logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

७८ लाख घुस प्रकरणः अख्तियारका पाठकलाई घुस दिने लम्बोदर न्यौपाने फरार

वि.सं ३ चैत्र २०७५, आईतवार १२:४०
Blog single photo

७८ लाख घुस प्रकरणः अख्तियारका पाठकलाई घुस दिने लम्बोदर न्यौपाने फरार

काठमाडौँ । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छलेर फरार भएका छन् । न्यौपानेले आफू सञ्चालक रहेको कलेजको उजुरी तामेलीमा राख्न अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख घूस दिएको आरोप लागेको थियो ।

बयानका लागि अघिल्लो आइतबार आयोगमा हाजिर भएका न्यौपानेको स्वास्थ्य खराब भएपछि सम्पर्कमा रहने गरी उनलाई छाडिएको थियो । अख्तियारले अनुसन्धानको दायरामा रहेका तत्कालीन आयुक्त राजनारायण पाठकसहित आरोपित विदेश भाग्न सक्ने आशंकामा अध्यागमन विभाग र त्रिभुवन विमानस्थल प्रहरीलाई सतर्कता अपनाउन निर्देशन दिएको थियो ।

आयोगले न्यौपानेको खोजीका लागि टोली परिचालन गरेको छ । उनी अस्ट्रेलियाका पीआर होल्डर भएकाले विमानस्थल अध्यागमनसँग समेत जानकारी मागिएको छ ।

हवाईमार्गबाट नभई स्थलमार्गबाट उनले देश छाडेको आयोगको आशंका छ । आयोगले पाठकलाई घूस बोकेर जाने राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र झाको स्वीकारोक्ति बयानका आधारमा अघिल्लो आइतबार न्यौपानेसँग सवालजवाफ गरेको थियो ।

अनुसन्धान अधिकारीहरूले न्यौपाने सम्पर्कविहीन भएपछि आयुक्त पाठकको घरमा निगरानी बढाएको छ। बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तलाई उनको निगरानीमा राख्न जिम्मेवारी दिइएको छ ।

नेपाल इन्जिनियरिङ कलेजमा भएको आर्थिक अनियमितता र स्वामित्व विवादसम्बन्धी कारबाहीबाट बच्न सञ्चालक न्यौपानेले बिचौलियामार्फत पाठकलाई दुईपटक गरी ७८ लाख घूस दिएका थिए । घुस प्रकरण सार्वजनिक भएपछि आयुक्त पाठकले राजीनामा दिएका थिए ।

 




Top