logo
  • Tuesday, January 21, 2020
  • वि.सं ७ माघ २०७६, मंगलवार

न्युजिल्यान्डको नक्कल गरेको भन्दै अष्ट्रेलियालाई झन्डा बदल्न चेतावनी

वि.सं ११ श्रावण २०७५, शुक्रबार १२:२५
न्युजिल्यान्डको नक्कल गरेको भन्दै अष्ट्रेलियालाई झन्डा बदल्न चेतावनी

न्युजिल्यान्डको नक्कल गरेको भन्दै अष्ट्रेलियालाई झन्डा बदल्न चेतावनी

न्युजिल्यान्डका तत्कालीन काम चलाउ प्रधानमन्त्री विन्स्टन पिटर्सले अष्ट्रेलियामाथि आफ्नो देशको झन्डा नक्कल गरेको आरोप लगाएका छन् । मंगलबार आफ्नो छिमेकीमाथि झन्डा चोरीको गम्भीर आरोप लगाउँदै पिटर्सले अष्ट्रेलियालाई आफ्नै डिजाइन खोज्न चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, ‘हाम्रो देशको झन्डा धेरै लामो समयदेखि यस्तो छ तर अष्ट्रेलियाले पछि आएर यसको डिजाइनलाई चोरी गरिरहेको छ । त्यसैले उनीहरुले वास्तवमै आफ्नो अस्तित्व र स्वाभिमानको ख्याल राख्ने हो भने सो झन्डा परिवर्तन गराउनैपर्छ किनकी उनीहरुभन्दा पहिले त्यसलाई हामीले डिजाइन गरेका हौँ ।’ न्युजिल्यान्डकी प्रधानमन्त्री जाकिन्डा अड्रन सुत्केरी बिदामा भएकाले अहिले उपप्रधानमन्त्री पिर्टसले कामचलाउ मन्त्रीका रुपमा उनको स्थान लिएका हुन् ।

वास्तवमै यी दुई देशका झन्डा धेरै हद्सम्म मिल्दाजुल्दा देखिन्छन् र धेरैलाई यसमा द्विविधा पनि हुने गरेको छ । पृष्ठभूमिमा एकैकिसिमको नीलो रङ रहेको यी दुवै झन्डा बेलायती प्रतीकमा आधारित छन् । त्यसैगरी दुवैको देब्रेतिरको माथि पट्टी युरोपेली युनियनको झन्डा पनि समावेश गरिएको छ भने ठाउँठाउँमा ताराको लहर पनि दुवैमा देख्न सकिन्छ ।

यी दुई झन्डामा एक मात्र फरक भनेको अष्ट्रेलियाका ताराहरु सेता छन् र प्रदेशहरु जनाउन धेरै सङ्ख्यामा छन् भने न्युजिल्यान्डको तारामा चाहिँ सेतोमा रातो रङ पनि मिसाइएको छ ।

वास्तवमै न्युजिल्यान्डको झन्डा अष्ट्रेलिया भन्दा पाँच दशक अगाडि, सन् १९०२ मा प्रचलनमा ल्याइएको थियो । अष्ट्रेलियाले भने १९०१ को दशकदेखि विभिन्न डिजाइनका झन्डा प्रयोग गर्दै आइरहेको थियो र हालको झन्डाले चाहिँ १९५४ मा मात्र आधिकारिक पहिचान पाएको हो ।

वास्तवमा यसअघि २०१६ मा पनि न्युजिल्यान्डमा राष्ट्रिय झन्डाबारे निकै ठूलो बहस चलेको थियो । त्यतिबेला बेलायती युनियनको चिन्ह हटाएर सेतो उन्युको बिरुवा राख्ने विधेयक प्रस्ताव गरिएको थियो जसमा न्युजिल्यान्डले १ करोड डलर भन्दा बढी खर्च गर्यो । तर झन्डालाई परिवर्तन नगर्ने पक्षमा ५६ प्रतिशत मत प्राप्त भएपछि त्यसलाई यथावत् राख्ने निर्णय लिइएको थियो ।

अर्कोतर्फ पिटर्सको सो बयानले अष्ट्रेलिया र न्युजिल्यान्डबीच बढ्दो विवादलाई पनि प्रस्तुत गरेको छ । गत महिना मात्र एक १७ वर्षीय न्युजिल्यान्डका नागरिकलाई मेल्बर्नको जेलमा राखिएको खबर बाहिरिएपछि देशभर यसको चर्को विरोध भएको थियो । त्यसकारण यी दुई देशको सम्बन्ध चरम बिन्दुमा पुगेकै समयमा पिटर्सले यस्तो बयान दिएर अवस्थालाई थप जटिल बनाइदिएको सीएनएनले जनाएको छ ।



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com