logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

नेपाल कम्युनिष्ट पार्टि (नेकपा)को संगठन व्यवस्थापनका आधारभूत शर्त – मुकुन्द न्यौपाने

वि.सं १२ बैशाख २०७६, बिहीबार १५:४४
Blog single photo

नेपाल कम्युनिष्ट पार्टि (नेकपा)को संगठन व्यवस्थापनका आधारभूत शर्त – मुकुन्द न्यौपाने

नेपाल कम्युनिष्ट पार्टीको सुरूवाति चरण झापा आन्दोलनका सम्बाहक मुकुन्द न्यौपाने कम्युनिष्ट पार्टिका संस्थापक नेता हुनुहुन्छ । राजनीतिकै क्रममा २०२८ सालमा भुमिगत जीवन विताउनु भएका न्यौपाने हाल नेकपा का स्थायी कमिटी सदस्य हुनुहुन्छ ।

बहुदलीय  व्यवस्था  स्थापनामा अहोरात्र खट्नुभएका न्यौपाने २०४६ मा बहुदलको स्थापना भए सँगै खुला राजनीतिमा आउनु भएको हो । परिवारमा साँइलो छोराको रूपमा जन्मिनु भएको उहाँको मार्गदर्शन लाइ पछ्याउँदै उहाँको कान्छो भाइ केदार न्यौपाने पनि कम्युनिष्ट राजनीतिमा होमीनु भएको थियो । हाल दुवै जना नेकपाको सक्रिय राजनीतिको प्रमुख भुमीकामा हुनुहुन्छ।

नेपालको बहुदलिय इतिहासमा सबैभन्दा चर्चित कालखण्ड मनमोहन अधिकारीको ९ महिने सरकारको पालामा श्रम मन्त्रीको जिम्मेवारी निर्वाह गर्नु भएका न्यौपाने नेपाली साहीत्यमा पनि उत्तिकै दखल राख्नु हुन्छ । उदय शर्माको छद्म नामबाट उहाँ नेपाली साहित्यमा कलम चलाउदै आउनु भएको छ ।

प्रस्तुत छ संगठन व्यवस्थापनका आधारभूत कुराहरूको विषयमा रहेर स्टिम न्युजसँग मुकुन्द न्यौपानेले गर्नु भएको कुराकानीको सम्पादीत अंश ।

सुदृढ र वैचारिक रुपले स्पष्ट पार्टी निर्माण बिना सामाजिक रुपान्तरणका कुरा केवल बनावटी मात्र हुन्छन् । मुलुकमा परिवर्तन र समाजमा रुपान्तरणको कामलाई अगाडि बढाउने हो भने पार्टीले स्पष्ट दिशा बोध भएको चुस्त, फूर्तिला र ज्ञानयुक्त विवेक बोकेका युवापंक्ति तयार गर्नुपर्छ ।

परिवर्तनको आन्दोलनलाई जनताको जीवन समृद्धिको उचाईमा पुर्याउने हो भने पार्टीले जनताको इच्छा, आवश्यकता र भावनालाई आत्मसात् गर्न सक्नुपर्छ र त्यस अनुरुप आफ्नो संगठनलाई परिचालन गर्न सक्नुपर्छ । आफ्नो इच्छा पूरा गर्न जनतालाई उपयोग गर्ने आजको आचरणबाट दलको नेतृत्व मुक्त हुनुपर्छ ।

शुद्धिकरण भनेको विचार, व्यवहार, संगठन र आचारणको शुद्धिकरण हो । सुदृढिकरण भनेको माथिका चार कुरामा तलदेखि माथिसम्मका सम्पूर्ण कमिटिहरुलाई जोड्नु, सम्पूर्ण पार्टी सदस्यलाई कमिटिमा एकाकार गर्नु र कमिटिमा आबद्ध कार्यकर्तालाई जनतासँगको घनिष्ट सम्बन्धमा जोड्नु हो ।

