logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

नेपालमा गाँजा बहसः एक परिचर्चा

मदनकुमार अधिकारी वि.सं ३२ श्रावण २०७६, शनिबार २१:५५
Blog single photo

कसरी मनाउँ शिवलाई
शिव मान्दै मान्दैनन्

चुरोट र खैनी शिव खाँदै खाँदैनन्
गाँजा र धतुरो मैले कहाँबाट ल्याउँ ?
शिव मान्दै मान्दैनन् ।

‘शिव मान्दै मान्दैनन्…’ बोलको यो चर्चीत भजनमा देवाधिदेव, हिन्दु मात्रका आराध्यदेव श्री शिवशंकर महादेवलाई गाँजा उपलब्ध गराउन सकस भएको भाव उल्लेख भएको छ । कैलाशबासी शिवको असाध्य प्रिय पदार्थको रूपमा अथ्र्याइएको त्यही गाँजा, पशुपतिको भूमी नेपालमा भने प्रतिबन्धित छ । कुनै समय हिमालयन मेरिजुनाको नामले प्रसिद्धि कमाएको नेपाली गाँजालाई राज्यले कानून नै बनाएर अवैध घोषणा गरेपछि यसबाट लिन सकिने अनगिन्ति फाइदाहरूबाट हामी बञ्चित हुनुपर्ने स्थिति आएको हो ।

हाम्रो आवश्यक्ता भन्दापनि बिदेशीको चाहनामा राज्यले कानून बनायो, कुनै बहश र गम्भीर विमर्श नै नगरी गाँजा खेती प्रतिबन्धित गर्ने काम पञ्चायती सत्ताले गर्यो । यो पंक्तिकार स्वयं पनि गाँजा खेतीको पक्षधर हो । गत महिना मात्र नेकपाका सांसद बिरोध खतिवडाले संघीय संसदमा बोल्दै नेपालमा गाँजा खेतिउपर प्रतिबन्ध लगाउने कदम गलत भएको भन्दै यसमा राष्ट्र गम्भीर हुनुपर्ने बताएपछि सुषुप्त झैं रहेको गाँजा बहस एकाएक सतहमा आएको हो । त्यसो त प्रख्यात पूर्वाधारविद् सूर्यराज आचार्य एवं केशव स्थापितले समेत नेपालमा गाँजा उपरको प्रतिबन्ध फुकाउनुपर्ने बिषयमा निरन्तर आवाज उठाउँदै आएका हुन् । नेपालमा गाँजाको बहसले राष्ट्रिय चर्चाको स्वरूप लिएको यो अवसरको उपयोग गर्दै यो आलेख लेख्ने जमर्को गरेको हुँ ।

लेखक:- मदनकुमार अधिकारी

पूर्विय वैदिक परम्परा र औषधिय अभ्याससंग प्रत्यक्ष रूपमा जोडिएको हाम्रो ‘गाँजा–ज्ञान’ लाई हामीले समयमै अपनत्व लिन सकेनौं भने, चलाख युरोपेली, अमेरिकीहरूले बौद्धिक सम्पत्तिको रूपमा नीमको झैं, हाम्रो रैथाने गाँजाको समेत ‘पेटेन्ट राईट्स’ हत्याउने निश्चित छ । अमेरिकाले आमसंहारकारी हातहतियार संसारैभरि बेचेकै छ भने हामीहरूले औषधिय गुणले भरिपूर्ण गाँजा उब्जाउनु, प्रयोग गर्नु र बेच्नु हुन्न भन्ने तर्कमा हामीले मात्र सफाइ पेश गरिरहनु पर्ने अवस्था अब छैन, हुनु हुँदैन । हालै मात्र क्यानाडास्थित ब्रिटिश कोलम्बिया युनिभर्सिटीले उसका आफ्ना विद्यार्थीहरूलाई गाँजा राख्ने र प्रयोग गर्न सक्नेसम्मको अनुमति प्रदान गरेको छ ।

