logo
  • Wednesday, September 18, 2019
  • वि.सं १ आश्विन २०७६, बुधबार

नकारात्मकताले जितेको मेरो देश ! अनि अन्ध समर्थन/बिरोध

वि.सं २० पुष २०७५, शुक्रबार १३:४६
Blog single photo

नकारात्मकताले जितेको मेरो देश ! अनि अन्ध समर्थन/बिरोध

केही दिन यता… दशक नै भनौ मेरो देशले ति मानव, प्रकृती, फरक रितीतिथी, संस्कृतीलाइ सम्मान गर्ने पूर्विय मान्यता छाडेर अराजकता र अतिवादको हावाको पछाडी दौडेर सामाजीक मुल्य, मान्यता र सदभाब त्यागी सकेको छ । अरूको सफलतामा, मेहनतमा डाह गर्ने; सके त्यसमा भाँजो हाल्ने, अफवाह फैलाउने काम अनि त्यसका बिरूद्ध मोर्चाबन्दी गर्ने काम म जस्ता नेपाली को १० देखी ५ को मात्रै जागिर हैन ३ सिफ्टमा देश विदेश सबै तिरबाट गर्दैछौं  नभ्याए अझै ओभरटाइम समेत गरि रहीएको छ ।

Bishal Gautam Stim News

प्रत्यक्ष परोक्ष म स्वयं पनि यसको भागिदार हुँ। म स्वयं मेरो स्वार्थपुर्तिको काम भएको अवस्थामा नियम मिचिदा, मान्यताहरू भत्काइदा मनमा सन्तोष मानेर बसेको छु । म स्वयंको आत्मालोचना हो यो ।

सरकारका र प्रतिपक्षका कुरा छाडि दिउँ स्थानियसरकार, प्रदेश सरकार, वडा यहाँ सम्म की क्लब सम्मका काममा हरेक कुराको बिरोधका लागि निकै तल्लो स्तरमा झरेर सामाजीक सञ्जालमा वान्ता गरीन्छ । कहिले काँही लाग्छ यो इन्टरनेटको दुनियमा नेपाली शब्दकोषका ति शब्दहरूनै सेन्सर गरीनु पर्ने हो तर यहाँ बदनाम पोर्न भै रहेछ ।

नकारात्मकता अनि अन्ध समर्थन र बिरोधका शिलसिला

रेशम चौधरी कै सवालमा हिजो चुनाव भइन्जेल उनले उमेदवारी दर्ता गरीन्जेल मलाइ मतलब थिएन । के हेरेर बसेको थिएँ ? देशको माया पनि थियो, प्रहरीको र त्यो नाबालक हत्याको आक्रोस अझै छ र पनि त्यो बेला मलाइ केही लागेन; कहाँ थिएँ म ? मेरो एक उजुरीले हिजोको सपथको बिउ नै मासीने थियो । किन मैले उजुरी दिन सकिन ?

अहँ मलाइ यो हक छैन त्यँहीका जनताले चुनेर पठाए पछी उनिलाइ गालि गर्न । उनि जनताबाट अनुमोदित माननिय हुन । जित्नेले इतिहास बनाएर त्यही इतिहासलाइ मान्ने हामी तर आफ्नै पालामा इतिहास दोहरीदा नमान्ने द्वैध चरीत्र देखाउन मिल्ला की नमिल्ला ? यसमा दोष कसको ? सरकारको ? जसले उनलाइ सपथ खुवायो । कि त्यहाँका जनताको ? जसले जिताएर निर्दोष हो राजनैतिक घटनाको शिकार बनाइएको हो भनेर मोहर लगाएर पठाए । या मेरो ?