शुद्धिकरण र सुदृढिकरण एक अर्कासित गाँसिएका अन्योन्याश्रित विषय हुन् । एउटाको अभावमा अर्को अपूरै रहन्छन् । नेकपा भित्र लामो समयदेखि विचारको व्यवस्थापन, संगठनको व्यवस्थापन र कार्यशैलिको व्यवस्थापनमा गम्भीर समस्याहरु देखा परेका छन् ।

छैठौं महाधिवेशनको तयारीकालदेखि उत्पन्न यी समस्याले अनेकौं उतारचढाव, फुट र विखण्डन, आन्तरिक, गुटबन्दि, आपसी खिचातानी, चरम मनमुटाव र अविस्वासको अवस्था पार्टीभित्र बढाइदिएका छन् । पार्टीभित्र रहेका यी समस्याको निराकरण गर्न हामीले विचार निर्माण, संगठन निर्माण र कार्यशैलिमा देखिएका गलत प्रवृत्तिको क्षेत्रमा निराकरण नगरी गर्न सक्दैनौं ।

२०४६–४७ साल अगाडी हामीसँग परिवर्तनको एजेण्डा प्रधान थियो । त्यसको लागी वैचारिक बहस, संगठन निर्माण र परिचालन कार्यकर्ताको प्रशिक्षण र कार्यशैलिमा निरन्तर छलफल बहसहरु हुन्थे । देश र जनताको लागी त्याग गर्ने कुरा चिन्तनको केन्द्र भागमा हुन्थ्यो । एकले अर्कोलाई माया गर, एकले अर्को लाई ख्याल गर र एकले अर्कोलाई मदत गर – वास्तवमा त्यसबेलाको कार्यशैलीको आधारभूत नमुना नै यस्तो हुने गर्दथ्यो ।

२०४६ सालको जनआन्दोलनले ल्याएको परिवर्तनले हाम्रा सामु संसद र संसदिय व्यवस्थाको स्थापना भयो । हाम्रो पार्टी २०४८ को निर्वाचनपछि नेता कार्यकर्ताको ठूलै पंक्तिका साथ संसदभित्र उपस्थित भयो । २०४६–४७ को परिवर्तनले हाम्रा सामु विचार, संगठन र कार्यशैलिको एजेण्डाका अलवा लाभका अवसरहरुको वितरण र व्यवस्थापनको एजेण्डासमेत थपि दियो । पछिल्लो कालमा आएर क्रमशः यो एजेण्डा नै हावी हुँदै गयो ।

एउटा भनाइ छ आफ्नो दलानमा थुप्रिएको फोहोर सफा गर्न नसक्नेले अर्काको आँगनमा रहेको कंसिगरतर्फ औला उठाउनुको कुनै औचित्य रहँदैन । विचार नै हरेक नतिजाको जननी हो । आज हाम्रो विचार गर्ने तरिका नै गन्जागोल भएको छ । कसको बारेमा सोच्ने र के परिणाम निकाल्न सोच्ने हो?

कमरेड मदन भण्डारीको मृत्युपछि खासगरी एमाले सरकारमा प्रवेश गरेपछि लाभ प्राप्तिको एजेण्डाले प्राथमिकता ग्रहण गर्दै गयो र परिवर्तनको एजेण्डा ओझेलमा पर्दै गयो । प्राप्ति कि परिवर्तन? कम्युनिष्ट भित्रको आजको झगडाको मुल जरो भनेको यही नै हो । हाम्रो मस्तिष्कको चिन्तनको केन्द्रभागमा प्राप्तिको एजेण्डा प्रधान बन्दै गएका कारण हामी आफ्ना गल्ती कमजोरीलाई पटक्कै नदेख्ने, अर्काको कमजोरी मात्र खोजी हिड्ने, आफ्ना कमजोरी, गल्ती र अपराधहरुको ढाकछोप गर्न अनेक तानाबाना बुन्ने शैलीतर्फ उन्मुख छौं ।