गाँजामा नीहित उच्च औषधिय गुणकै कारण संसारका विभिन्न राष्ट्रहरूमा कैयन् बर्षदेखी प्रतिबन्धित रहेको गाँजाको प्रयोगमा हालैका बर्षहरूमा कानूनी अनुकुलताको व्यवस्था गरिसकिएको छ । अब हामीले हाम्रो कानुनी परिवन्दबाट बाहिर निस्केर गाँजा खेतिबाट प्रचुर लाभ लिने समय घर्किंदै छ । यसबीचमा संसारैभरि गाँजाउपर प्रसस्तै वैज्ञानिक शोध, खोज र अनुसन्धान भएका छन् र अझै भइरहेकै छन् । शोध र खोजबाट प्राप्त सकारात्मक परिणामकै कारण हालैका बर्षहरूमा गाँजाप्रतिको तीनको पुरानो बुझाइ र दृष्टिकोणमा व्यापक परिवर्तन आइसकेको पाइन्छ । आजको मितिमा संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यहरूको अलावा दर्जनौं मुलुकहरूले गाँजाको उपयोग र उपभोगमा कानूनी लचकताको नीति अख्तियार गरेको पाइन्छ ।

क्यानाडा, इजराइल, थाइल्यान्ड, स्पेन, नेदरल्यान्ड, स्विट्जरल्याण्ड, इटाली, मेक्सिको, दक्षिण अफ्रिका, जमैका, उरूग्वे लगायतका दर्जनौं मुलुकहरूले कानुनी रूपमै गाँजाको उत्पादन, प्रशोधन र उपयोगको निम्ति कानूनी बाटो खुला गरिसकेको परिप्रेक्षमा हामीले हाम्रो कानूनी प्रबन्धहरू उपर पुनर्विचारगरि तदनुरूप आवश्यक कदम चाल्नु बुद्धिमानी हुनेछ ।

नेपालमा गाँजा प्रतिबन्धको पृष्ठभुमिः

नेपालमा गाँजाउपरको प्रतिबन्धको मूल जरो बुझ्न भियतनाम युद्ध र यसले अमेरिकी समाजमा जन्माएको बितृष्णालाई बुझ्नुपर्ने हुन्छ । सन् ७० को दशक, त्यतिबेला, जतिबेला भियतनाम युद्ध चरमोत्कर्षमा थियो अनि उन्मादी अमेरिका भियतनामी युद्धमा निरन्तरको धक्का व्यहोर्दै थियो जसले गर्दा सारा अमेरिकामा एकखाले हतासा र निराशा छाएको थियो । खासगरी चेतनशील अमेरिकी युवा दस्तामा आफ्नै सरकारको युद्धकारी नीतिप्रति चरम असन्तुष्टि र बितृष्णा जाग्रीत हुनपुगेको थियो । यसै पृष्ठभूमिमा हाम्रो राजधानी शहर काठमाडौं अराजक अमेरिकी युवा दस्ताको शानदार ‘गाँजामाण्डौं’ या भनौं ‘मेरिजुना ल्याण्ड’ को रूपमा उदाउँदै थियो । भियतनाम युद्धमा अमेरिका नराम्रोसंग फँसेको थियो भने अमेरिकी युवायुवतीहरू चाहिँ युद्धबाट विरक्तिएर उन्मुक्ति खोज्दै काठमाडौंका अँध्यारा गल्लीहरूमा गाँजाको धुवाँसंगै हिप्पी सभ्यताको विस्तारमा जुटेका थिए । त्यसताका नेपालको हरेक ठाउँमा पाइने शिवको बुटी गाँजा पशुपतिको परिसर काठमाडौंमा नपाइने कुरै थिएन । हिप्पी संस्कृतिका अनुयायी पश्चिमा युवायुवतीहरूका लागि संसारको सबैखाले दाउपेच र तानावानाबाट मुक्त भै मस्त गाँजाको धुवाँमा रम्नु कम्ती रोमान्चक थिएन । लामा–लामा जगल्टे कपाल पालेका, फाटेका जिन्स र झुत्रे लुगा लगाएका, स्ल्याग भाषा बोल्ने अनि ‘बमबम’ र ‘हरहर महादेव’ भन्दै गाँजा र चरेसको नशामा डुब्ने एउटा ठूलो पाश्चात्य समुदायको निर्माण भइसकेको थियो त्यसबेला काठमाडौंमा । भारतिय फिल्म उद्योग बलिउडले समेत चासोका साथ हिप्पीहरूको मनमौजी कथा समेटेर ‘हरेरामा हरेकृष्ण’ जस्तो चर्चित सिनेमाको निर्माण गर्नुले त्यसताका गाँजामा रम्ने ‘हिप्पी क्रेज’ कति प्रखर भइसकेको थियो भनेर बुझ्न सघाउँछ ।

