logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

मनोसामाजिक परामर्श र शिक्षामा यसको उपयोगिता | रमाकान्त सापकोटा

वि.सं १३ श्रावण २०७६, सोमबार ०९:३०
Blog single photo

मनोसामाजिक परामर्श र शिक्षामा यसको उपयोगिता | रमाकान्त सापकोटा

१. मन र मनोविज्ञान
१.१ मन आन्तरिक इन्द्रिय हो, जो ज्ञानेन्द्रियबाट प्राप्त सूचनाका आधारमा प्रभावित हुन्छ । भावना, चाहना, स्वभाव, अनुभव, आवश्यकताको अनुभूति, विश्वास, संवेगात्मक अवस्थाको सयुँक्त रुप मन हो । मन कच्चा पदार्थजस्तो हुन्छ, जसलाई प्रशोधनको आवश्यकता हुन्छ । यसर्थ मन राम्रो पनि हुन्छ र नराम्रो पनि हुन सक्छ । त्यसैले त मनोवैज्ञानिक फ्रायडले मानव मनलाई चेतन (Conscious), पूर्व चेतन (Pre-Conscious) र अचेतन (Unconscious) गरी तीन भागमा बाँडिदिएका छन् । विना विश्लेषण आनन्द र खुसीको मात्रै चाहना राख्ने मन अचेतन मन हो । यो इद (Id) प्रकृतिको र जन्मजात हुन्छ । आफ्ना हठात् चाहनाको छिटो सन्तुष्टि प्राप्त गर्नु यसको विशेषता हो । यो विशेषता तमोगुणी मानिन्छ । पूर्व चेतन मनले चाहना र वास्तविक अवस्थाको बीचको चिन्तनलाई प्रेरित गर्छ । यथार्थ, सन्तुलित र स्वीकारयोग्य चाहनाहरुमा अडिने मन पूर्वचेतन मन हो । यो अहम् (Ego) मा आधारित र रजोगुणी हुन्छ । चेतन मन (Conscious) ज्ञान, सूचना, मूल्य, मान्यता, नैतिकता र आदर्शको सेरोफेरोमा सीमित हुन्छ । पूर्ण सचेत अवस्था हो यो, जसलाई उच्च अहम् (Superego) को अवस्था पनि भनिन्छ । यसलाई सतोगुणी अवस्था पनि भनिन्छ । मन र मस्तिष्कका स्रोतहरु ज्ञानेन्द्रिय नै भएकोले फ्रायडले अचेतन, पूर्वचेतन र चेतन मनलाई अचेतन,पूर्वचेतन र चेतन मस्तिष्क पनि भनेका छन् । मनोविज्ञानका भाषामा मन, मष्तिस्क र चेतना यी क्रमशः परिमार्जन हुदैँ प्रयोग भएका शब्दावली हुन् र त्यहाँबाट उत्पादित व्यवहार मात्रै अध्ययन गर्न सकिन्छ ।

१.२ एउटा बोटको जीवनचक्रलाई हेर्ने हो भने – बीजबाट बेर्ना बन्दछ, बेर्नावाट बोट अर्थात् रुख बन्दछ । यही क्रममा उचाइ, तौल आदि मात्रात्मक परिवर्तन हुन्छ र छहारी दिने, फूल्ने, वास्ना दिने, आकर्षित गर्ने गुणहरु देखा पर्न थाल्दछन् । मानव जीवनमा पनि यस्तै प्रक्रिया पूरा भएको हुन्छ । मानव जीवनको मात्रात्मक एवम् गुणात्मक विशेषताहरुको अध्ययन विश्लेषण गरी भविष्यवाणी गर्ने तथा दिशा निर्देशन गर्ने काम मनोविज्ञानले गर्दछ । मनोविज्ञानलाई सिक्ने र सिक्न सहयोग पुर्याउने बीचको व्यवहार अध्ययन गर्ने विज्ञान पनि भनिन्छ । सिकाइ, शिक्षक, विद्यार्थी, कक्षाकोठाको वातावरण बीचको यान्त्रिक सम्बन्ध मात्रै होइन, शिक्षक, अभिभावक, विद्यार्थी र अन्य वातावरणीय उद्दीपक बीचको भावनात्मक सम्बन्धबाट मात्रै व्यवहारमा परिमार्जन गर्न सकिन्छ । यहि परिवर्तन नै सिकाइ हो । यही कुराको सन्तुलन मिलाउने काम मनोविज्ञानले गर्दछ ।