एउटा भनाइ छ आफ्नो दलानमा थुप्रिएको फोहोर सफा गर्न नसक्नेले अर्काको आँगनमा रहेको कंसिगरतर्फ औला उठाउनुको कुनै औचित्य रहँदैन । विचार नै हरेक नतिजाको जननी हो । आज हाम्रो विचार गर्ने तरिका नै गन्जागोल भएको छ । कसको बारेमा सोच्ने र के परिणाम निकाल्न सोच्ने हो? तपाई जस्तो विचार मस्तिष्कमा रोप्नु हुन्छ, त्यस्तै व्यवहार उमार्नु हुन्छ र जस्तो व्यवहार उमार्नु हुन्छ, त्यस्तै फल प्राप्त गर्नु हुन्छ ।

फल भनेको कर्मको परिणाम हो । जस्तो कर्म गरिन्छ, निरन्तरको कर्मले त्यस्तै बानी उमार्छ र हरेकको बानीले चरित्र निर्माण गर्छ, चरित्र संस्कारमा स्थापित हुन्छ । आज एमाले भित्रको पहिलो काम विचारको व्यवस्थापन हो । पार्टीभित्र हुर्केको बानी, आदत शालिन, अध्ययनशील, सत्य कुरा बोल्ने, निष्ठावानहरुलाई पाखा लाउँदै जाने, पैसा र पद प्राप्तिको लागी झुठ्ठा तानाबाना बुनेर गलत सूचना प्रवाह गर्ने चाप्लुसबाजहरुको बहकावमा नेतृत्व फस्दै जाने अवस्थाबाट पार्टीलाई मुक्त गर्नैपर्छ ।

नेतृत्वको यस्तो संस्कार रुपान्तरण नभई सिङ्गो पार्टीको कार्यशैलीमा रुपान्तरण हुन सक्दैन । भनाई नै छ पानी र बानी माथिबाट तलतिर बग्छन् । तल देखिएका विचार र कार्यशैलीका समस्याहरु माथिबाटै तल पुगेका सरुवा रोगका लक्षण हुन् । पार्टी भनेको लाखौं मान्छेको भरोसाको कार्य थलो, चिन्तनको केन्द्रविन्दु र सुरक्षाको ओत लाग्ने तथा भर पर्ने महल पनि हो ।

मार्क्सवादी पार्टीका कार्यकर्ताले बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने चिन्तनको केन्द्र भाग मस्तिष्कमा जे कुरा स्थापित हुन्छ, त्यही कुरा व्यवहारमा प्रकट हुन्छ । जनता र राष्ट्रको सेवाभाव चिन्तनको केन्द्रभागमा भए व्यवहारमा त्यही देखिन्छ । पद र पैसा केन्द्रभागमा भए पद र पैसाकै कुरा मात्र आउँछ । त्यागको कुरा भए त्यागको र भोगको कुरा भए भोगको कुरा नै हुन्छ । कार्यकर्ताले नेताको पहिचान गर्ने र नेताले कार्यकर्ताको परिक्षण गर्ने यो भन्दा अर्को गतिलो विधि छँदैछैन ।

हामी के खान्छौं, कहाँ जान्छौं, कसरी बोल्छौं, अरुका कुरा कसरी सुन्छौं, अरुका बारेमा कसरी सोच्दछौं र आफ्नो बारेमा कसरी सोच्दछौं? यिनै कुरा हुन्, जसले हाम्रो जीवनशैली र विचारशैलीको स्पष्ट परिचय गराउँछन् ।

कार्यशैलीको रुपान्तरणबिना संगठन सुदृढ र व्यवस्थीत हुँदैन । कार्यशैली भनेको विचार, सिद्धान्त र जीवनलाई जोड्ने पुल हो । पुल नै धरापमा छ भने त्यहाँबाट वरपर गर्ने मान्छेको जीवन स्वतः धरापमा परेको हुन्छ । सही कार्यशैली र विचारशैली स्थापित नभएको पार्टीमा एकता भन्ने कुरा पनि देखावटी मात्रै हुन्छ ।