अमेरिकाबाट शुरूभइ काठमाडौंमा तिव्रगतीमा फैलिरहेको हिप्पी संस्कृति नजिकबाट नियालीरहेका अमेरिकी एजेन्सीहरूको रिपोर्टकै आधारमा यो बिषय अन्ततोगत्वा अमेरिकी प्रशासनको नजरमा पर्न गयो । गाँजालाई लिएर नेपालमाथी अमेरिकाको प्रत्यक्ष दवाब र प्रभाव बढ्न थाल्यो । अमेरिकी प्रशासनले डिक्टेटकै शैलीमा नेपाललाई गाँजाउपर प्रतिबन्ध लगाउन निरन्तर दवाव दिन थाल्यो । निरन्तरको अमेरिकी दवाबकै कारण तात्कालिन पञ्चायती सत्ताले ‘लागुऔषध नियन्त्रण ऐन –२०३३’ जारी गर्यो, परिणामस्वरूप नेपालमा सनातनदेखि गरिंदै आएको गाँजा–खेती, यसको उपयोग र उपभोग समेत गैरकानुनी हुन पुग्यो । कुरो यतिमै टुंगिएन, संयुक्त राष्ट्रसंघको ‘सिङ्गल कन्भेन्सन अन नार्कोटिक ड्रग्स –१९६१’ नामक अन्तर्राष्ट्रिय अभिसन्धीमा नेपालले हस्ताक्षर गरेपछि नेपाल औपचारिक रूपमै यो अभिसन्धी पक्षीय राष्ट्रको सूचीमा सुचिकृत हुनपुग्यो । संयुक्त राष्ट्रसंघीय ‘नार्कोटिक कन्ट्रोल बोर्ड’ ले गाँजालाई हेरोइनकै श्रेणीको कडा लागुऔषध भनेर व्याख्या गरेको पाइन्छ । गाँजाका पक्षपातीहरू संयुक्त राष्ट्रसंघको यो प्रावधान नै त्रुटिपूर्ण रहेको तर्क गर्दछन् । अहिलेको मितिमा त स्वयं संयुक्त राज्य अमेरिकामा समेत गाँजाको नियन्त्रित उपयोगलाई कानूनी छुट प्राप्त भइसकेको छ ।

२०३३ मा ल्याईएको ऐनले गाँजा प्रतिबन्धित गरेको भएपनि तत्कालै सो ऐन कडाईका साथ कार्यान्वयन भने भएको थिएन त्यसको कारण के पनि थियो भने देशका उच्च घरानियाँ व्यापारीहरू नै गाँजा र चरेसको व्यापारमा प्रत्यक्ष संलग्न थिए । दरवार हत्याकाण्डको समयमा तत्कालिन युवराज दिपेन्द्रले कालो पदार्थ प्रयोग गरेको प्रसंग तथा थाईल्याण्डमा रहेकाबेला पूर्व युवराज पारस पटक–पटक थाई प्रहरीद्वारा गाँजा सहित गिरफ्तार गरिएको प्रसंगले समेत गाँजा र दरवारको कनेक्सन पुरानै रहेको कुरा बुझ्न कुनै आइतबार कुरिरहनु पर्दैन । तात्कालिन दरवारका सदस्यहरूमा रहेको गाँजाप्रेम, त्यसमा नीहित औषधिय महत्वको कारणले थियो वा गाँजामा पाइने मनोद्विपक तत्वको कारणले थियो भन्ने कुरा त दरवारले नै बुझ्ने बिषय थियो तर, जे भएपनि तात्कालीन पञ्चायती प्रशासनतन्त्र समेत गाँजाका तस्कर र कारोबारीबाट असाध्यै प्रभावित थियो भनेर बुझ्न एक रोचक प्रसंगको चर्चा अझैपनि प्रासंगिक नै छ । प्रसंग के छ भने, सिरहा जिल्लाको सदरमुकाम सिरहास्थित श्री सूर्यनारायण–सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको नवनिर्मित भवन समुद्घाटन गर्न २०३९ साल पौष २५ गतेका दिन तात्कालिन राजा बिरेन्द्र त्यहाँ पुगेका थिए, क्याम्पस नजिकैको खेतहरूमा प्रसस्तै गाँजाखेती गरिएको थियो । राज्यले प्रतिबन्धित गरेको गाँजा, स्वयं राजाकै अघिल्तिर छरपष्ट हुने स्थिति आयो । सर्वसाधारण मानिसहरू अब गाँजा पक्कै नष्ट गरिन्छ होला भन्ठानेर बसेका थिए तर स्थानीय प्रशासनले देशको कानूनलाई नक्कली जामा पहि¥याइदिए । राजाको नजरबाट जोगाउन व्यापक प्रहरी परिचालन गरि रातारात गाँजालाई ठुल्ठूला पाल टांगेर छेकेर राख्ने कार्य गरियो । पञ्चायती शासन चरममा रहेको त्यो समयमा समेत राजाको पनि रतिभर परवाह नगरी तस्करको संरक्षण गर्न स्थानीय प्रशासनले मोलेको जोखिम देख्दा पञ्चायती व्यवस्थाको बेथिती र अराजकता कुन स्तरको थियो भनेर बुझ्न सघाउँछ । यो घटनाको सन्दर्भ सामग्री संकलनका लागि सिरहा सदरमुकाम पुगेको यो पंक्तिकारलाई अर्को रोचक जानकारी समेत सुन्ने–बुझ्ने मौका मिल्यो । सिरहाको सोही क्याम्पस परिसरमा भेटिएका सिरहा, महिषोथा –७ का नन्दन ठाकुरका अनुसार, सो क्याम्पसको नवनिर्मित भवन समुद्घाटनका लागि तात्कालिन राजा बीरेन्द्रलाई अनुरोध गरिएकोमा राजा अनिच्छुक भएको बुझेपछि क्याम्पसका संस्थापकद्वय सूर्यनारायण–सत्यनारायण मरवैता यादवले यदि राजाले भवन समुद्घाटन नगरेको खण्डमा, क्याम्पसको भवनलाई गाँजा गोदाम नै बनाइदिने बताए पश्चात् राजा बीरेन्द्र उद्घाटनका लागि राजी भएको भन्ने जनश्रुती बुढापाकाहरूले सुनाउने गरेको प्रसंग ठाकुरले सुनाए । देशमा कानून भएर पनि कार्यान्वयन नभएपछि अमेरिकी दवाब झन् तिब्र हुनपुग्यो त्यसैले २०४२–४३ देखि तराईका जिल्लाहरूमा प्रहरी परिचालन गरि गाँजा नष्ट गर्ने कार्य तिब्र पारिएको थियो । तराईका जिल्लाहरूमा निगरानी बढेपछी गाँजा–चरेसका तस्करहरूले गाँजा खेतीलाई धादिङ्ग, मकवानपुरतिर शिफ्ट गरेका थिए ।