२. मनोसामाजिक परामर्शको अर्थः
२.१ मनोसामाजिक सम्बन्धः एकातिर आधारभूत आवश्यकताका आधारमा व्यक्तिका आफ्ना प्रारम्भिक चाहना हुन्छन् । उसका भावना, धारणा, निजी बुझाइ हुन्छन् । अर्कोतिर सामाजिक शैक्षिक संघ संस्थाहरुमा, समुदायमा औपचारिक, अनौपचारिक नियम प्रचलनहरु हुन्छन् । व्यक्ति र समाजबीचको यो दुई पक्षीय तथा बहुपक्षीय सम्बन्ध सामाजिक सम्बन्ध हो । सामाजिकीकरणको आधार पनि यही हो । व्यक्ति र समाज बीचको यो सम्बन्धलाई मनोसामाजिक सम्बन्ध भनिन्छ । जसलाई बुझ्न सजिलोको लागि यसरी प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ ।

मन सम्बन्ध वातावरण

२.२ मनोसामाजिक परामर्शको अर्थः व्यक्तिको मन मष्तिस्क र भौतिक, सामाजिक वातावरण बीचको सम्बन्ध राम्रो भएन भने बालक वा व्यक्तिको सामाजिकीकरणमा नकारात्मक प्रभाव पर्छ र सामाजिक समस्या उत्पन्न हुन्छ । मनोसामाजिक समस्याको कारणको खोजी गर्नु मनोसामाजिक विमर्श हो । रोगको पहिचान नभएसम्म उपचार सम्भव नभए जस्तै मनोसामाजिक समस्याको पहिचान बिना परामर्शको चरणमा प्रवेश गर्न सकिँदैन । समस्यामा परेको व्यक्तिलाई सम्मानपूर्वक व्यवहार गर्दै सकारात्मक धारणा निर्माणमा मद्दत गर्ने, समस्या जटिल हुन नदिन सजग बनाउने, निराश हुनवाट बचाउने, निर्णय गर्न सहज पारिदिने, ऊ भित्रका क्षमताहरुलाई प्रशंसा गर्दै परिचालन गर्ने, आत्मविश्वास वढाउँदै परिस्थितीसँग समायोजित हुन सक्ने र सामना गर्न सक्ने बनाउनु नै परामर्श सेवा हो । परामर्श सेवा अत्यन्तै मनोवैज्ञानिक काम हो र तत्सम्बन्धी सीप भएको विज्ञबाट मात्र सम्भव हुन्छ । परामर्श लिन चाहनेलाई मात्र प्रदान गरिने सेवा हो । व्यक्तिको इच्छा विपरीत परामर्श सफल हुन सक्दैन ।

३. मनोसामाजिक परामर्शको लागि मनोसामाजिक विश्लेषणः

मानिस स्वभावतः असल हुन्छ कि खराव हुन्छ ? असल वा खराब किन हुन्छ ? यी प्रश्नहरुबारे मनोविज्ञानमा चारवटा विचारहरु रहेका छन् ।

३.१ वाट्सन, स्किनरजस्ता मनोवैज्ञानिकहरुको विचारमा मानिस यन्त्रवत् प्राणी हो । ऊ स्वभावत ः न असल न खराव नै हुन्छ । उसलाई असल वा खराव बनाउने काम समाज, उसको परिवेश तथा वातावरणले गर्छ ।

३.२ सिग्मड फ्रायडजस्ता मनोविश्लेषकहरुका अनुसार मानव व्यवहार दुई किसिमका परस्पर विरोधी शक्तिबाट सञ्चालन भएको हुन्छ । मानिस बाँच्न र आफ्नो तीव्र चाहना पूरा गर्न जस्तोसुकै काम गर्न पनि तयार हुन्छ । ऊ मर्न र मार्नसम्म पनि तयार हुन्छ । यसकारण मानिसमा मानव र दानव दुवै गुणहरु हुन्छन् । उसमा कहिले मानवीय गुण र कहिले दानवीय गुण देखा पर्न सक्छ । एउटा मानिस सधैँ राम्रो र सधैँ नराम्रो हुन सक्तैन ।

३.३ अब्राहम मास्लो जस्ता मानवतावादी मनोविज्ञको विचारमा मानिस स्वतन्त्र, सिर्जनशिल र शक्तिमान प्राणी हो । आधारभूत आवश्यकताहरु पुरा गर्दै जाँदा ऊ एक जिम्मेवार व्यक्ति बन्दछ । आफ्नो शक्तिको अनुभूति गर्दैै पूर्ण अनुभूतितिर विकसित भइरहेको हुन्छ ।