कार्यकर्ता सँगै हिड्छन्, एउटै बैठकमा बस्छन्, एउटै हलमा र एउटै कार्यक्रममा जम्मा हुन्छन् । तर उनीहरुको चिन्तन र मन भने अलग अलग दिशातिर कुदि रहेको हुन्छ । एकजना धन डुब्ला कि भन्ने चिन्तामा डुबिरहेको हुन्छ, अर्कोचाहिँ मान गुम्ला कि भन्ने चिन्तामा र अर्को पद गुम्ला कि भन्ने चिन्तामा रहेको हुन्छ । अर्को लगानीको सेयर खुल्ला कि भन्ने चिन्तामा परेको हुन्छ । यहाँ देश र जनताको चिन्ता नै नेतृत्वको मस्तिष्कको केन्द्र भागमा भेटिन्न ।

नेता घण्टौ देखि भाषण फलाकिरहन्छ, कार्यकर्ताको ध्यान भनें आफ्नै विषयतिर हुन्छ र गफ गर्नेले गरिरहेकै हुन्छन् । काने खुशी चलिरहेको छ, न नेताले कार्यकर्ताको मनको कुरा बुझ्छ, न त कार्यकर्ताले नेताको भाषणको सार नै पक्रन ध्यान दिन्छ । सभा सकिन्छ, नेता गजब बोलें, लामो भाषण गरें भनेर मख्ख पर्छ, तर दुवै जस्ताको तस्तै पूर्वतत् आ–आफ्नो गन्तव्यतिर लाग्छन् ।

परिणामको ख्याल गर्दा हामीले हाम्रो सोचको धरातलबाट हेर्न सुरु गर्नुपर्छ । सकारात्मक सोचको विकास कसरी गर्ने? सकारात्मक सोच भए सकारात्मक परिणाम निस्कन्छ र सिर्जनाको फूल फुल्छ । नकारात्मक सोच भए नकारात्मक परिणाम निस्कन्छ, बिग्रन्छ र भत्कन्छ ।

के काम गर्ने र के परिणाम निकाल्न गर्ने? के बोल्ने? किन बोल्ने? आफूले बोलेका शब्द र वाक्यले के परिणाम निकाल्छन्? बोल्नु अघि र काम गर्नुअघि नेताले विवेकी सल्लाहकारसँग राय लिनुपर्छ । विवेकी र शालिन सच्चाइमा अडिएका मानिसको सल्लाह लत्याउने निजीस्वार्थ बोकेर घुम्ने चाप्लुस सल्लाहकारको सल्लाहमा हिड्ने नेताको प्रतिष्ठा बेलुकाको सूर्य डुबेझैं एक क्षणमा डुब्छ । आज पार्टी जुन अवस्थामा छ, वैचारिक अस्तव्यस्तता, साँगठनिक अव्यवस्था, कार्यशैलीमा अस्वस्थता र अनुशासनहीनता जो नियन्त्रण भन्दा बाहिर जस्तै भएका छन् ।

पार्टी संगठनदेखि जनसंगठनसम्म अस्वस्थ गुटबन्दी फैलिएको छ । जालझेल, षडयन्त्र, छलछाम र कोठे बैठक संस्थालाई बाइपास गरेर आफ्नो हितका निजी योजना लागु गराउन प्रयत्न गर्ने जस्ता तल्लो स्तरका निम्न पूँजीवादी चिन्तन शैली हरेक तहमा हावी भएको स्थिति विद्यमान छ ।