कोटेश्वर कलन्की चक्रपथ बिस्तार योजनाको डि पि आर, नक्सा फाइनल र बनेर आधाउधी बाटो तयार भएर गाडी चलीन्जेल सम्म पनि म निन्द्रामा थिएँ ।  डिजाइनमा त्रुटी छ भन्ने कुरा मिडिया ले अमेरीका, युरोप जस्तो बाटो भनेर फोटो न देखाइन्जेल मैले देख्न सकिन के म अन्धो थिएँ ? जब त्यहाँ काम सक्कियो अनि डिजाइनमा त्रुटी देख्ने आँखामा नै त्रुटी देख्छु; त्यो भन्दा बढी मेरो नकारात्मक चिन्तनमा !

मेरो नगर, जिल्ला वा प्रदेश मेरो घर नजिकै राष्ट्रिय गौरबको आयोजना, अन्य साना आयोजना बन्दैछ तर मलाइ धुलो भयो भनेर स्टाटस लेख्न मात्रै आँउछ । यो धुलो कम गर्न सम्बन्धित निकाय सम्म पुग्न, कुन गुणस्तरको बन्नु पर्ने हो त्यो ठेकेदार मार्फत भएको छ की छैन, उसले समयमा काम सक्ने गरी कामदार परिचालन गरेको छ की छैन । सरोकारवाला निकायहरूले रेखदेख, निरिक्षण र वाचडगकोकाम गरिरहेका छन छैनन त्यो सँग पनि मतलब छैन् ।

वाइडबडी खरिद हुनेबेला १ डलरको कम्पनि खडा भएको, त्यो कहिले स्थापना भएको, कति को विस्वसनिय छ हेर्ने फुर्सद पनि मलाइ भएन । केही म हरू बैना दिन पाए अलिकती भाग मेरो मा पनि आँउछ भन्ने मा मख्ख थिएँ । केही म हरू यिनको पालमा भन्दा मेरो पालामा बैना लाउन पाए हुन्थ्यो भन्ने तानाबाना बुन्न व्यस्त।

बैना र केही किस्ता दिदा सम्म गुपचुप बसेको म जहाज ल्याए पछी मेरो भाग म सम्म नआइ पुगेपछी तातिन्छु । अनि मैले गालि समेत, नकारात्मकता समेत सामाजीक सन्जालमा वान्ता गरे सँगै हजारौं म हरू बुझेर, नबुझेर वा बल्ल थाहा पाएर आमा चक्कर समेतका गालि वान्ता गर्न थाल्छौ ।

तर अन्तिम किस्ता नतिरी जहाज नल्याएको भए के हुन्थ्यो ? ल्याउनु जरूरी थियो थिएन ? हाम्रो सार्वजनीक खरीद नीतिमै के त्रुटी भयो जसले हरेक ठेक्का मा यसरी नै कोकोहोलो मचिन्छ ? किन सरकारी ठेक्का ढिला सम्पन्न हुन्छन ? किन भेरीयसन र नानाथरी भन्दै ठेकेदारले थप पैसा र समय माग्छन ? किन हुवावे र जे टि इ कै ठेक्कावाला काम एन सेल ले गर्दा समय मै सकाएर गुणस्तरिय सेवा दिन्छन किन टेलीकमको काम तिनैले लिदाँ न समयमा सकिन्छ न गुणस्तरीय हुन्छन ? मलाइ त्यसको सुझाब दिने फुर्सद हुँदैन  ।

किनकि केही म हरू आयोजना, ठेक्काको कार्यक्षेत्रमा नै नपर्ने, उसले असर नै नगर्ने क्षेत्रमा रकम माग्न, धारा, स्कुल, समुह, क्लबका भवन बनाइमाग्न, मेरा आफन्तलाइ जागिर माग्न तल्लिन हुन्छु । जब बन्न थाल्छ अर्का थरी म हरू यो भएन, त्यो भएन भन्दै आँउछम । कालिन्चोक कुरीको केबलकार बनि सकेपछी केही समाचार पढ्दा त्यस्ता म हरू धेरै नै छम भन्ने लाग्छ । पहिलेका भैसकेका बिग्रिएका वा मेरो भाग नपाए पछी ति काममा संलग्नहरूलाइ गालि गर्दैमा अनि सँगै  मेराहरूले गरेका त्यस्तै कामको बचाउ गर्नैमा सुझाब दिने त  फुर्सद नै पो छैन मलाइ ।