३.४ जर्जकेली, जीन पियाजेजस्ता सुप्रसिद्ध मनोवैज्ञानिकहरुले हालैका केही दशकमा सज्ञानवादी नयाँ विचारधारा प्रतिपादन गरेका छन् । यो मनोवैज्ञानिक विचार अनुसार कुनै पनि वस्तुको स्वतन्त्र अस्तित्व हुदैँन । मानिस पनि समयसापेक्ष नै हुन्छ । परिवेशको परिवर्तनले मानव दानवमा र दानव मानवमा परिणत हुन सक्छ ।

४. नेपाली समाजमा देख्न सकिने मनोसामाजिक समस्याहरु र स्रोतहरुः

४.१ विगत दुई दशकदेखि नेपाली समाजमा द्वन्द्व व्यवस्थापन ज्यादै असहज देखिँदै आयो । द्वन्द्वहरु शत्रुतामा र बदलाको भावनामा रुपान्तरित पनि भए । गरिब र धनीबीचको खाडल पनि तीव्र रुपमा बढ्दै छ । एकातिर विज्ञान प्रविधिको विकास सँगसँगै उपभोग्य वस्तुको विकासमा तीव्रता छ भने अर्कोतर्फ पहुँचमा अर्थात् उपभोग क्षमतामा खाडल छ । जोसँग सिर्जना छ, श्रम गर्छ ऊसँग धन छैन, जोसँग धन छ, उसले श्रम गर्दैैन । असल मानिस बन्नेभन्दा शक्तिशाली मानिस बन्ने होड छ सबैमा । यस्तो अवस्थामा समाजका युवा, बालक, वयस्क सबैमा मनोसामाजिक समस्याको बिउ रोपिन्छ ।

४.२ आशा, विश्वास र सपना हराएको मानिस या त विद्रोही हुन्छ या निराशा, कुण्ठा र तनावमा बाँचिरहेको हुन्छ । नेपालको राजनैतिक, आर्थिक, सामाजिक तथा प्राकृतिक विपद जस्ता अवस्थाले मानिसमा निराशा, विद्रोह र तनाव उत्पादन गरिरहेको देखिन्छ । यस्तो समाजमा मनोसामाजिक समस्या पैदा हुने गर्छ ।

४.३ बढ्दो पुस्तान्तर (Generation Gap) अहिलेको समाजमा ठूलो मुद्धा बनेर आएको देखिन्छ । पुराना पुस्ताले नयाँ पुस्तामाथि धेरै भरोसा गरेको स्थिती छैन । नयाँ पुस्ताले पुरानो पुस्तालाई आदर गरेको, उसका आदर्शलाई पछ्याएको अवस्था छैन । यसले पनि सामाजिक सन्तुलनमा समस्या पैदा भएको छ ।

४.४ बेरोजगारीका कारणले झण्डै ३० लाख जनसङ्ख्या विदेशिएको अवस्था छ । यो परिदृष्यबाट रेमिटान्स थुप्रै भित्रिएको छ तर त्यसको प्रयोग विकासको लागि भएको छ या विनाशको लागि ? प्रश्न उब्जेका छन् । रेमिटान्ससँग थुप्रै विकृति पनि भित्रिएका छन् । कैयौँ परिवारको विछोड भएको छ । मनोसामाजिक समस्याको श्रोत बनेको छ ।

४.५ ०७२ वैशाख १२ गते पछि भुकम्पले पैदा गरेको त्रासदीले मनोसामाजिक समस्या पैदा भएको छ ।
माथि जे चर्चा गरियो ती मनोसामाजिक समस्या पैदा हुने केही उदाहरणहरु मात्रै हुन । देश, समय, परिस्थितीअनुसार यस्ता कारण र श्रोतहरु नयाँ नयाँ ढङ्गले प्रकट भइरहन्छन् ।

