खानेपानीको समस्या यसरि समाधान गर्दैछ पोखरा महानगरपालिका

पोखरा महानगरपालिका
Advertisement

खानेपानीको समस्या यसरि समाधान गर्दैछ पोखरा महानगरपालिका

पोखरा । पोखरा महानगरको पहलमा लिफ्टिङ प्रविधि मार्फत पोखरा १८ मेथलाङमा एक घर एक धारा उपलब्ध गराइएको छ ।

पोखरा महानगरपालिका र अन्य सरकारी निकायको आर्थिक सहयोगमा कुसुन्डे मेथलाङ लिफ्टिङ खानेपानी योजना सम्पन्न भएको हो ।

३५ लाखको लागतमा सम्पन्न भएको उक्त योजनाबाट ४० घर परिवारलाई एक/एक धारा उपलब्ध गराइएको,

‘कुसुन्डे मेथलाङ लिफ्टिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति’का अध्यक्ष नमराज सुवेदीले जानकारी दिए ।

उक्त कार्यको लागि महानगरले २२ लाख ७० हजार सहयोग गरेको छ ।

उनका अनुसार सराङकोटकै कुसुन्नेको मूलबाट पानी लिफ्टिङ गरी मेथलाङमा पानी वितरण गरिएको हो ।

मूल भएको ठाउँमा कलेक्सन, रिजर्भ ट्यांकी र पानी तान्ने मोटर राखिएको सुवेदीले जानकारी दिए ।

पानी मेथलाङमा पुर्याउन करिब ६ सय ५० मिटर जीआई पाइप विछ्याइएको,

र मेथलाङमा ५० हजार लिटर क्षमताको पानी ट्यांकी बनाएर घर/घरमा पानी वितरण गरिएको कार्यक्रम संयोजक गणेश देवकोटाले बताए ।

साविक सराङकोट ६ मा पर्ने मेथलाङमा गोठादीबाट पानी ल्याइएको भएपनि प्रर्याप्त थिएन ।

यस अघि ति ठाउँहरूमा एउटा धाराबाट ८ घरलाई पानी पुर्याउनु पर्ने वाध्यता थियो ।

पुरानो खानेपानी लाइन भएकाले बेला/बेलामा समस्या आउने र पानी लिनका लागि डेड घण्टा टाढा स्यानीमूल सम्म पुग्नुपर्ने अवस्था थियो ।

अब भने पानीको समस्या हटेको अध्यक्ष सुवेदीले बताए ।

जेष्ठ ३२ गते उद्धघाटन गरिने

जेष्ठ ३२ गते उक्त खानेपानी आयोजनाको उद्धघाटन गर्ने कार्यक्रम तय भएको छ ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले उद्धघाटन गर्ने कार्यक्रम छ ।

पोखरा महानगरपालिकामा गाभिएका साविकका गाविसमा पिउने पानीको समस्या भएका ठाउँहरुमा एक घर एक धारा पुर्याउने गरी काम अघि बढेको प्रमुख जिसीले बताए ।

विभिन्न वडामा गरी चालु आर्थिक वर्षमा ४४ वटा खानेपानीका योजना मार्फत एक घर एक घारा पुर्याउने काम अगाडि बढेको हो ।

योजना मध्ये केही पुराना खानेपानीका योजनालाई मर्मत गर्ने कार्यपनि अन्तिम चरणमा पुगेको छ ।

निर्वाचनको बेला गरिएको प्रतिबद्धता अनुसारनै महानगरमा पानीको समस्या भएका ठाउँमा तदारुकताका साथ काम भइरहेको जिसी बताउछन् ।

महानगरमा पानीको समस्या भएका ठाउँमा एक घर एक धारा पुर्याउने कार्यलाई आगामी वर्षको बजेटमा पनि प्राथमिकता दिइने जिसीले बताए ।

Facebook Comments