logo
  • Sunday, February 23, 2020
  • वि.सं ११ फाल्गुन २०७६, आईतवार

नलेखिएको डायरीको च्यातिएको पन्नाबाट…… अन्तरआत्माको प्रेम !

वि.सं १३ बैशाख २०७६, शुक्रबार १२:१३
नलेखिएको डायरीको च्यातिएको पन्नाबाट…… अन्तरआत्माको प्रेम !

नलेखिएको डायरीको च्यातिएको पन्नाबाट…… अन्तरआत्माको प्रेम !

भाईबरमा मेसेज आएको टुगंटुगं आवाजले ध्यान विथोलियो।

पढिरहेको नव लेखक सरोज रेग्मीको’मिस यु’बाट आँखा हटाएर मोबाईल तिर पुलुक्क हेरे । स्क्रिनमा कुनै सेभ नगरिएको नम्बरबाट कता हराउनु भयो ? भनेर मेसेज आईरहेको रहेछ।

अरु नै केही मेसेज भएको भए पक्का रिप्लाई गर्थे होला तर त्यसदिन उक्त मेसेजको रिप्लाई गर्न र कस्को नम्बर हो भनेर पत्ता लगाउन कतिपनि जाँगर चलेन।

फेरी आँखाहरु किताबका अक्षर मा नै दौडिए।

लगभग पन्ध्र मिनेट पछि भाईबरमा कल नै आयो। यसो हेरे।अघि मेसेज गरेकै नम्बर हो भनेर ठम्याउन मलाई समय लागेन।

त्यसपछि भने कस्को नम्बर रहेछ जस्तो लाग्यो र कल रिसिभ गरौ कि नगरौ को दुविधामा आफ्नो दाहिने हातको बुढीं औलालाई खेलाईरहे।

सायद अन्तिम रिगं हुँदो हो,कल रिसिभ गरे।

के हो तपाई त मेसेजको रिप्लाई त परे जाओस सिन समेत गर्नुहुन्न त ? नारी स्वर एक्कासी कड्कीई उता बाट।

हजुर केही व्यस्त थिए ,त्यही भएर हो। मैले नरम नै बोले।

व्यस्त थिए की वास्ता भएन ? अझै उत्तिकै कड्काई मिश्रित आवाज थियो । तर दोस्रो पटक त्यो आवाज सुनेपछि मान्छे चिन्न गाह्रो भएन।
स्वर चिनेपछि भने बेकार कल रिसिभ गरिएछ जस्तो भयो।

अनि भनन केही विशेष थियो र ? कसरी सम्झियौ? म औपचारिकता निभाउन तिर लागे।

किन तपाईलाई मेसेज गर्न फोन गर्न अब विशेष दिन हुनुपर्छ ? यसो भनिरहँदा मुख बटारी क्यार। अनि आफै संवादलाई अगाडी बढाईन् ।

भोली शनिबार ।नभेटेको पनि धेरै भयो। मुभि हेरम न संगै। प्रस्ताव राखी।

नबोलेको चाही कति भयो हामी ? सोध्न मन थियो। सोधिन, भने म व्यस्त छु। सरी।

हाउ रुड । आई हेट यु भन्दै फोन आफैले काटी।

हामी बिच यस्तो संबन्ध भएको करिब चार वर्ष भयो।   यसलाई संबन्ध नै भन्न पनि मिल्छ कि मिल्दैन मलाई थाहा छैन, न त सम्बन्धको कुनै नाम नै छ।

चिनजान भएको चार वर्षमा धेरै समय त हामीले एकअर्का संग नबोलेरै बितायौ।
एकअर्का लाई घुर्की लगाएर नै बितायौ।

कहिले मलाई उ संग नजिक हुन मन लाग्छ उ टाढा भईदिन्छे , कहिले उसलाई नजिक हुन मन हुदो हो म यसरी भागिदिन्छु।