५. शैक्षिक क्षेत्रमा मनोसामाजिक समस्याः

५.१ विद्यार्थी, परिवार, शिक्षक, पाठ्यक्रम, पाठ्यसामाग्री विद्यालय व्यवस्थापन, औपचारिक तथा अनौपचारिक प्रावधानहरु-नियमहरु, अर्थ राजनीतिक अवस्था आदि सबैको सयुँक्त रुप शिक्षा पद्धति हो । शिक्षा प्रणाली सामाजिक प्रणाली हो । यो प्रणालीमा नव आगन्तुकको रुपमा आएको बालक प्रशस्त क्षमताका साथ आएको हुन्छ । बालक रित्तो भाँडो जस्तो हो, त्यस्तै काँचो माटो जस्तो हो भन्ने परम्परागत भनाइ आजभोलि सान्दर्भिक मानिदैँन । बरु ऊ राम्रो विरुवा हो । फक्रिने, फुल्ने र आकर्षण गर्ने थुप्रै्र क्षमता उसमा रहेका छन् । परिवार, समाज, शिक्षालयमा रहेका मानिसले मालिको काम गरिदिने हो । यो भूमिका कमजोर हुँदा बालबालिकामा मनोसामाजिक समस्या पैदा हुन्छ ।

५.२ सबैले भोगेको, मानेको र जोन डिवे (John Diway) लगायत प्रसिद्ध शिक्षाविद्हरुले प्रचार गरिदिएको कुरा के हो भने शिक्षालय आफैँ एउटा समाज हो । समाजमा देखिने परिघटनाहरु यसभित्रै देखिन्छन् । शिक्षालयमा सवै प्रकृतिका मनोसामाजिक समस्याहरु प्रवेश गरेका हुन्छन् ।

५.३ एउटा बालकको शैक्षणिक उपलब्धिमा उसको प्रतिभा, शिक्षकको दक्षता तथा परिवेशको झण्डै बराबर स्वामित्व हुन्छ । बालकको क्षमता निर्माण भएको जगभन्दा बढी आशा राख्दा बालकमा हीनताको श्रोत पैदा हुन्छ भने तनाव बढ्छ र मनोसामाजिक समस्या पैदा हुन्छ ।

५.४ भनिन्छ कि हाम्रो मुलुकको शिक्षा मानव जीवनबाट टाढिदै गएको छ । शिक्षण विधि, क्रियाकलापहरु बालक, युवाको दैनिक जीवनसँग मिलिराखेका छैनन् । विद्यार्थीलाई जाचँको लागि मात्रै तयार गरिएको छ । जीवनको लागि होइन । अनुसन्धानबाट पुष्टि हुन बाँकी छ, तापनि कतिपय विश्लेषकहरुका तर्कहरु छन् कि निजी विद्यालयहरुमा बढी अङ्क ल्याएर उत्तीर्ण गराउने प्रतिस्पर्धात्मक दबाबमा रचनात्मकभन्दा स्मरण विधिको बढी प्रयोग हुन्छ ।

५.५ शैक्षिक वेरोजगारीको कारण शिक्षाप्रति आकर्षण घट्नु, छोराछोरीको विकासमा बाबुआमाको समान सहभागिता नहुनु, शिक्षा ज्यादै महङ्गो हुनु, बालबालिकाको मनोविज्ञान बुझ्नुपर्ने शिक्षकको मनोविज्ञान व्यवस्थापन र राज्यले बुझ्न नसक्नु लगायतका कतिपय कारणहरु छन्, जसले गर्दा शिक्षकको मन र सामाजिक पारिवारिक अपेक्षाको बीचमा खाडल बन्दै जान्छ , तनाव पैदा हुन्छ र मनोसामाजिक समस्याको श्रोत बन्दछ ।

५.६ ०७२ वैशाख १२ गतेको भुकम्प र त्यसपछिका पराकम्पनहरुले बालक, युवा, वयस्क सबैलाई तर्साएकै थियो पुन २९ गतेको ६.८ म्यागनिच्युडको कडा धक्का विद्यालय चलेकै बेलामा महशुस भएको र हालसम्म पनि पराकम्पनहरु आउने क्रम चालु रहेको सञ्चार माध्यमहरु महाभुकम्प र यसका परिणाममा मात्रै केन्द्रित रहेको कतिपय सामाजिक संजालहरुमा भ्रामक जानकारीहरु आएकोले विद्यार्थीहरुको मनस्थिीति स्वभाविक रुपले बढी खलबलिएको अवस्था छ ।

६. शिक्षाको मनोसामाजिक परामर्श विधि र उपयोगिताः

मनोसामाजिक समस्याको पृष्ठभूमि र कारण थाहा पाउनु, त्यसको विश्लेषण गर्न सक्नु भनेकै त्यसको समाधानको नजिक पुग्नु हो । माथि जे छलफल भयो त्यो आफैँ विमर्श हो । मनोसामाजिक विमर्श र परामर्शलाई व्यवस्थित गर्न केही प्राविधिक पक्षहरु छन्, जो यस प्रकार छन्:

