logo
  • Sunday, February 23, 2020
  • वि.सं ११ फाल्गुन २०७६, आईतवार

ललिता निवास प्रकरण : १७२ जनामाथि दाेहाेराे मुद्दा दायर हुने !

स्टिम न्युज वि.सं २४ माघ २०७६, शुक्रबार ०८:४०
ललिता निवास प्रकरण : १७२ जनामाथि दाेहाेराे मुद्दा दायर हुने !

काठमाडौँ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास अनियमितता प्रकरणमा संलग्न १७२ जनामाथि किर्ते र ठगीको मुद्दा चलाउन प्रक्रिया अघि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको भोलिपल्टै प्रहरीले गृह मन्त्रालयलाई जाहेरीका लागि पत्राचार गरेको हो ।

स्रोतका अनुसार सीआईबीले गृहलाई बिहीबार पत्र पठाउँदै ठगी र किर्ते मुद्दाको जाहेरी अघि बढाइदिन आग्रह गरेको छ । फौजदारी न्याय प्रणालीमा पीडितले जाहेरी दिनुपर्छ । गृहअन्तर्गतकै समरजंग कम्पनीको जग्गा मिचिएकाले गृहले प्रहरीलाई निर्देशनसहित पत्र पठाएपछि कारबाही प्रक्रिया अघि बढ्नेछ ।

गत साता सीआईबीले गृहमा बुझाएको प्रतिवेदनमा ललिता निवास अनियमितता प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७२ संलग्न भएको भन्दै किर्ते र ठगीमा कारबाही चलाउन सिफारिस गरिएको थियो । उक्त प्रतिवेदन कार्यान्वयनका लागि अब गृहले प्रहरीमै फाइल पठाउनुपर्ने हुन्छ । सीआईबीले यसअघि सरकारको निर्देशनअनुसार छानबिन मात्र गरेको थियो भने अब फौजदारी मुद्दा चलाउन अनुसन्धान गर्नुपर्नेछ ।

प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाले ठगीमा पीडित पक्षले जाहेरी दिनुपर्ने कानुनी व्यवस्था भएकाले गृह वा सरकारी निकायबाट निवेदन आएपछि अनुसन्धान अघि बढ्ने बताए । उनले भने, ‘यसका लागि हामीले अनुसन्धान प्रतिवेदनअनुसार सरकारलाई जाहेरीका लागि अनुमति मागेका छौं ।’ जाहेरी दर्ता भएपछि आरोपितलाई आवश्यकताअनुसार पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खुल्नेछ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।



Loading...
loading...

Top