logo
  • Wednesday, September 30, 2020
  • वि.सं १४ आश्विन २०७७, बुधबार

प्रणय दिवस बिशेष: नेपालको ताजमहल अर्थात पाल्पाको रानीमहल

स्टिम न्युज वि.सं २ फाल्गुन २०७६, शुक्रबार १२:३२
प्रणय दिवस बिशेष: नेपालको ताजमहल अर्थात पाल्पाको रानीमहल

नेपालको ‘ताजमहल’ भनेर चिनिने रानीमहल दरबारलाई प्रेमको प्रतीकका रुपमा लिइन्छ । यसलाई भारतको ताजमहलसँग तुलना गरिन्छ ।  पाल्पा जिल्लाको रानी घाटमा अवस्थित रानी महल प्रेमको प्रतीकको एक सुन्दर वास्तुकला हो । रानी महलको निर्माण जनरल खड्ग शमशेरले वि.सं. १९५४ मा आफ्नी रानी तेजकुमारीको सम्झनामा गरेका थिए ।

पाल्पा र स्याङ्जा जिल्लाको सीमामा रहेको कालीगण्डकी किनारको रानी महल अहिले पाल्पा जिल्लाको लागि पर्यटनको गन्तब्य बनेको छ । तानसेनबाट भुसलडाँडा, बराङ्दी हुँदै पैदल तीन घण्टा र मोटरबाट एक घण्टामा पुग्न सकिने रानी दरबार प्रेम दिवसको अवसरमा नेपालका धेरै जिल्लाका युवायुवतीहरु आफ्नो प्रेमलाई थप सफलताको शिखरमा पु¥याउन सकियोस् भन्ने उद्देश्यले रानी महललाई साक्षी राख्न पुग्ने गर्दछन् ।

पाल्पा गौंडाका तैनाथवाला जनरल खड्गशमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा विसं १९४९ मा शुरु गरी १९५४ सालमा रानीमहल निर्माण गरी सकेका थिए । रानी महल खड्ग शमशेर र रानी तेजकुमारीको प्रेमको प्रतीक हो । रानीको मायामा भावविह्वल भएर निर्माण गरिएको रानीमहललाई खड्ग शमशेर र रानी तेजकुमारीको मायाको प्रतीकका रुपमा हेर्ने गरिन्छ ।

कालीगण्डकी नदीको विशाल चट्टानमा पश्चिमी युयानी शैलीमा निर्मित यस महललाई बेलायती इन्जिनियरले डिजाइन गरेका थिए । एक शताब्दी अगाडि नै नेपालमा पश्चिमा शैलीको वास्तुकला भित्रिएको प्रमाण रानी महल हो ।महलको उचाइ ११२ फिट तथा चौडाइ ५६ फिट रहेको छ । छेउमै विशाल नदी भएर पनि नदीको बाढीले यतिका वर्षसम्म महललाई कुनै क्षति गरेको छैन ।

महलको निर्माण गर्न सेना तथा जनताले तत्कालिन समयमा श्रमदान गरेका थिए । रानी महलमा प्रयोग गरिएको इँटामा ‘खड्ग शमशेर’ शब्दहरु कँुदिएको छ । महलको उत्तर भएर नदी बग्ने भएकोले धार्मिक रुपमा पनि यस क्षेत्रलाई पवित्र मानिन्छ । महलको ठिक पारी कालीगण्डकी माथि झलुंगे पुल रहेको छ ।

बि.सं. २००७ सालमा राणा शासनको पतनपछि भने रानी महलको संरक्षण नगरिँदा यो जीर्ण भएको थियो । २०५४ सालमा जिर्णोद्वार सुरु गरि यही वर्ष पुनः निर्माण सम्पन्न भएको हो । पुरातत्व विभागले २० वर्ष लगाएर पुनःनिर्माण सम्पन्न गरेपछि आन्तरिक पर्यटकको भिड बढ्न थालेको छ । यस महल सदरमुकाम तानसेनबाट १६ किमी दूरीमा अवस्थित छ ।

रङ्गरोगन र मर्मत सम्भारपछि अहिले रानी महल निकै सुन्दर देखिएको छ । महलमा उज्यालो निलो र सेतो रङ पोतिएको छ भने छानो रातो रङको छ । प्रेमको प्रतीक मानिएको रानी महल हेर्न बढी मात्रामा आन्तरिक पर्यटक र केही विदेशी जाने गर्छन् ।

खड्ग शमशेरले आफ्नी रानीको सम्झनामा बनाएको हुँदा विशेष गरि यहाँ युवायुवतीको भिड लाग्ने गर्छ । शनिबार तथा अन्य सार्वजनिक बिदाको दिन र भ्यालेन्टाइन दिवसको बेला यहाँ अनगिन्ती प्रेमिल जोडी आउँने गर्छन् ।

प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ (१४ फ्रेब्रुअरी) का दिन रानीमहलमा युगल जोडीको भीड लाग्ने गर्छ । रानी दरबार प्रेम दिवसको अवसरमा नेपालका धेरै जिल्लाका युवायुवतीहरु आफ्नो प्रेमलाई थप सफलताको शिखरमा पुर्याउन सकियोस् भन्ने उद्देश्यले रानी महललाई साक्षी राख्न पुग्ने गर्दछन् । रानी दरबारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अमर रहन्छ भन्ने विश्वास गर्दछन ।

पुलबाट रानी महल हेर्दा नदी माथि नै महल टक्क अडेको जस्तो देखिन्छ । नदीको डिलबाट नै जग उठाएर महल बनाइएको हुँदा यस्तो कलात्मक दृश्य पुलबाट देख्न सम्भव भएको हो ।

महलको देब्रे भागमा फूलबारी रहेको छ भने दाहिने भागमा नदी हेर्नको लागि बनाइएको एकतले टावर छ । महलको अगाडि भने सुरक्षा गार्ड बस्ने ठाउँ रहेको छ । पानी पोखरी तथा मन्दिर पनि रानी महलको अर्को आकर्षक केन्द्र हो ।



Loading...
loading...

Top