कल्याणी खड्का नेतृत्वको संसदीय समितिले भन्यो, पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर

पप्पु कन्स्ट्रक्सनलाई कारबाही
Advertisement

कल्याणी खड्का नेतृत्वको संसदीय समितिले भन्यो, पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर

काठमाडौं- काठमाडौंको तिनकुने र बानेश्वर जोड्ने वाग्मती नदिमाथि निर्माण भइरहेको पुल गुणस्तरहीन भएको पाइएको छ ।

निर्माण भइरहेको पुल गुणस्तरहीन भएको भन्दै संघीय संसदको विकास तथा प्रविधि समितिले पप्पु कन्स्ट्रक्सनलाई कारबाहीको लागि सिफारिस गरेको छ ।

संघीय संसदको विकास तथा प्रविधि समितिले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदन सार्वजनिक गर्दै, दिएको निर्देशन पालना नगर्ने ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न समितिले सिफारिस गरेको छ ।

‘काम अघि नबढाउन निर्देशन दिँदादिदै पनि अटेर गरी निर्माण अघि बढाउने निर्माण व्यवसायीलाई कारवाही गर्नुपर्ने’ प्रतिवेदनमा भनिएको छ ।

यतिखेरसम्म निर्माण भएर संचालनमा आइसक्नुपर्ने पुलको निर्माण कार्य रोकिएको छ ।

निर्माणाधीन उक्त पुल डिजाईन एण्ड विल्ड प्रक्रियाबाट २०७१ पुस ४ गते ठेक्का सक्झौता गरिएको थियो ।

सम्झौता अनुसार २०७५ असार ५ गतेसम्ममा निर्माण पुरा गरेर हस्तान्तरण गर्नुपर्ने  थियो।

समितिको सभापति कल्याणी खड्काले तत्कालै समस्या समाधान गरी निर्माण सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण समेत गराएकी छन् ।

समितिले आफ्नो प्रतिवेदनमार्फत पुल निर्माणमा गुणस्तर हुनुपर्ने, सम्झौताका शर्तहरु दुवै पक्षले पालना गर्नुपर्ने निर्देशन दिएको छ ।

त्यस्तै सुस्त अवस्थामा रहेको कामलाई तीव्रता दिनुपर्ने, अनुगमन कार्यलाई निरन्तरता दिने, र सार्वजनिक खरिद ऐन नियमावलीको प्रावधान प्रतिकूल नहुनेगरी, निर्माण कार्यलाई छिटो सम्पन्न गर्न सम्बन्धित निकायका पदाधिकारीहरु एवं निर्माण व्यवसायीहरुलाई समितिले निर्देशन दिएको छ।

यस अघि २०७६ बैशाख १९ गते सभापति कल्याणीकुमारी खड्काको नेतृत्वमा समितिमा रहेका सदस्यहरुले पुलको स्थलगत अवलोकन गरेका थिए ।

त्यस्तै विज्ञ सचिवालयका कर्मचारीले जेष्ठ २ गते पुलको स्थलगत अवलोकन गरेका थिए ।

स्थलगत अवलोकनका क्रममा राष्ट्रिय सतर्कता केन्द्रका प्राविधिक समेत सहभागी थिए ।

समितिले प्रतिवेदन तयार पार्नुअघि आयोजना प्रमुख, ठेकेदार कम्पनी, सरोकारका पक्षहरू तथा स्थानीयसंग अन्तर्क्रिया गरेको थियो ।

निर्माण व्यवासायीले भने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले समयमै आवश्यक निर्णय नगर्दा समस्या सिर्जना भएको बताएको छ ।

आयोजनाले भने निर्माणाधीन उक्त आर्क ब्रिजमा प्राविधिक त्रुटी भेटिएको भन्दै निर्माण कार्य रोक्न निर्देशन दिएको थियो ।

पुलको जग आवश्यक गहिराईसम्म नपुर्याइ स्ट्रक्चर उठाएको पाइएपछि निर्माण रोक्न निर्देशन दिएको हो ।

यो पुलमा पुल्चोक इन्जिनियरिङ कलेजमार्फत गुणस्तर र प्राविधिक अध्ययन भइरहेको छ ।

Facebook Comments