logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

विश्व बजारमा कच्चा तेलको मूल्य उच्च विन्दु

स्टिम न्युज वि.सं ३० भाद्र २०७६, सोमबार १०:२५
Blog single photo

काठमाडौं । शनिबार साउदी अरेबियामा दुईवटा तेल प्रसोधन केन्द्रमा आक्रमण भएपछि कच्चा तेलको मूल्य पछिल्लो चार महिना यताकै उच्च रुपमा वृद्धि भएको छ ।

सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका दुई ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरबले पेट्रोलियम पदार्थको उत्पादनमा झण्डै आधा कटौती गरेको हो । जसका कारण विश्व बजारमा आपूर्ति हुने पाँच प्रतिशत तेलमा कमी आयो ।

आपूर्ति कटौती भएसँगै ब्रेन्ट क्रुडमा इन्धनको मूल्य १९ प्रतिशतले बढेर प्रतिब्यारेल ७१ दशमलव ९६ डलर पुगेको छ । यस्तै वेस्ट टेक्सास इन्टरमिडियेटमा १५ प्रतिशतले बढेर ६३ दशमलव ३४ अमेरिकी डलर पुगेको छ ।

उत्पादन कटौती भएको साउदी अरेबियाका तेल प्रशोधन केन्द्र आफ्नो पूर्ण क्षमतामा सञ्चालनमा आउन केही हप्ता लाग्ने छ । अमेरिकाले आफ्नो स्टक पेट्रोलियम पदार्थ बजारमा पठाउने बताएसँग मूल्यमा केही कमी हुने अनुमान गरिएको छ ।

साउदी उर्जा मन्त्री प्रिन्स अब्दुलाजिज बिन सलमानका अनुसार ड्रोन आक्रमण पश्चात तेल उत्पादन ५७ लाख ब्यारेल कम भएको छ । जुन परिणाम साउदी अरबले नियमित रुपमा उत्पादन गर्दै आएको पेट्रोलियम पदार्थको आधा कटौती हो ।

ड्रोन आक्रमणको जिम्मेवारी हुथी बिद्रोहीले लिएका छन् । तर अमेरिकाले भने हुथी नभै इरानले आक्रमण गरेको आरोप लगाएको छ । जसले खाडी क्षेत्रमा पुन: तनाव बढ्ने अनुमान गरिएको छ ।




Top