logo
  • Saturday, October 23, 2021
  • वि.सं ६ कार्तिक २०७८, शनिबार

सेनाको गोली लागेर म्यान्मारमा एकैदिन ३८ प्रदर्शनकारीको मृत्यु

स्टिम न्युज वि.सं २० फाल्गुन २०७७, बिहीबार ११:५७
सेनाको गोली लागेर म्यान्मारमा एकैदिन ३८ प्रदर्शनकारीको मृत्यु

Spread the love

काठमाडौँ । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।

म्यान्मारका लागि संयुक्त राष्ट्रसंघका राजदुत क्रिस्टिन स्चार्नेर बर्गेनेरले बुधबारको दिन म्यान्मारमा रक्तपातको दिन भएको टिप्पणी गर्दै ३८ जनाको ज्यान गएको जानकारी दिएकी छन् ।

बिबिसीका अनुसार म्यान्मारको सैनिकले प्रदर्शनकारीहरुलाई अन्धाधुन्ध रबर र बुलेटको गोली चलाएका थिए ।

फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेपछि अहिलेसम्म ५० भन्दा बढी प्रदर्शनकारीको ज्यान गइसकेको राजदुत बर्गेनेरले बताएकी छन् ।

सैनिक नेतृत्वले नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको छ । म्यान्मारमा दश वर्षसम्मको लोकतन्त्रको अनुभवपछि सेनाले पुनः सत्ता कब्जा गरेको हो ।

म्यान्मारमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढ्दो छ र बेलायतले शुक्रबारको बैठकमा राष्ट्रसंघ सुरक्षा परिषदको बैठक पनि डाकेको छ । पश्चिमा मुलुकहरुले म्यान्मारका सैनिक नेतृत्वमाथि प्रतिबन्धहरु घोषणा गरेका छन् ।

म्यान्मारको सबैभन्दा ठूलो शहर याङ्गुनमा पनि प्रदर्शनहरु जारी छन् ।

सैनिकले सत्ता कब्जा गरेपछि आइतबार सबैभन्दा रक्तपातपूर्ण रहेको थियो । राष्ट्रसंघका अनुसार देशका विभिन्न भागमा आइतबार एकै दिन कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

देशका विभिन्न भागमा सुरक्षा फौजले पत्रकारहरु र नागरिक समाजका व्यक्तिहरुलाई पनि धरपकड गरेको छ । अहिलेसम्म १२ सय भन्दा बढीलाई हिरासतमा लिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।



Loading...
loading...

Top
Social Media Auto Publish Powered By : XYZScripts.com