नौबीसे सतुंगल सुरूङमार्ग ठेक्का जापानी कम्पनिलाइ असोजबाट कामसुरू

0
नौबीसे सतुंगल सुरूङमार्ग
Advertisement

नौबीसे सतुंगल सुरूङमार्ग ठेक्का जापानी कम्पनिलाइ असोजबाट कामसुरू

धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नौबीसे सतुंगल सुरूङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा/आन्दो जेभीले पाउने भएको छ । आगामी असारसम्म कम्पनीसँग ठेक्का सम्झौता गरेर आगामी असोज महिनाबाट काम थाल्ने तयारी सडक विभागको छ ।

ठेक्का भएको १० महिना बढी भइसक्दा पनि विभागलाई कम्पनी छनोटमा दुविधा भएको थियो । प्राविधिक रुपमा उत्कृष्ट ठहरिएको हाज्मा/आन्दो जेभीको आर्थिक प्रस्ताव भने अन्य चिनिया कम्पनीको भन्दा बढी थियो ।

यसैले गर्दा चिनियाँ कम्पनीले ठेक्का पाउने अवस्था आएको थियो । यो ठेक्कामा एक जापानी र ५ चिनियाँ कम्पनी प्रतिस्पर्धामा थिए ।

तर, जापानी सहयोग नियोग (जाइका)ले चिनियाँ कम्पनीबाट हुने काम गुणस्तरीय नहुने भन्दै चिनियाँ कम्पनीलाई ठेक्का दिन अस्वीकार गरेको थियो ।

दातृ निकाय जापानी सहयोग नियोग (जाइका)ले जापानी कम्पनीले ठेक्का नपाए नेपालमा सहयोग कटौति गर्नेसम्मको चेतावनी दिएपछि हाज्माको प्रस्तावमा नै रकम घटाएर सम्झौता हुन लागेको हो । सम्झौताका लागि लागि जाइकाको स्वीकृति आवश्यक पर्छ ।

तर, खरिद ऐन र नियमावलीले कम मूल्य कबोल गर्नेलाई नै ठेक्का दिनुपर्ने व्यवस्था कारण सडक विभागलाई दाताको दबाव मान्न असहज अवस्था आएको थियो ।

अन्तिममा हाज्मासँग वार्ता मार्फत उसको प्रस्तावभन्दा ७० करोड कममा नौबीसे सतुंगल सुरूङमार्ग को ठेक्का दिने सहमति गरिएको सडक विभागका एक इन्जिनियरले जानकारी दिए । अब हाज्माले यसअघि कबोल गरेको भन्दा ७० करोड रुपैयाँ कममा नै सुरुङमार्ग निर्माणको जिम्मा लिँदैछ ।

यो सुरुङमार्ग निर्माणमा विष्फोटक पदार्थ प्रयोग गरेरै सुरुङमार्ग निर्माण गरिने महाशाखा प्रमुख थापाले जानकारी दिए । चर्चामा रहेको टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग यहाँ हुने छैन ।

हाजमा नेपालमा राम्रो काम गर्ने इतिहास भएको जापानी कम्पनी हो । बिपी राजमार्गको निर्माण गरेको यो कम्पनिले त्यस अघी नेपालकै नमुना सडक काटेश्वर-सूर्यविनायक खण्डलाई ८ लेनमा विस्तार गरेको थियो ।

यो सुरुङमार्ग निर्माणका लागि सरकारले आगामी वर्ष ६ अर्ब २७ करोड विनियोजन गरेको सडक विभागको विकास सहायता महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।

टेण्डर मूल्यांकन प्रक्रियामा अलमल हुँदा यो नौबीसे सतुंगल सुरूङमार्ग निर्माणको कमा थाल्न ढिलाइ भएको छ । यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो ।

सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । उक्त परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ ।

नौबीसेदेखि थानकोटसम्मको सडक खण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । यस्तो ट्राफिक जाम न्युनीकरण गर्ने भन्दै सरकारले यस्तो योजना अघि सारेको हो ।

विभागका अनुसार यो सुरुङमार्गको लम्बाइ २.३५ किलोमिटर हुनेछ । अहिले सडकमा सानो अवरोध आउँदा पनि नौबीसेदेखि काठमाडौ प्रवेश गर्न नाकामै तीन घन्टासम्म पनि जाममा बस्नुपर्ने बाध्यता छ । सुरुङमार्ग निर्माण भएपछि भने २० मिनेटमा काठमाडौं प्रवेश गर्न सकिने विभागको दाबी छ ।

यो सुरुङमार्ग दुबैतर्फका सडक बेला-बेलामा दुई लेनमा परिणत हुने र कुनै बेला एक लेनमा खुम्चिन्छन् । एकापट्टकिो सडक दुई लेन हुँदा अर्काेपट्ट एक लेन हुन्छ, जुन फेरबदल भइरहन्छ । १२ मिटर चौडाइको सुरुङमार्गमा दुवैतिर पैदलयात्रीका लागि १/१ मिटरको पेटी राखिने छ ।

सुरुङमा भेन्टिलेटर र जेट फ्यान जडान गरिनेछ । आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेनको सहायक सुरुङ पनि बनाइनेछ ।

नेपाल आयल निगमको थानकोट डिपोमुनि निस्कने सुरुङमार्गलाई पुनः त्रिभुवन राजपथमा ल्याएर जोड्न २.२५ किलोमिटरको एक्सेस रोड पनि निर्माण गर्नुपर्नेछ ।

तीन लेनको सहायक मार्ग लागि सडक विभागले आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया पनि चलिरहेको छ । यो सहायक मार्ग सतुंगलको टेलिकमको कार्यालय नजिक आएर मुख्य राजमार्गमा नै जोडिनेछ । धादिङको सिस्नेखेलातर्फ भने सहायक मार्ग निर्माण गर्नुपर्ने छैन ।

नौबीसे सतुंगल सुरूङमार्ग निर्माण भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको समय, इन्धन बच्नुको साथै पार्ट्सको आयु पनि बढ्ने छ ।

आहा ! लुक्ला विमानस्थल

Facebook Comments

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here