logo
  • Wednesday, February 26, 2020
  • वि.सं १४ फाल्गुन २०७६, बुधबार

चीनमा फसेका नेपालीलाई उद्धार गर्न वाइडबडी चीन जाँदै

स्टिम न्युज वि.सं २७ माघ २०७६, सोमबार १२:००
चीनमा फसेका नेपालीलाई उद्धार गर्न वाइडबडी चीन जाँदै

काठमाडौं । कोरोना भाइरस प्रभावित क्षेत्रबाट नेपालीलाई उद्धार गर्नका लागि नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ ।

उद्धार गरिने नेपालीहरूलाई लिन जहाज आगामी ३ फागुनमा चीन जाने पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।

यसका लागि परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरूसमेत रहने गरी समिति गठन गरिएको छ । उक्त समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधिहरू पनि रहेका छन् ।

कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने छ । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरू छन् ।

उनीहरूले आफूहरूको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् ।

उनीहरूका अभिभावकहरूले आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मानव अधिकार आयोग लगायतको ध्यानाकर्षणसमेत गराएका थिए ।

आइतबार मात्र राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई चीनबाट नेपाली उद्धार गर्न निर्देशन दिएको थियो ।



Loading...
loading...

Top