logo
  • Tuesday, October 26, 2021
  • वि.सं ९ कार्तिक २०७८, मंगलवार

कविलास रिसोर्ट : पहाडी पाखामा स्थानीय स्वादमा रमाउँदै पर्यटक

नारायण अधिकारी/रासस वि.सं २८ फाल्गुन २०७७, शुक्रबार १३:३९
कविलास रिसोर्ट : पहाडी पाखामा स्थानीय स्वादमा रमाउँदै पर्यटक

Spread the love

चितवन: जिल्लाको समथर भूभाग छाडेर उत्तरपट्टि कविलासडाँडाको पाखामा रहेको ‘कविलास रिसोर्ट एण्ड फन पार्क’ मा यतिबेला स्वदेशी तथा विदेशी पर्यटक त्यहीँको उत्पादनको स्वाद लिएर रमाइरहेका छन् । तराईको गर्मी छल्दै नारायणगढबाट ४६० मिटर उक्लेपछि पुगिने रिसोर्ट यतिबेला स्वदेशी र विदेशी पर्यटकको रोजाइ बनेको हो । रिसोर्टकै अग्र्यानिक कृषिफार्ममा उत्पादित तरकारीदेखि माछा, मासु र स्थानीय जातका पक्षीको स्वाद चाख्न होस् वा आधुनिक प्रविधिले सुसज्जित खेल र मनोरञ्जनमा डुब्न नै किन नहोस् कविलास रिसोर्ट जाने मानिसको हिजोआज लर्काे देख्न सकिन्छ । पहाडी पाखोमा २२ बिघा क्षेत्रफलमा फैलिएको रिसोर्ट परिसरमा वनभोज (पिकनिक) खानेदेखि सभा–समारोह, विवाहसम्मका कार्यक्रम हुने गरेका छन् । विसं २०७६ वैशाखदेखि शुरु भएको रिसोर्टमा बच्चादेखि युवा तन्नेरी हुँदै वृद्धसम्मका लागि मनोरञ्जनका साधनका कुनै कमी छैन ।

रिसोर्टका कार्यकारी अध्यक्ष ई बाबुराम उपाध्यायका अनुसार रिसोर्ट परिसरमा सातवटा भिल्लासहित १७६ जना क्षमताका फरक–फरक कोठा छन् । परिवारसहित जानेका लागि तीनकोठे सातवटा भिल्ला छन् । रिसोर्टमा तालिम तथा गोष्ठीका लागि ३००, २०० र १०० जना अट्ने चारवटा सभाकक्ष छन् । रिसोर्ट परिसरमा बच्चादेखि वृद्धसम्मका लागि विभिन्न खेल साधन रहेका छन् । बच्चाका लागि भिडियो गेम, चिल्डेन वाटर किङ्डम, रेल, सन एण्ड मुन, स्काइजेट स्ट्राकिङ, पौडीपोखरीजस्ता खेल रहेका छन् । ठूलाका लागि ड्र्यागन कोष्टर, फेरिस ह्वील, ब्रेक डान्स, वाटर किङ्डम, बेभ पुल, पौडीपोखरी रहेका छन् । बच्चादेखि वृद्धसम्म सबैका लागि रेन डान्स पनि रहेको उपाध्यायको भनाइ छ । रेष्टुरेन्टबाट झोलुङ्गे पुल तरेर छुट्टै परिसरभित्र खेल सामग्री राखिएका छन् । रिसोर्टसँगै चार बिघा जमिनमा कृषिफार्म सञ्चालन गरिएको छ । फार्ममा तरकारी, खसी, स्थानीय जातका कुखुरा, हाँस, टर्की, बट्टाई, माछापालन गरिएको छ । उहाँका अनुसार अहिले फार्ममा सात हजार स्थानीय जातका कुखुरा, २०० हाँस, ५० टर्की, ५०० बट्टाई, ६० खसी–बोका र चारवटा पोखरीमा माछा पालिएको छ । त्यहाँ पालिएका पक्षीले पारेको अण्डालाई ह्याचिङ मेसिनमा राखेर चल्ला कोरलेर आफैँ हुर्काउने गरिएको छ । खुला ठाउँमा छाड्ने हुँदा ती पक्षीको मासु स्वादिष्ट हुने उपाध्याय बताउनुहुन्छ ।

