logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

नदी र सडकविनाको पुल

काशीराम शर्मा/रासस वि.सं २ भाद्र २०७६, सोमबार १५:४७
Blog single photo

बाँके: नदी छैन, सडक पनि छैन । नदी र सडक नभएको ठाउँमा पक्की पुल भने बनिसकेको छ । पुलमा न गाडी गुड्छन्, न त मानिसको आवतजावत नै हुन्छ । हुलाकी सडक आयोजनाको अभिलेखमा राप्ती नदीमाथि पुल रहेको उल्लेख छ ।

आयोजनाको अभिलेखमा उल्लेख भएजस्तै पुल न राप्ती नदीमाथि छ, न त यो पुल सडकमा नै बनेको छ । रु चार करोड १२ लाख ९० हजार २२५ को लागतमा बनेको पुल प्रयोगविहीन बनेको छ । हचुवाका भरमा पुल निर्माण गर्दा प्रयोगमा आउन नसकेको राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष जनकराम थारुले बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यहाँ पूरै बालुवा छ । राप्ती नदीको बगर क्षेत्र पूरै बालुवायुक्त छ । त्यहाँ वारपार नै पुल बनाउन पहिले नै अध्ययन थालिनुपथ्र्यो । हचुवाका भरमा काम शुरु गर्दा सडकविनाको पुल मात्र बन्न पुगेको छ । सडक कार्यालयको सुझबुझ विनाहतारको निर्णयले फुर्सदमा समस्या देखिएको हो ।”

वडाध्यक्ष थारुका अनुसार राप्ती नदीमा सञ्चालनमा रहेको अर्को पुलसँगै जोडेर एक किलोमिटर लामो पुल निर्माण भए मात्रै समस्या समाधान हुन्छ, त्योबाहेक अरु विकल्प छैन । नेपालगञ्ज–नरैनापुर हुलाकी सडक खण्डको राप्ती नदी किनार नजिकै बनाइएको ५० मिटर लामो पुल प्रयोगमा नआउँदा सवारी साधन कच्ची बाटो हुँदै आवतजावत गर्दै आएका छन् । हुलाकी सडक आयोजना नेपालगञ्जका अनुसार सो स्थानमा करीब एक किलोमिटर लामो पुल निर्माण गर्नुपर्ने अवस्था देखिएपछि सडक निर्माण कार्य रोकिएको हो । पूरै बगर क्षेत्रमा पुल निर्माण गर्नुपर्ने भएपछि सडक निर्माणको काम रोकिएको हुलाकी सडक आयोजना नेपालगञ्ज कार्यालयका इञ्जिनीयर रामसागर हरिजनले बताउनुभयो ।

विसं २०७१ असार २५ मा ठेक्का सम्झौता भएर निर्माण शुरु भई २०७६ जेठ ३० मा सम्पन्न गरिसक्नुपर्ने पुलको निर्माण कार्य प्रगति ७३ प्रतिशत रहेको आयोजनाले जनाएको छ । उहाँले भन्नुभयो, “पहिले बीचमा पुल बनाएर प्रयोग गर्न सकिन्छ कि भन्ने थियो । त्यो सम्भव नभएपछि सडक निर्माण रोकिएको हो ।’

अहिले सडक बनाउँदा लगानी खेर जाने भएपछि निर्माण रोकिएको बताउँदै उहाँले थप एक किलोमिटर क्षेत्रमा पुल निर्माणका लागि अध्ययन भएर डिजाइनको काम भइरहेको जानकारी दिनुभयो । बर्खायाममा राप्ती नदीमा बाढी आउँदा आवतजावतमा समस्या हुँदै आएको फत्तेपुरका स्थानीय रामकुमार चौधरीले बताउनुभयो । “मोटरसाइकल, साइकल र पैदलयात्रुलाई समस्या हुने गरेको छ । बर्खामा राप्ती नदीमा बाढी आएपछि आवतजावत नै ठप्प हुन्छ”, उहाँले भन्नुभयो । पुल प्रयोगमा नआउँदा वैकल्पिक सडकबाटै सवारी साधन आवतजावत गर्दै आएका छन् । वर्षायाममा बाढी आइहाल्यो भने आवतजावतमा समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ ।

अझै डुङ्गाको भर

बाँके राप्तीपारिका धेरै गाउँका मानिस अहिले पनि डुङ्गाकै भरमा राप्ती नदी वारपार गर्दै आएका छन् । राप्ती नदीको एउटा भङ्गालो खल्ला झगडिया हुँदै गङ्गापुरतिर अघि बढेपछि त्यही भङ्गालो वारपार गर्न राप्तीपारिका आधा दर्जन गाउँका स्थानीयवासीलाई दैनिक डुङ्गा चढ्नुपर्ने बाध्यता रहेको डुङ्गा सञ्चालक जगत पालले बताउनुभयो ।

उहाँका अनुसार खल्ला झगडिया गाउँभन्दा २०० मिटर पर नदी किनारमा वारपारिका लागि डुङ्गालाई तयारी अवस्था राख्ने गरिन्छ । खल्ला झगडिया, कुडुवा, पिप्रहवा लगायतका आधा दर्जन गाउँका स्थानीय आफ्ना खेतबारी, आफन्त, हाट बजार गर्न डुङ्गा चढेर जानुपर्ने बाध्यता रहेको पालले बताउनुभयो । भारतीयसँग भाडामा ल्याइएको ठूलो डुङ्गा सावित मौर्यले ठेक्कामा चलाइरहनुभएको छ । डुङ्गाको मासिक भाडा आठ हजार भारतीय रुपैयाँ रहेको छ भने डुङ्गा चालकलाई मासिक रु १० हजार दिने गरिएको छ । स्थानीयवासीले डुङ्गा चढ्नैपर्ने बाध्यता भएकै कारण महङ्गो भाडा तिरेर डुङ्गा चलाउनुपरेको मौर्यको भनाइ छ । तर घाटा भने नरहेको उहाँ बताउनुहुन्छ ।

डुङ्गामा एक जनाको एकतर्फी भाडा रु १० तोकिएको छ । दैनिक करीब रु ६०० सम्म आम्दानी हुने गरेको सञ्चालकको भनाइ छ । तर शुक्रबार राम्रो कमाई हुने गरेको छ । सीमावर्ती भारतीय गाउँ जानकीमा हाट बजार लाग्ने र हाट बजारमा राप्तीपारिका होलिया, बेतहनी र फत्तेपुरका धेरै मानिस जाने भएकाले रु चार हजारसम्म कमाई हुने गरेको सञ्चालक पालको भनाइ छ ।

“शुक्रबार डुङ्गा चलाउन भ्याइनभ्याइ हुने गरेको छ”, उहाँले भन्नुभयो, “भारतमा लाग्ने हाट बजारमा जानेका कारण शुक्रबार साह्रै भीड हुन्छ । शुक्रबारकै कमाइले डुङ्गा चलाएर खर्च धानिएको छ ।” सिधनियाघाटमा पुल बने पनि तटीय क्षेत्रका धेरै गाउँका मानिस अहिले पनि डुङ्गाकै भरमा राप्ती नदी वारपार गर्दै आएका छन् ।




Top