एउटा मार्क्सवादी–लेनिनवादी पार्टीभित्र हुर्किरहेको यो निकम्मा कार्यशैलीलाई समाप्त गर्न प्रयत्न गर्ने कि नगर्ने? वर्तमान नेतृत्व यसबारे कति सजग छ, कति चिन्तित छ र यसको अन्त्य र रुपान्तरणका लागी उससँग के एजेण्डा छ? नेताको पहिचानको मूल सूत्र वा कडी नै यही हो ।

पार्टीलाई संस्थागत कसरी गर्ने? कार्यकर्तालाई संगठनका विधि, कार्यशैली र पद्धति एवम् प्रणालीबारे कसरी प्रशिक्षित गर्ने र व्यवहारमै पार्टीप्रति प्रतिबद्ध, जनताप्रति समर्पित, देशप्रति बफादार पंक्ति कसरी निर्माण गर्ने? आजका नेताहरुको चिन्तनको केन्द्रभागमा हुनुपर्ने विषय यो हो ।

माथिका कामहरु राष्ट्र निर्माण र जनताको कल्याणको लागी नगरी नहुने आधारभूत कामहरु हुन् । विचार र संगठन निर्माणको विधि सम्बन्धी ज्ञान नभएका अज्ञान कार्यकर्ता बोकेर न राष्ट्रलाई एकजुट गर्न सकिन्छ, न त जनतालाई समुन्नत बनाउन नै सकिन्छ ।

विचार र दर्शनको धारलाई भुत्ते पारेर तथा परिवर्तनको धारबाट अलग्गिएर मार्सका दुईचार किताबका सन्दर्भ र उक्ति अघि सारेर शास्त्रीय आख्यान पिलाउँदै हिड्नु भनेको पिंध नभएको बाल्टिन इनारमा डुबाएर पानी तान्नु जस्तै हो । जति पल्ट डुबाए पनि पानीको सतहमाथि बाल्टिन खालिको खालिनै आएको हुन्छ । आज कम्युनिष्टले नेतृत्वपंक्तिका कतिपय साथीहरु र तलका धेरै कमिटि र कार्यकर्ताको हालत यस्तै भएको छ । जति पाए पनि नपुग्ने, जति खाए पनि नअधाउने र जति भरे पनि नभरिने ।

लोभ बढेको बढैछ, पद खोजेको खोजैछ, साँसद दिए भोलिपल्टदेखि मन्त्री खोज्छ, मन्त्री पाए गृहमन्त्री नै खोज्छ । प्रधानमन्त्री भए पनि उसको तृष्णा मेटिदैन । शरीर जीर्ण हुन लाग्यो, तर उसको तृष्णा तन्नेरी नै छ । ऊ तृष्णाको त्यान्द्रोले बाँधिएको छ, त्यतै तानिएको छ र पशुजस्तो पासोमा परेको छ । त्यहाँबाट छुटकारा पाउन सक्दैन र पाउन पनि चाहँदैन ।
आज यस्तो अवस्थाको सिर्जना किन भयो? माथिल्लो तहमा चिन्तनको केन्द्रभागमा कुर्सी छ र त्यो प्राप्त गर्नको लागी धन चाहिएको छ ।

उच्च विचार र सादा जीवनको विगत लामो कालको शिक्षा दिमागको संग्रहालयको कुन कुनामा पुगेको छ? थाहा छैन । हिजोको विचारको उचाई आज कुर्सीको उचाईको बराबरमा सिमित छ । न उसको दिमागले यो अनन्त उचाइको ब्रह्माण्डतर्फ ध्यान दिन सक्छ, न त आफ्नै घरको छतमाथि चम्किरहेको पूर्णिमाको जुनतिर । न यो जगत र यसका बासिन्दाका महान प्रतिभाशाली मानवतिर नै । ऊ केवल कुर्सी हेर्छ । आफ्नो कुर्सी कति अग्लो छ? अरुको भन्दा अग्लो कुर्सीको यही चाहनाले गर्दा ऊ ब्रह्माण्डबाट बाउन्नेमा खेसेको छ ।




Top