फार्ममा आलु, प्याज, साग, धनियाँ, मटरकोसा, मुला, काउली, ब्रोकाउली, करेला, खुर्सानी, बैगुनलगायतका तरकारी फलाइएको छ । फार्ममा मात्रै १० जनाले रोजगारी पाएका छन् । उपाध्यायले भन्नुभयो, “रिसोर्ट र वनभोजका लागि आउनेलाई स्वादअनुसारका यहीँको उत्पादन हामी खुवाउँछौँ ।” सबै उत्पादन प्राङ्गारिक रहेको उहाँको भनाइ छ । रिसोर्टकै परिसरमा छुट्टै वनभोजस्थल छ । यहाँ २५ समूहका लागि छुट्टाछ्ुट्टै टहरा (सेड) व्यवस्थापन गरिएको छ । बिजुली, पानी, वाद्यवादनका उपकरण उपलब्ध छन् । त्यसका अतिरिक्त दुईवटा २०० जना क्षमताका सभाहल पनि वनभोजस्थलमै रहेका छन् । वनभोजसहितको कार्यक्रम गर्नेका लागि उक्त हल उपलब्ध गराइने उहाँको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वनभोज आउन चाहनेका लागि घरबाट ल्याउनेदेखि यहीँको सामानसहित खाना पकाएर खुवाउने र घरसम्म पुर्याउने व्यवस्था गरेका छौँ”, उहाँले थप्नुभयो, “वनभोज आउन चाहनेले कुनै पनि सामान ल्याउनु पर्दैन, सबै हामीले नै व्यवस्था गरिदिन्छौँ ।” रिसोर्ट नजिकै सिद्धेश्वर महादेवको मन्दिर छ । मन्दिरमा पूजाआजा र विवाहका लागि समेत मानिस पुग्ने गरेका छन् ।

रिसोर्टका प्रमुख कार्यकारी निर्देशक शुलभ ढकालका अनुसार स्वदेशी र भारतीय पर्यटक धेरै सङ्ख्यामा आउने गरेका छन् । कोभिडपछि गत मङ्सिरदेखि खुलेको रिसोर्टमा क्रमशः पर्यटक बढ्दै गएका छन् । उहाँले भन्नुभयो, “भारतबाट आएर चारवटा विवाह यहाँ भएका छन् ।” नेपालीहरु पनि विवाहका लागि पुग्ने गरेको उहाँले बताउनुभयो । वीरगञ्ज, भैरहवालगायत सीमा क्षेत्रका भारतीय पर्यटक र नेपालका विभिन्न ठाउँबाट पर्यटक आउने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “माडवारी समाजका धेरैको रोजाइ यो रिसोर्ट बनेको छ ।” सोझै आउनेभन्दा पहिले नै बुक गरेर आउने बढी भएको उहाँले बताउनुभयो । राजधानी काठमाडौँ, पोखरा, विराटनगर, वीरगञ्ज, भैरहवाालगायतका ठूला शहरबाट व्यावसायिक आवासीय कार्यक्रमका लाागि आउने गरेका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको दासढुङ्गाबाट १.५ किलोमिटर र जुगेडीबाट तीन किलोमिटरमाथि यो रिसोर्ट पर्दछ । त्यहाँबाट त्रिशूली र नारायणी नदीसँगै देवघाट, नारायणगढ र तनहुँका धेरैजसो भूभाग देख्न सकिन्छ । पहाडी कन्दरामा बसेको अनुभूति दिलाउने उक्त रिसोर्टबाट देखिने खोला, खोल्सा र झरनाले पर्यटकलाई मोहित बनाउने गरेको भरतपुर महानगरपालिका–२९ का अध्यक्ष मानबहादुर रानामगरले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको पर्यटक प्रवद्र्धन गर्नका लागि यो रिसोर्टले महत्वपूर्ण भूमिका खेलेको छ ।”

विभिन्न क्षेत्रका ७२ जनाको रु ६० करोड लगानी रहेको रिसोर्ट कोभिडका कारण प्रभावित भए पनि विस्तारै लयमा फर्किएको छ । कार्यकारी अध्यक्ष उपाध्यायले भन्नुभयो, “हामीलाई आशा पलाएको छ, यो महिनाबाट खर्च धानेर बैंकको ब्याज तिर्न सक्नेछौँ ।” उहाँ कृषि फार्म स्थापनालाई भने कोभिडकै उपलब्धि मान्नुहुन्छ । कोभिडको समयमा मिलेको फुर्सदले कृषि फार्मतर्फ आकर्षित गराएको उहाँको भनाइ छ । रिसोर्टका सञ्चालक विष्णु ढकाल फरक शैलीमा सञ्चालन गरिएका कारण रिसोर्टप्रति पर्यटकको आकर्षण बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एकपटक पुगेका पर्यटक दोस्रोपटक आउन चाहन्छन् ।”चितवनमा मुख्यरूपमा जङ्गल सफारीका लागि पर्यटक आउने गरेकामा पहाडमा रमाउन चाहनेका लागि भने यो रिसोर्ट गन्तव्य बनेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामी छिट्टै यहाँ आउने पर्यटक घुमाउनका लागि चितवन राष्ट्रिय निकुञ्ज, देवघाट, शाश्वतधामलगायतका पर्यटकीयस्थल जोडेर भ्रमण प्याकेज बनाउँदैछौँ ।” समुद्री सतहबाट ६५० मिटर उचाइमा रहेको रिसोर्टमा पुगेपछि तराईको गर्मी भुल्न सकिन्छ ।



Loading...
loading...

Top
Social Media Auto Publish Powered By : XYZScripts.com