एउटा बेनाम संबन्ध।

आफैलाई नराम्रो लाग्यो।कलब्याक गरे।

उठाईन।

तेस्रो चोटी गर्दा बल्ल फोन उठ्यो।
व्यस्त मान्छेहरु किन समय खेर फाल्दैछन ? रिसाई वा गिज्याई। मैले पत्तो पाईन।
कहाँ आउनु पर्ने हो चलचित्रको लागी ? मैले वादविवाद गर्न चाहिन।
बल्ल लाईनमा आउनुभो ?
लबिम मलमा १२ बजे। १ घण्टा जति छिटो आउनुहोला।कफि पिउँला ।
सायद आदेश थियो।
सिनेमा सक्काएर पिउन हुन्न?
मैले आग्रह गरे।
अहँ मुभि पछि मेरो काम छ।अगाडी नै पिउनुपर्छ।
सहमति जनाउनु को विकल्प रहेन।

* * *
भोलिपल्ट

म निस्के है। समयमा आउनुस। मेसेज आईपुग्यो मोबाईलमा।

अहो १०:३० भईसकेछ घडीमा।

किताब नै पढ्दैथिए।
टेबलमा राखे।
अनि रुमबाट निस्किए।

पाटन सुन्धारा चोक सम्म आईपुग्न मलाई मेरो रुमबाट दुई मिनेट लाग्छ। लबिम मल सम्म हिडेरै जान पुरा तयारी थियो।
कानमा हेडफोन लगाएर पाँचवटा गीत सक्काउने हो भने सुन्धाराबाट लबिम सम्मको बाटो नाप्नु ठुलो कुरै नै हैन।

मास्क लगाउनु फेसनजस्तो भएको छ यो शहरमा। बाध्यता लाई बनाईदिएको फेसन।कालो कपडाको मास्क म पनि सधै लगाउछु।

पाटन दरबार क्षेत्र आईपुग्दा पहिलो गित ‘अल्लाहेके बन्दे हँसदे’ सक्किएर ‘हिरे मोती मे ना चाहु’ गुजिंदैथियो। कैलास खैर का गीत बढी बज्छन मेरो म्युजिक प्लेयरमा।

लबिम मल पुग्न २० मिनेट जति मात्र लाग्यो। एक्लै गित सुनेर हिड्दाँ छिट्टै हिड्ने गरिन्छ।

सरासर मुभिको लागी टिकट लिन लिफ्टको सहायतामा माथी गए।उनी आईपुगेकी थिईनन सायद। कल आएको थिएन।

टिकट काउण्टर अगाडी पुगेपछि पो सम्झिए,कुन चाही फिल्म हेर्ने भन्ने बारे त सल्लाह नै भएको छैन नी।

ओहो ।के गर्ने होला ! आफैले कुनै चलचित्रको टिकट लिम फेरी झुर भयो भने गर्नु सम्मको विल्ला गर्छिन।

घडी हेरे।एघार त बज्नै लाग्यो। एक घण्टा छिटो आउनु भनेर उनैले भनेकी हुन तर आईपुगेको छैन।

समयमा बोलाएर समयमा नआईपुग्ने उनको पुरानो बानी।
हुनत हामी बितेको चार वर्षमा केवल दुईपल्ट मात्र भेटियौ।तर ती दुवै पल्ट उनी ढिला आईपुगेकी थिईन।

के गर्ने त अब ?

एकपल्ट फोन नै गरम न त। डायल गरे।

“माफगर्नुहोला।तपाईले संपर्क गर्न खोज्नु भएको मोबाईल को स्विच अफ गरिएको छ “ नेपाल टेलिकमकी दिदीले जानकारी दिनु भो। मजाक जस्तो लाग्यो।
फेरी डायल गरे। अझै त्यही भन्छ।
फेरी गरे।
दुई तिन मिनेटको अन्तरालमा चार पाँच चोटी गरे। आफ्नै मोबाईल बिग्रिएको होकी भनेर सेटिगं चेक गरे , ब्यालेन्स चेक गरे । सब ठिक ठाक छ। तर फोन त लागिरहेको छैन।

भर्यागं बाटै ग्राउन्ड फ्लोरमा झरे।वरपर आँखा घुमाए।खरानी कलरको ड्रेस वाला सेक्युरेटी गार्ड दाई देखियो तर उनी कतै देखिईन।
गार्ड दाईलाई उनको नम्बर डायल गर्न अनुरोध गरे।आफ्नो मोबाईल नै बिग्रेको होकी भन्ने शंकाले।

