धन गर्न सरकार लागिपरेको जानकारी दिँदै उहाँले औद्योगिक क्रान्तिका लागि सबैको साथ र सहयोगसमेत जरुरी रहेको बताउनुभयो ।

“आर्थिक समृद्धि सरकारका लागि मात्रै हुँदैन, सबै नेपालीका लागि हुन्छ, सबै राजनीतिक दलका लागि हुन्छ”, मन्त्री यादवले भन्नुभयो ।

राष्ट्रिय पूँजी प्रवद्र्धन गरी साना तथा घरेलु उद्योगलाई समेत थप प्रवद्र्धन गर्न सरकारले योजनाबद्ध प्रयास थालेको उहाँको कथन छ ।

Facebook Comments

Advertisement