नेपालमा गाँजा प्रसंगलाई दस बर्षे जनयुद्ध संग समेत जोडेर अध्ययन अनुसन्धान भएको पाइन्छ । नेपालको मध्यपश्चिम पहाडी क्षेत्रमा सशस्त्र माओवादी गतिविधि तिब्र भएपश्चात अमेरिकी एजेन्सी युएसएडका लागि मर्सी कप्र्स नामक संस्थाले मिस्टर रोबर्ट गेर्सोनीलाई सूक्ष्म अध्ययनका लागि एउटा प्रोजेक्ट वर्क नै दिएर राप्ती क्षेत्रमा खटाएको थियो । युवा अनुसन्धानकर्ता गेर्सोनीले लामो समय लगाएर त्यस क्षेत्रमा स्थलगत अध्ययन अनुसन्धान गरी ‘स्नोविङ द विन्ड, हिस्ट्री एण्ड डायनामिक्स अफ द माओइस्ट रिभोल्ट इन नेपाल्स राप्ती हिल्स’ नामक बिस्तृत रिपोर्ट नै तयार पारेर अमेरिकी एजेन्सीलाई बुझाएका थिए । सो रिपोर्टमा गेर्सोेनीले गाँजा उत्पादनबाट प्रसस्त आय आर्जन गर्दै आएका राप्ती क्षेत्रका आम जनताहरू नेपालमा गाँजा उपरको प्रतिबन्ध पश्चात् आर्थिक लाभबाट बञ्चित हुन पुगेका कारण समेत त्यस क्षेत्रमा सशस्त्र माओवादी गतिविधि ह्वात्तै बढ्न गएको तथ्य उल्लेख गरेका छन् ।