६.१ परामर्श सेवा प्रदान गर्नेले राम्रोसँग बुझेको हुनुपर्ने विषय के हो भने परामर्श निर्देशन वा आदेश होइन । होच्याउने, हेप्ने, सजाय दिने जस्ता व्यवहार नगरी सम्मानपूर्वक सकारात्मक परिवर्तन ल्याउन प्रयोग गरिने उपचारात्मक पद्धति हो

६.२ परामर्श लिने र दिने बीचमा भरपर्दो र विश्वास जगाउने खालको वातावरण निर्माण हुनुपर्छ । परामर्श लिने मानिसलाई मैले खोजेको मानिस पाएँ भन्ने भावना पैदा हुनुपर्छ ।

६.३ खुलेर कुरा गर्न वातावरण बनाउने, सजिलो तरिकाबाट प्रश्नोत्तर गर्ने, राम्रोसँग कुरा सुन्ने लगायतका सीप आवश्यक हुन्छन् ।

६.४ परामर्श सेवा व्यक्तिगत तथा सामूहिक रुपमा पनि प्रदान गर्न सकिन्छ तर परामर्श लिने र दिने बीचमा एउटै बुझाई बन्न अवाश्यक छ । साझा बुझाइ नभएसम्म थप छलफल चलाउन आवश्यक छ ।

६.५ परामर्शबाट विद्यार्थीले, शिक्षकले तथा अभिभावकले समेत आफूसँग के क्षमता छ ? के छैन ? के गर्न सँकिदैन ? जस्ता कुराको जानकारी लिन सक्छन् । समस्या समाधान गर्न तथा आत्मविश्वास बढाउन सफल हुन सक्छन् ।

६.६ पढाइमा असफल हुने, पढाइमा अचानक ह्रास आउने घुलमिल हुन नसक्ने, पढाइ छोड्नेसम्म स्थितीमा पुग्न सक्ने, अरुलाई आफूतिर आकर्षित गर्न अनेक उपाय अपनाउने, झैझगडा र उद्दण्ड व्यवहार देखाउने, धेरै डराउने, धेरै चिन्ता वा तनावमा देखिने खालका सबै विद्यार्थीहरुलाई परामर्श आवश्यक पर्न सक्छ तर उसलाई परामर्शको आवश्यकता बोध नगराई परामर्शले काम गर्न सक्दैन ।


६.७ परामर्श दिने मानिस समाजमा विश्वास प्राप्त मानिस, नैतिक गुणहरु राम्रो छ भन्ने मानिएको व्यक्तित्व हुनु पर्दछ । सबै खालको परामर्शमा गोपनियताको सुनिश्चितता हुनुपर्दछ । आवश्यकताअनुसार चुनौती दिने, परिवर्तनको लागि उत्साह दिने, थुप्रै उदाहरणहरु प्रस्तुत गर्ने, मार्गनिर्देशन गर्ने र आवश्यक परे हपार्ने क्षमता पनि परामर्शदातासँग हुनु आवश्यक छ ।

६.८ सामूहिक परामर्श सेवा सञ्चालन गर्दा व्यक्तिगत भिन्नतालाई ध्यान दिने ।

६.९ परामर्शको अन्त्यमा द्विपक्षीय मूल्यांकन गर्ने र गोप्यताका साथ अभिलेख राख्ने, परामर्श लिनेलाई पनि गोप्यताको महत्वमा ध्यान दिने सल्लाह दिने ।

६.१० विपतमा परामर्श:
भुकम्प जस्तो प्राकृतिक विपत नेपालीले मात्र भोगेको होइन जापानीहरु, क्यालिफोर्नियाका अमेरिकीहरु, फिलिपिनोहरु, इन्डोनेसिया र पपुवा न्यु गिनी लगायतका देशका मानिसहरुले भोग्दै आएका छन् । समुद्री किनारामा आउने सुनामी, बङ्गलादेश जस्ता देशमा हुने डुबान र कैयौँ मुलुकमा हुने बाढी, पहिरो, आगलागि र भयानक संक्रामक रोगहरुको प्रकोप मानव जातिको लागि हृदयविदारक घटना हुन् । यीनिहरुको सामना गर्दै बाँच्न सिक्नु र सिकाउनु मानव जातिको लागि शिक्षा हो ।
मानव जातिले विकासक्रममा यी सबै प्रकोपहरुसँग संघर्ष गर्दै समायोजित हुन सिकेर यो अवस्था सम्म आइपुगेको हो । अत्याधुनिक ज्ञान र प्रविधिको विकासले गर्दा हिजोभन्दा आज र आजभन्दा भोलि सरल र सुरक्षित उपायहरु अपनाउन सम्भव छ ।