अहँ। नेपाल टेलिकमको दिदीले माफी माग्न छोडिनन।

अवाक्क भएँ।
के गर्छ यो केटी। झनक्क रिस उठ्यो।

एकैछिनमा चिन्ता पनि लाग्यो। आउँदा बाटोमा केही पो भयो की ?
घडी हेरे। ११:२५ हुदै थियो ।
ती गार्ड दाईले अचम्म मानेर मलाई हेर्दै आफ्नो मोबाईल लिएर मुल ढोका तिर लम्किए।

एक घण्टा छिटो आउनु है भनेको मान्छे,तीस मिनेट बितीसक्दा पनि देखापरिन। मोबाईल अझै स्विच अफ नै थियो।

के गर्ने र नगर्ने दोसाँधमा बाह्र बजाए। अझै आईपुगिन।न उनी न फोन।

अब त अत्ति नै भयो।
तर अति भएर चाही गर्ने के ?

मन चिसो भयो। दिमाग शुन्य। अनि फेरी आफ्नो मोबाईल निकालेर कन्ट्याक्ट लिस्ट तिर उनको एकदम मिल्ने साथी सुप्रियाको नम्बर डायल गरे ।

सुप्रियाको फोनमा रिंग गयो तर फोन उठेन। मन फेरी बस्यो।

दोहोर्याएर गर्न जाँगर चलेन।तर तत्काल सुप्रियाले कलब्याक गरि।
ओहो। धन्य।मनले सोच्यो।
हत्तपत्त फोन उठाएँ।
हेलो

हेलो।हजुर कल गर्नुभएको रहेछ,धेरै पछि सम्झिनुभएछ म किचनमा थिए । केही थियो की?
उसले मुभि हेरौ न भनेर हिजो कल गरेकी थिई। म आज यहाँ आएर कुरेर बसेको छु तर अहिले सम्म आईपुगेकी छैन।११ बजेको टाईम दिएको थिए। त्यही भएर। एकैसासमा भनिसके।

सुप्रियाले फोन काटी। मेसेज गरी।

“तपाईले ठिक वैशाख १२ गते यही समय तिर फोन गरेको लगातार ३ वर्ष भयो।होसमा आउनुहोस। जिन्दगीको सफर लामो छ। अब उनी यो संसारमा छैनन तपाईले मान्नुपर्छ।”

झल्याँस्स भएँ। यस्तो लाग्यो सयौ टनको कुनै भारी चिज मेरो टाउकोमा आएर बजारिएको छ र म त्यो भारीको दुखाई संगै उभिन खोज्दैछु।

खुट्टाहरु थरथर कामे।ओठ मुख सुक्यो। चक्कर लाग्यो अनि त्यही जमिनमा ढले।

होस खुल्दा। निदान अस्पतालको ईमर्जेन्सी वाडको ४ नं बेडमा थिए।

आँखा खोल्ने वित्तिकै आमालाई देखे।छेउमा निदान कै डाक्टर पनि हुनुहुन्थ्यो। अनि उहाँ संग मेरो मनोचिकित्सक डा.कल्याणी साह केही कुरागर्दै हुनुहुन्थ्यो।

हेलो सुवास । कस्तो छ अहिले? डा. कल्याणीले सोध्नुभयो।

आमाका हातहरु स्याउ र चक्कु चलाउन तिर लागे।

निदानका डाक्टर म उठेको देखेपछि हिडिसकेका थिए।

ठिकै छु। कति घण्टा वेहोस भएछु? मैले प्रतिप्रश्न गरे डा.कल्याणीलाई।

३ घण्टा मात्र भयो। अब केही बेरमा घर जान सक्छौ।
२ हप्ता देखी मेरो अफिसमा आईरहेको थिएनौ,डर त लागिरहेको थियो। आराम गर्नु, आत्तिनुपर्दैन।

टुक्राटुक्रा पारेर स्याउको पिलेट हातमा थमाईदिएपछि आमालाई डा. कल्याणीले एकछिन है भनेर लानुभयो र केही बेर खासखुस गरेपछि दुवै जना हाँस्दै फर्किनुभयो।

ल अब म जान्छु, भोली अफिस आउनु है भनेर डा.कल्याणी हामीबाट बिदा भईन।

५ बजे तिर रुम आईपुगे। ट्याक्सी बाट ओर्लदै गर्दा यस्तो लाग्दैथियो की जिवन नै फेरीयो र नयाँ जन्मिए म। एकदम नौलो लागिरहेको थियो त्यो माहोल।