गाँजालाई अंग्रेजी भाषामा मेरिजुना र क्यानाबिजको नामले चिनिन्छ । पूर्वीय सनातन वैदिक दर्शनको एक महत्वपूर्ण आरोग्यग्रन्थ आयुर्वेदमा गाँजाका असाध्य गुणहरूको चर्चा पाइन्छ । गाँजा एण्टी–क्यान्सर गुणले युक्त भएको कुरा त संसारले मानिसकेकै बिषय हो । यसका अतिरिक्त गाँजामा शारिरिक समस्याहरू जस्तै दर्द, अपच, अनिन्द्रा, मानसिक गडबडी, मुर्छा, शिघ्र स्खलन, झाडापखाला, नाकबाट पानी बगिरहने समस्यालगायत हेपाटाइटिस सीको पाश्र्व–प्रभावबाट जोगाउन समेत उपयोगी रहेको अनेकौं अध्ययनहरूले देखाएको छ । गाँजाको उपयोगमा निरन्तरको बढ्दो क्रेजको पछाडीको कुरो के छ भने यसलाई यौनशक्ति बर्धक औषधिको रूपमा समेत महत्वका साथ लिने गरिएको पाइन्छ । क्यालिफोर्निया, अमेरिकाकी अभियानकर्मी एस्ले माण्टाले यौन र गाँजाको सम्बन्ध बारे व्यापक अभियान नै चलाइरहेकी छिन् । गाँजाको समुचित उपयोगबाट यौन क्षमतामा वृद्धि गर्ने ‘सेक्स थेरापी’ को प्रारम्भ गरेकी माण्टाले ‘कैना–सेक्सुवल’ शब्दलाई विश्वव्यापी बनाउन अहोरात्र खटिरहेको बताइन्छ । सन् २०१३ देखि माण्टाले गाँजासंग जोडिएको यो सेक्स–थेरापीलाई निरन्तर प्रचार–प्रशार गर्दै विश्वको ध्यान आकृष्ट गरिरहेकी छिन् । प्राचीन मिश्रका महिलाहरूले यौन प्रयोजनकै लागि गाँजालाई महमा भिजाएर सेवन गर्ने गरेको इतिहास पाइन्छ । अमेरिकामा त पछिल्ला बर्षहरूमा गाँजा–क्रेज चरममै पुगेको पाइन्छ । ‘क्यानाबिज क्यारियर डट कम’ नामक संस्थाले न्युयोर्कमा ‘गाँजा वल्र्ड काङ्ग्रेस’ सम्मेलन नै आयोजना गरेको थियो, जसको मूल नारा ‘क्यानाविज मिन्स बिजनेश’ अर्थात् गाँजा भन्नु नै व्यापार हो भन्ने राखेको थियो । महत्वपूर्ण कुरो के छ भने, गाँजामा निकोटिन नहुने भएकोले यो चुरोट जस्तो हानिकारक नरहेको बताइन्छ । त्यसैले त दिनरात गाँजा तानेर बिताउने साधु बाबाहरू क्यान्सरग्रस्त हुनुको साटो दीर्घजीवन बाँचेको देखिन्छ । विश्व बजारमा गाँजाको क्रेज कहिल्यै पनि कम भएको देखिदैन । सन् २०१७ मा विश्वबजारमा ७ अर्व ७० करोड अ‍ेमिरीकी डलर बराबरको कारोबार भएको गाँजा अहिले धमाधम धेरै राष्ट्रहरूले कानूनी दायरामा ल्याउँदै गएको स्थितिमा यसको ब्यापार ह्वात्तै बढ्न गै सन् २०२५ सम्ममा ७० अर्व डलर पार गरिसक्ने गाँजाको अन्तराष्ट्रिय कारोबार अध्ययन गर्ने एजेन्सीहरूको प्रक्षेपण रहेको छ ।