पक्षको म र विपक्षको म विच जस लिने होडबाजी 

जनकपुरमा रेल आयो, गौतम बुद्ध विमानस्थल समय मै सकिने भयो, मेलम्ची समयमै सकीने भयो, तामाकोसी समयमै सकिने भयो, स्वास्थ्य बिमा लागु भयो, बिद्युतिय बस  आयो, सामाजीक सुरक्षा कार्यक्रम आयो अब हेर्नुस रमिता एउटा पक्षको म भन्छु “यो त मेरो सरकारको उपलब्धी हो” अर्को विपक्षको म भन्छु “मेरो सरकारको पालमा सुरू भएको हो सम्पन्न पो अहिले भएको ।”  अनि रेशम चौधरीको केस हिजो बिपक्षमा हुँदा विज्ञप्ती मार्फत बिरोध गर्नेहरू अहिले सपथ खुवाउँदै छन यसमैमा पक्षको म अनि विपक्षको म बिच आमा चक्करका बहस हुन्छन । बिचरा आमा !

हिजो वाइड बडीमा पनि त्यही भएको थियो पर्यटन मन्त्री गर्व गरेर सुनाउँदै थिए । थुप्रै पक्षका म हाम्रो सरकारको उपलब्धी भन्दै थिएम भने विपक्षका म हाम्रो पालोमा किन्ने निर्णय भएर पहिलो, दोश्रो किस्ता हाम्रो सरकारको पालामा गएको हो भनेर गर्व गर्दै थिएम । जब यसमा भ्रष्ट्रचार भयो भनेर हल्ली खल्ली भयो त्यसपछी बल्ल पक्षको म भन्छु पहिलो र दोश्रो किस्ता गएको भएर जहाज ल्याउन मेरो सरकारले अन्तिम किस्ता तिरेको मात्रै हो पहिलाको सरकार दोषी छ । अनि बिपक्षको म त्यो बेला भएको भए किन अहिले नरोकेको? अहिलेको सरकार दोषी छ । हिजो राजनीतिक नियुक्ती बदर गर्न सक्ने यो काम गर्न सक्दैन ? हिजो बिरोधमा बिज्ञप्ती निकाल्ने ले आज कारबाही नगरी किन सम्मान गरेको ? यस्तै यस्तै

यि त भुतकालका कुरा भए बर्तमान र भविष्यको म हेरौं न त

बिरोध गर्न बाँकी केही बिषयहरू मोनोरेल को अध्ययन सम्झौता मोनोरेल महानगरले थेग्दैन भन्ने कुरा को बहस चलाउन अहिले मलाइ आवश्यक छैन कुन कम्पनिले पाउँछ भन्ने पनि मतलब छैन बस त्यो बन्ने बेलामा जब जग हाल्न सुरू गरिन्छ अनि बल्ल बिरोधको मेरो काम सुरू हुन्छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत नारायणगढ – बुटवल खण्ड बन्दैछ, कोशी ब्यारेज माथी अर्को बाटो बन्दैछ  त्यसको डिजाइन पनि मलाइ मतलब छैन, त्यसमा जैवीक मार्ग पर्छ जनावर कसरी वारपार हुन्छन त्यो पनि मतलब छैन्। कोशी क्षेत्रमै त्यसको बैकल्पिक रूट तयार भै सकेको तर त्यो मार्गलाइ स्तरोन्नती नगरी नयाँ किन बनाउन थालेको ? त्यसको बिषयमा बहष गर्ने बेला नै भएको छैन् किनकी राज्यको श्रोत र सम्पती दुरूपयोग भएकै छैन म किन तातिनु । जाबो सुझाब किन दिनु? गालि गर्न पो मजा हुन्छ । सुझाब दिएको पोष्टमा लाइक र कमेन्ट हेर्नुस त चितवनका गैंडा जस्ता मुल्यवान तर निकै कम । अनि गालि गरीएका पोष्टमा लाइक र कमेन्ट हेर्नुस त बनमाराको झाडी जस्तो न वन जंगल रहने न गाइभैंसीले खाने ।

