logo
  • Tuesday, September 17, 2019
  • वि.सं ३१ भाद्र २०७६, मंगलवार

उत्तरप्रदेश राज्यकी पूर्वमुख्यमन्त्री मायावतीले यस कारण गरिन् नेपाली राजदूतको प्रशंसा

वि.सं २६ जेष्ठ २०७६, आईतवार १३:१०
Blog single photo

उत्तरप्रदेश राज्यकी पूर्वमुख्यमन्त्री मायावतीले यस कारण गरिन् नेपाली राजदूतको प्रशंसा

जेष्ठ २६,काठमाडौं । राजदूत नीलाम्बर आचार्यबाट व्यक्त धारणालाई लिएर उत्तरप्रदेश राज्यकी पूर्वमुख्यमन्त्री तथा बहुजन समाज पार्टी (बसपा) की प्रमुख मायावतीले उनको प्रशंसा गरेकी छन् ।

भारतीय अंग्रेजी दैनिक ‘द टाइम्स अफ इन्डिया’सँगको कुराकानीमा सार्कबारे नेपालका राजदूत नीलाम्बर आचार्यबाट व्यक्त धारणाको उनले प्रशंसा गरेकी हुन् ।

राजदूत आचार्यले भारतीय अंग्रेजी दैनिक द टाइम्स अफ इन्डियासँगको कुराकानीमा ‘बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक), दक्षिण एसियाली राष्ट्रहरूको सहयोग संगठन (सार्क) को विकल्प हुन सक्दैन’ भन्ने अभिव्यक्ति दिएका थिए ।

राजदूत आचार्यको उक्त अभिव्यक्तिमा समर्थन जनाउदै मायावतीले आचार्यको उक्त धारणा समझदार धारणा भएको बताएकी छन् ।

आफ्नो ट्वीटमा मायावतीले लेखेकी छन् ”छिमेकी संग झगडा गरेर कोही खुसि रहन सक्दैन, यसको उदाहरण पाकिस्तान छ जसको छिमेकी देशहरू संग राम्रो सम्बन्ध छैन र उ बर्बाद हुँदैछ ।

वर्तमान अध्यक्षका हैसियतले नेपालले विगत तीन वर्षदेखि निष्क्रिय प्रायः रहेको सार्कलाई गतिशील बनाउनुपर्नेमा जोड दिँदै आएको भएपनि भारत र पाकिस्तानबीचको तिक्ततापूर्ण सम्बन्धका कारण नेपालको उक्त प्रयास निरर्थक बनेको छ ।

राजदूत आचार्यको पछिल्लो भनाइलाई यसैको कडीको रूपमा लिइएको छ ।

राजदूत आचार्यले बिमस्टेक दक्षिणपूर्वी एसियासँगको सम्बन्ध स्थापित गर्न राम्रो माध्यम हुन सक्छ तर सार्कको मूल्यमा त्यसलाई प्रवर्द्धन गर्न नहुने पनि बताएका छन् ।

सार्कका आफ्नै निश्चित र निर्दिष्ट उद्देश्यहरू छन् । यो क्षेत्रको तीव्रतर विकासका लागि पनि यसको महत्त्व छ । सार्क भनेको दक्षिण एसियाली संस्कृति, पहिचान, समानतासहितको विविधता पनि हो,’ उनले भनेका थिए ।

सन् २०१४ को मोदीको शपथ ग्रहण समारोहमा मा सार्क राष्ट्रलाई निम्तो गरिएकोमा दोस्रो कार्यकालको शपथ ग्रहण समारोहमा भने सार्क सदस्य राष्ट्रलाई निम्तो नदिएर बिमस्टेक सदस्य राष्ट्र र किर्गिस्तान तथा मोरिससका सरकार प्रमुखलाई बोलाइएको थियो ।

यसलाई भारतले सार्कलाई उपेक्षा गरेको र बिमस्टेकलाई प्राथमिकतामा राख्न चाहेको संकेतको रूपमा हेरिएको छ ।

यसरी सार्क संग भारत टाढिन खोज्नुको प्रमुख कारण भारत पाकिस्तान सम्बन्ध रहेको विश्लेषण गरिन्छ ।

यधपी भारतले भने उक्त निर्णयलाई आफ्नो ‘छिमेक पहिले’ र ‘लुक इस्ट पोलिसी’को निरन्तरता मात्र भएको दावी गर्दै आएको छ ।




Top