भुकम्प अनिवार्य थियो र नेपालमा यसपटक शनिवार विहान ११ः५६ मिनेटको समयमा भुकम्प आउनु भनेको कम क्षति हुने साइत जुरेको छ । अरु कुनै दिन वा रातमा भए यो भन्दा धेरै गुणा बढी क्षति हुन्थ्यो ।
शैक्षिक क्षेत्रबाट हेर्दा भुकम्पबाट ६१८ जना विद्यार्थी, ४५ जना शिक्षक, ३ जना सहयोगीको निधन भएको छ । भने मुलुकभर ३७८४ विद्यालय पूर्ण वा आंशिक क्षति भएका छन् । यो तथ्य तथ्याङ्कबाट बाचेका र कम क्षति व्यहोरेकाहरुले महङ्गो शिक्षा लिनुपर्ने भएको छ ।

यि कुराहरुको सेरोफेरोमा शिक्षकले विद्यार्थीहरुलाई प्रयोग गर्न सकिन्छ । अनौपचारिक तरिकाबाट अतिरिक्त क्रियाकलापको माध्यमबाट, सामाजिक अध्ययनको माध्यमबाट, गीत, कविता, नाटक, खेलकुद, श्रव्य, दृश्य सामाग्री, मल्टिमेडियाको प्रयोगबाट आवश्यकतामा आधारित शिक्षाको प्रबन्ध गर्न सकिन्छ । विशेष समस्यामा रहेका बालबालिकाको लागि अभिभावकलाई साथै राखेर परामर्श गर्न सकिन्छ ।
बालबालिकाका कुरा सुन्ने, उनीहरुका जिज्ञासालाई शान्त पार्ने, उनीहरुलाई सुरक्षित बोध गराउने, हल्लामा विश्वास नगर्ने गरी धारणा निर्माण गर्ने, सजिलो र रुचिको काममा व्यस्त राख्ने, लेखन, चित्रकला जस्ता सिर्जनात्मक काम दिने । एक्लोपन महशुस हुन नदिने, नियमित समय तालिका अनुसार दैनिक जीवन यापन गर्ने, गर्न अभ्यास गराउने, योग, ध्यान, श्वासप्रश्वास अभ्यास गर्ने गराउने आदि ।

७. निचोडः

पहिलो अनुच्छेदमा मनको विषयमा छलफल गरे । मन के हो ? कहाँ छ भन्न त सकिँदैन तर मष्तिष्कसँग सम्बन्धित छ । मस्तिष्क विना अनूभुति छैन र अनुभुतिविना मनको कल्पना गर्न सकिँदैन । त्यसपछि मन र समाजको सम्बन्धबारे विमर्श गरे । मन र सामाजिक वातावरण विचमा सन्तुलन कायम नहुने धेरै कारण रहेछन् र मनोसामाजिक समस्या पैदा हुँदा रहेछन् । त्यस्तै अर्थ राजनीतिक अवस्था, आशा, अपेक्षा र उपलब्धिविचमा खाडल, पुस्ताको विचमा खाडल (Generation Gap) , श्रमप्रति सम्मान कम, वेरोजगारी, असुरक्षाजस्ता कारणले नेपाली समाज आक्रान्त रहेको र समाज र शिक्षालयमा मनोसामाजिक समस्या वढ्दै गएको पनि अर्को निचोड निकाले । प्राकृतिक विपत टार्न सकिदैन तर सामना गर्न सकिन्छ भन्ने सिक्न सिकाउन पनि परामर्श उपयोगी हुन्छ भन्ने निचोड निकाले । अन्त्यमा मनो सामाजिक विमर्श/परामर्श शैक्षिक संस्थाहरुमा आवश्यक भएको तर त्यस्तो जनशक्ति भने अभाव छ, तयार गर्नुपर्छ भन्ने मेरो सुझाव रहेको छ ।
(लेखकः शिक्षा मनोविज्ञान र तत्सम्बन्धी अन्य विषय प्राध्यापन, अनुसन्धान, लेखन कार्यमा सङ्लग्न छन्)




Top