निष्कर्षः

ठुलो त्रुटी देख्छु म मा सामाजीक सञ्जालको केही लाइक र नाम होस या बदनाम होस तर गुमनाम नहोस भन्ने उक्तिको लोभमा मैले म जस्तै नकारात्मक खबर पढ्न, बनाउन, शेयर गर्न मन पराउने हजारौं म हरूको मनोभावना, इच्छा बुझेर जे बिक्छ त्यही बिकाउन थाल्ने सोचमा । मलाइ थाहा छ नेपालमा सकारात्मक समाचार, स्टाटस बिक्दैनन । म बसेको फेसबुक ग्रुपहरूमा, मैले पढ्ने गरेका पत्रपत्रिकामा, अनलाइनमा हेर्ने र सुन्ने गरेका टिभी, रेडियो हरू कुनै मा पनि सकारात्मक पक्ष समाचार बन्दैनन अनि चल्दैनन पनि ।  किनकी मेरो रोजाइ नै नकारात्मक शिर्षक प्रति ज्यादा छ ।

बाटो डिजाइन पैदल यात्रु मैत्री किन बनेन? सार्वजनिक खरीद ऐन प्रभावभकारी किन भएन?  तामझाम गरी उद्धघाटन गरीएका बिजुली बस किन चलेन ? समयमै बन्नु पर्ने योजनाहरू किन बनेन, बन्न के गर्नु पर्थ्यो मलाइ त्यो सँग सरकोकार छैन । मलाइ सरोकार छ त यसको काम कहीले बिग्रन्छ अनि एउटा लेख छपाउँ, एउटा धमाकेदार गालि समेतको स्टाटस लेख्दिउँ ।

 

प्रष्टताः

कुनै पात्रलाइ गालि गरेर वा उसका कम्जोरी औंल्याउने म कुनै महामानब हैन । मेरा हजार गल्ती छन, हरेक दिन गल्ती गर्छु र यो पनि मान्छु ति गल्ती सकेसम्म दोहर्याउने छैन भनेर प्रयासरत छु । मेरो शब्दकोषमा अन्धो, लंगडो, बहीरो भनेको दृष्टीबिहिन, अशक्त,वा श्रवणशक्ती नभएका व्यक्तीहरू हैनन जसले हेर्न, हिडडुल गर्न वा प्रष्ट सुन्न सक्दैनन; तर ति व्यक्ती संस्थाहरू हुन जो आँखा देख्ने,  भएर पनि आँखा चिम्लीएर काम गर्छन, गर्न सक्ने काम हरू पनि हात खुट्टा कमाएर बस्छन, सुन्नु पर्ने वाजहरू पनि सुनिदिदैनन् ।  आँखा नदेख्ने, अशक्त, वा श्रवण शक्ती कमहुनेहरू (जन्मजात, दुर्घटना वा भवितब्य परेर)लाइ सम्बोधित गर्दा उहाँ हरूले नै रूचाएका फरक क्षमताका व्यक्तीहरू शब्द नै प्रयोग गर्छु । फेरी पनि प्रष्ट पार्छु अन्धो, लंगडो, बहिरो को अर्थ आँखा देख्ने भएर पनि अरूलाइ सहयोग, इज्जत, न्याय दिने वा अरूलाइ चाहिने बेला आँखा  चिम्लनेहरू, काम गर्न् हात कमाउने हरू न्यायको, जनताको दुख र क्रन्दन नसुन्नेहरू हुन । अन्यथा लागेमा माफ गरिदिनु होला ।

 

 




Top