अप्टिकल फाइबर बिछ्याउने जिम्मेवारी टेलिकमललाइ,प्रमबाट नेटवर्कको शिलान्यास

Advertisement

अप्टिकल फाइबर बिछ्याउने जिम्मेवारी टेलिकमललाइ,प्रमबाट नेटवर्कको शिलान्यास

काठमाडौं : मध्य पहाडी लोकमार्ग अन्तर्गत धादिङको गल्छीमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गरिएको छ ।  नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमद्वारा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेटवर्कको शिलान्यास गरेका हुन् ।

मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेट लगायतका अत्याधुनिक सञ्चार सेवालाई उच्च क्षमता र गुणस्तरयुक्त बनाउन र मुलुकभर भरपर्दो र दीगो सञ्चार सेवा उपलब्ध गराउन थालिएको अभियानको प्रधानमन्त्रीले साबेलले खनेर औपचारिक शुभारम्भ गरेका हुन् । मध्य पहाडी लोकमार्ग अन्तर्गत प्रदेश नम्बर २ र ३ मा पर्ने विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिएको छ । यसका लागि टेलिकमले ५ वटा कम्पनीसँग निर्माण सम्झौता गरिसकेको छ ।

गत मार्च १२ देखि २२ सम्म विभिन्न चरणमा सम्पन्न सम्झौता अनुसार प्रदेश १ को ५ सय ९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्स, प्रदेश २ को १ हजार २८ किलोमिटरको लागि आरोग्य कन्स्ट्रक्सन नेपाल र चाइना रेलवेको ज्वाइन्ट भेन्चर तथा प्रदेश ३ को ५ सय ५५ किलोमिटरको लागि फाइबर बिछ्याउने काम हङकङको सीसीएसआई (चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल)सँग सम्झौता भएको छ ।

त्यस्तैगरी डिडब्लु डिएम इक्विपमेन्टका लागि हङकङको सीसीएसआईसँग सम्झौता भएको छ भने राउटर इक्विपमेन्टका लागि सिंगापुरको सिटियस कम्युनिकेसन्ससँग सम्झौता गरिएको छ । यसको निर्माण सम्पन्न गर्ने अवधि भने  दुई वर्षको रहेको छ  । मध्य पहाडी लोकमार्ग अन्तर्गत चिवाभञ्ज्याङदेखि आरुघाटसम्म कुल २ हजार १ सय ७० किलोमिटर अप्टिकल नेटवर्क जोड्ने योजना रहेको टेलिकमले बताएको छ । लोकमार्गमा ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याइने छ । त्यसैगरी लोकमार्गबाट जिल्ला सदरमुकाम जोड्ने अप्टिकल फाइबर ४८ कोर र विभिन्न नगरपालिका जोड्ने अप्टिकल फाइबर २४ कोरको हुने बताइएको छ ।

उक्त सडक खण्डको उत्तर–दक्षिण क्षेत्रमा पर्ने प्रदेश नम्बर १, २ र ३ अन्तर्गतका ३५ जिल्लाका सदरमुकाम तथा नगर र गाउँपालिकामा अप्टिकल नेटवर्क विस्तार गरिनेछ । मुलुकभरका जिल्ला सदरमुकाम र यसमार्फत सम्पूर्ण गाउँपालिका, विद्यालय र स्वास्थ्य चौकी आदिमा ब्रोडब्यान्ड नेटवर्क पुर्याउने सरकारी नीति अनुरुप अप्टिकल फाइबर बिछ्याउने कार्यलाई तिव्र रुपमा अगाडि बढाइएको छ । यसैबीच एक नम्बर प्रदेश अन्तर्गत धनकुटाको हिले र प्रदेश ३ अन्तर्गत सिन्धुलीको खुर्कोटमा पनि अप्टिकल फाइबर निर्माणको शुभारम्भ गरिएको छ ।

Facebook Comments