नेपाली सेनाका रिटायर्ड मेजर श्री सरीनप्रताप मल्ल गाँजाको वकालत गर्न एकछिन पनि पछि पर्दैनन् । गाँजालाई अत्यन्तै निकट रहेर स्व–अध्ययन र अनुसन्धान गरेको लामो अनुभव संगालेको बताउने पूर्व मेजर मल्ल, राज्यले बरू हानिकारक निकोटिनयुक्त चुरोट र सुर्तीमा प्रतिबन्ध लगाएर अतुल्य औषधिय गुणले भरिपूर्ण गाँजालाई खुला गर्नुपर्ने तर्क गर्छन् । उनको बुझाइमा माथि उल्लेखित गुणहरूको अतिरिक्त गाँजामा भरपूर एन्टी अक्सिडेण्टका साथै एन्टी ईन्फ्ल्यामेटोरी प्रोपर्टी समेत पाइन्छ । गाँजा खेती गरेर त्यसबाट कागज बनाउने हो भने एकातिर यसले राम्रो अन्तर्राष्ट्रिय बजार पाउने र साथै वनविनास समेत घट्ने उनको तर्क रहेको छ । गाँजाको डाँठ ‘हेम्प’ प्रयोग गरेर निर्माण गरिएको घरले प्राकृतिक रूपमै इन्सुलेटरको काम गर्ने भएकोले जाडोमा न्यानो र गर्मीमा शितलता प्रदान गर्दछ । दम र बाथ रोगीहरूका निम्ति यस्तो घर कुनै ‘हिलिङ्ग स्टेसन’ भन्दा कम नहुने पर्यटन व्यवशायी गोपाल शेर्पा बताउँछन् । सिन्धुपाल्चोक हेलम्बुका पर्यटन व्यवशायी शेर्पाले हेलम्बु गाउँपालिका वडा नं. २ शेर्माथानमा करोडौं खर्चेर गाँजाको हेम्पबाट पर्यटकिय उद्देश्यका साथ सुन्दर घर निर्माण गरेका छन् । विदेशी पर्यटकहरूको रूचीलाई ध्यानमा राखेर नै आफूले होमस्टे सेवा दिने उद्देश्यले गाँजाको डाँठ प्रयोग गरेर सो घर निर्माण गरेको शेर्पा बताउँछन् ।

पश्चिमी देशहरूमा सिगार पिउने प्रचलन निकै पुरानै हो । सुर्ती प्रयोग गरेर तैयार पारिएका सिगारले पुर्याउने क्षतीलाई न्यूनीकरण गर्नैका लागि हालैका बर्षहरूमा नयाँ प्रयोग शुरू भएको छ । बिगत एकदशकको अवधीलाई हेर्ने हो भने सुर्तीको ठाउँमा गाँजा भरेर त्यसलाई सुर्तीको पातले बेह्रेर तयार पारिएका सिगारको उत्पादन, बिक्रीबितरण र उपयोग रेकर्ड स्तरमा वृद्धि भएको पाईन्छ । यसरी गाँजा भरेर बनाईएको सिगारलाई ‘ब्लण्ट’ भनिन्छ । संसारैभरी यतिबेला यस्तो ब्लण्ट लोकप्रिय भैरहेको बीबीसीले जनाएको छ ।

हामीले समयको परिवर्तनलाई आत्मसात गरि यस्तो सिगार उत्पादन गरेर ‘हिमालयन अग्र्यानिक ब्लण्ट’ को नामबाट विश्वबजारमा बेच्नसके निरन्तर उकालो लागिरहेको देशको व्यापार घाटालाई समेत उल्लेख्य रूपमा घटाउन सक्छौ । यतिबेला गाँजा बहस हाम्रो नेपालमा समेत एक राष्ट्रिय बहसको रूपमा उदाउँदै छ । यो स्वागतयोग्य कुरो नै हो । यसलाई वैधानिकता दिन नेपालले आफ्नो आन्तरिक ऐन सच्याएर मात्रै पुग्दैन, यसका लागि अन्तर्राष्ट्रिय महासन्धीबाट औपचारिक रूपमै नेपाल अलग्गिनु पर्ने हुन्छ अन्यथा नेपाल गाँजाजन्य पदार्थको उत्पादन गर्ने राष्ट्रको रूपमा कालोसूचीमा सुचीकृत हुने खतरा रहन्छ ।

हुनत गाँजामा मनोद्विपक तत्व नीहित हुने भएकोले यसको असंतुलित र अनियन्त्रीत प्रयोगले प्रयोगकर्तामा मानशिक समस्याहरू देखिने खतरा रहेपनि यसमा नीहित अनगिन्ती उच्च औषधिय गुणको फाइदा लिन तथा गाँजा उत्पादनबाट गरिबी न्युनिकरण गर्न समेत टेवा पुग्ने भएको कारण सरकारले प्राथमिकता र तदारूकताका साथ कानूनी प्रबन्धहरूमा समयानुकुल परिवर्तन गर्दै गाँजाको बिषयलाई देश र जनताको हीतमा उचित नियन्त्रणका साथ उत्पादन, उपयोग र व्यापार गर्न सकिनेगरी ब्यवस्थापन गर्न सके यसबाट देश र जनतालाई प्रसस्त लाभ मिल्न सक्ने कुरा कहिं कतै छिपेको छैन तसर्थ देश र जनताको अधिकतम हीत हुनेगरी यस बिषयमा राज्यले समुचित निर्णय लिन अब पटक्कै ढिला गर्नु हुँदैन ।




Top