यसरी बेहोस हुदा हरेक पल्ट यस्तै हुन्छ मलाई।

****

२०७२ साल वैशाख १२ गते हाम्रो तेस्रो डेटिगं थियो। म आफुलाई पुरा तम्तयार गर्दै थिए आफ्नो मनको कुरा उनलाई भन्न।
१२:३० मा सिभिल मल्लको क्याफेमा भेट्ने योजना थियो।
म ११:१५ मा आफ्नो रुमबाट निस्किएँ।निस्कनु अघि उसलाई कल गरेको थिएँ। उनले पनि आफु निस्किन आँटेको बताईन।

म चढेको टेम्पो ले त्रिपुरेश्वर नाँघेर सुन्धारा तिर दिशा लिंदै थियो। अचानक टेम्पो मा ब्रेक लाग्यो। भुकम्प आयो भन्दै ट्याम्पु चालक रंगाशाला तिर दगुर्नु भयो।

मेरो दिमाग मा भने उनले भर्खरै गरेको मेसेज को झल्को आयो।
“लेखेकी थिईन धरहराको मुनि बसेर आकाश हेर्दैछु छिटो आउनु भुकम्प आएर धरहरा ढलेर मलाई थिच्यो भने भेट नहोला।”
म ट्याम्पुबाट फुत्त हाम फाले र सुन्धार तिर दौडिए।

सास बढेर मुटु नै बाहिर निस्केला जस्तो भाको थियो सुन्धारा चोक पुग्दा।

आँखा र मन एकैपटक भक्कानियो जब धरहरा रहेको स्थान तिर खुला आकास देखिरहेको थियो र मान्छेहरु रुदै कराउदै भागाभाग गरिरहेका थिए।

उभिरहेको जमिन भासिए जस्तो भयो। लाग्यो सहर मा भयानक विष्फोट भएको छ र म मात्र बाँचेको छु।

दौडिएर धरहरा ढलेको स्थान तिर जान खोज्दै थिए, फेरी अर्को पराकम्पन आयो।

आत्तिने/रुने/कराउने मान्छेहरु अघि भन्दा तेब्बर बढे सडकमा ।

च्यातिएको पन्नाबाट

आँशु र पाईलाहरु बराबर चलिरहेका थिए र धरहरा छिर्ने मुल ढोका बाट भित्र गएपछि जब उनको आधा शरीरलाई आधा पुरिएको र आधा बहिर लम्पसार लडीरहेको देखे। म पनि बेहोस भएछु ।

त्यसपछि मलाई मानसिक बिमारीले समात्यो। हस्पिटल बाट डिस्चार्ज भएर घर गएदेखी नियमित मनोचिकित्सक संगको परामर्श मा छु त्यही पनि केही कुरा हरु हुदो रहेछन जिवनमा जसले जिन्दगी अधुरो/अपुरो बनाएर छोड्दिदा रहेछन।

उनी आज पनि मै संग छिन जस्तो लाग्छ। हावा बनेर, वर्षा बनेर मलाई केही न केही बनेर चुमिरहन्छिन जस्तो लाग्छ र म हरेक वर्ष वैशाख बाह्र गते यस्तै भ्रमको सिकार हुदै कहिले कता त कहिले कता उसलाई खोज्दै पुगिरहन्छु।

***
मलाई सिजोफ्रेनिया भन्ने मानसिक बिमारी छ। विगत साँढे ३ वर्ष देखी परामर्श दिईरहनुभएकी डाक्टर कल्याणीका अनुसार।

सिजोफ्रेनिया भएको बखतमा उक्त रोग देखिएको मान्छेमा एउटा भ्रम हुन्छ। असल जिन्दगीमा जे कुरा भईरहेको हुदैन त्यो चिज भईरहेको छ जस्तो लाग्छ र त्यही अनुसार आफ्नो काम गर्दै जान्छ।

घर पुगेपछि आफ्नो मोबाईलको कल लिस्ट चेक गरे, भाईबरको मेसेज हरु अहँ कही कतै हिजो बाट नयाँ आएको कलको लिस्ट र मेसेज थिएन।छक्क परे।

***



Loading...
loading...

Top