logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

‘सरकार निजी अस्पतालसँग सहकार्य गरेर अगाडि बढ्छ’

वि.सं १५ जेष्ठ २०७६, बुधबार १९:३०
Blog single photo

‘सरकार निजी अस्पतालसँग सहकार्य गरेर अगाडि बढ्छ’

काठमाडौँ, १५ जेठ:स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले निजी अस्पतालसँग सरकार सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ ।

कलङ्कीमा सञ्चालित नेपाल नेशनल अस्पतालको ‘दोस्रो वार्षिकोत्सव समारोह’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले निजी अस्पताललाई नाफामुखीभन्दा सेवामुखी बनाउनुपर्ने बताउनुभयो । “मापदण्डअनुसार अस्पताल सञ्चालन गर्नुहोस्, सरकार तपाईंहरुलाई सहयोग गर्न तयार छ”, उहाँले भन्नुभयो ।

राज्यमन्त्री डा यादवले जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । देशभर २५ हजार बिरामीको श्यया क्षमता भए पनि निजी क्षेत्रको मात्र १७ हजार रहेको भन्दै जनतालाई राम्रो सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

प्रतिनिधिसभाका सांसद रवीन कोइरालाले संविधानले नै नागरिकको स्वास्थ्य पाउने अधिकारलाई ग्यारेन्टी गरेको बताउँदै हरेक जनताको पहुँचमा स्वास्थ्य क्षेत्र पु¥याउन सरकार लाग्नुपर्ने बताउनुभयो । “स्वास्थ्य क्षेत्र पु¥याउन आवश्यक नीति नियमलाई सरकारले चाँडो समाधान गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्लेले कर्णाली विज्ञान प्रतिष्ठानले चाँडै नै एमबिबिएस तहको शिक्षा प्रदान गर्न लागेको बताउनुभयो । उहाँले नेपाल नेशनल अस्पताललाई सबै अस्पतालसँग सहकार्य गरेर अगाडि बढ्न सुझावसमेत दिनुभयो ।

राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा प्रमोद यादवले सरकारी अस्पतालले दिन नसक्ने सेवा निजी अस्पतालले प्रदान गरेको भन्दै निजी अस्पताललाई सरकारले साथ लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

अस्पतालका अध्यक्ष रामचन्द्र शर्माले आगामी दिनमा अस्पतालमा सुविधा सम्पन्न आकस्मिक सेवा निर्माण गरेर अगाडि बढ्न अस्पताल लागेको बताउनुभयो । विसं २०७४ जेठ १५ मा स्थापना भएको अस्पतालमा अन्तरङ्ग, बहिरङ्ग सेवा, डाइलासिस सेवा, बालरोग उपचारलगायतका सेवा प्रदान गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर प्रकाश पौडेलले जानकारी दिनुभयो ।




Top