काठमाडौं: सन् २०२२ मा हुने फिफा विश्वकपको छनौटअन्तर्गत ब्राजिलले दोस्रो जित दर्ता गरेको छ । विश्वकपको दक्षिण अमेरिकी छनौटअन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलले पेरुमाथि ४–२ गोलको जित दर्ता गरेको हो ।
पेरुको मैदानमा ब्राजिललाई जिताउन नेयमारले ह्याट्रिक गोल गरे भने रिचार्लिसनले एक गोल गरे । पेरुका आन्द्रे कारिल्लो र रेनाटो टापियाले एक–एक गोल गरे ।
खेलमा घरेलु टोली पेरुले सुरुआती अग्रता बनाएको थियो । खेलको पाँचौं मिनेटमा कारिल्लोले गोल गर्दै पेरुलाई अग्रता दिलाए ।
खेलको २८औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई बराबरीमा फर्काए ।
५९औं मिनेटमा टापियाले गोल गरेपछि पेरुले पुनः अग्रता बनाएको थियो । तर, ६४औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई खेलमा फर्काए ।
८३औं मिनेटमा ब्राजिलले पुनः पेनाल्टीको मौका पाएको थियो, जसमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए ।
खेलको ८६औं मिनेटमा कार्लोस काकेडा र ८९औं मिनेटमा कार्लोस जाम्ब्रोनाले रातो कार्ड पाउँदै मैदान छोडेपछि पेरु ९ खेलाडीमा सीमित बन्न पुगेको थियो ।
त्यसको प्रत्यक्ष फाइदा उठाउँदै नेयमारले खेलको इन्ज्युरी समयमा गोल गरे । र, ब्राजिललाई ४–२ गोलको जित दिलाए ।
जितसँगै ब्राजिलले दुई खेलबाट ६ अंक जोडेको छ । यसअघि ब्राजिलिले बोलिभियामाथि ५–० गोलको शानदार जित निकालेको थियो ।
पराजित पेरुसँग भने दुई अंक छ । यसअघि उसले पराग्वेसँग २–२ गोलको बराबरी खेलेको थियो ।