logo
  • Thursday, August 22, 2019
  • वि.सं ५ भाद्र २०७६, बिहीबार

नेपालबाट नेपालमै फोनगर्न भारतीय सीमको प्रयोग

वि.सं २७ श्रावण २०७६, सोमबार ११:३९
Blog single photo

नेपालबाट नेपालमै फोनगर्न भारतीय सीमको प्रयोग

विराटनगर: मोरङको सीमावर्ती नाकाका नेपालीले भारतीय सिमकार्ड प्रयोग गर्ने गरेका छन् । नेपाली सिमकार्डको टावर नआउने र आए पनि राम्रोसँग कुराकानी गर्न नपाइने भएकाले सीमावर्ती क्षेत्रका नेपालीहरूले भारतीय सिमकार्ड प्रयोग गर्ने गरेका हुन् ।

भारतीय सिमकार्ड प्रयोग गर्न भारतीय आधार चाहिन्छ । तर नेपाली सिमको टावर नआउने भएपछि भारतीय आफन्तको नाममा भारतीय दूरसञ्चार कम्पनीका विभिन्न सिमकार्ड प्रयोग गरेर खबर आदानप्रदान गर्ने गरेका छन् ।

मोरङको जहदा गाउँपालिका वडा नम्बर ७ तारेगामा गोदामका बासिन्दा भारतीय सिमकार्ड प्रयोग गर्छन् । नेपाली मोवाइलको नेटवर्क विस्तार नभएकाले उनीहरूले भारतीय सिमकार्ड प्रयोग गर्ने गरेका हुन् ।

स्थानीय चन्दनकुमार साह आफूसँग एयरटेलको सिम भएको बताउँछन् । उनी भन्छन् ‘नेपालीसँग कुराकानी गर्दा पहिला मिस कल गर्छु, त्यसपछि उनीहरू नै ‘कल ब्याक’ गर्छन् र खबर आदान प्रदान हुन्छ ।’

भारतीय सिमकार्डले नेपाली नम्बरमा फोन गरे करिव १३ रुपैयाँ भारु प्रतिमिनेट लाग्ने भएकाले प्रायः मिस कल दिने गरेको उनले सुनाए । पटकपटक मिस कल दिए पनि कल ब्याक नभए छोटो कल गरेर फर्काउन आग्रह गर्ने गरेको उनले बताए ।

स्थानीय जनप्रिय माविका शिक्षक कमलेश्वरकुमार साहले कार्यालयहरूमा फोन गरेर केही बुझनुपर्दा झनै समस्या हुने गरेको बताए । सरकारी कार्यालयका कर्मचारी भारतीय नम्बरबाट फोन गरे हतपत उठाउँदैनन्, पटकपटक गर्दा उठाउँछन् तर पैसा अति नै खर्च हुने गरेको उनले बताए ।

सबैभन्दा बढी कुनै घटना भए प्रहरीलाई खबर गर्न समस्या रहेको स्थानीयवासीको गुनासो छ । मोरङ प्रहरीका प्रवक्ता राजकुमार खिउजू भारतीय सिककार्डको प्रयोगले सुरक्षा चुनौती बढेको बताउँछन् । उनले नेपाली टावरले काम नगर्ने भएकाले भारतीय सिमकार्डको प्रयोगले अपराधीलाई सहयोग पुग्ने बताए ।

नेपाल टेलिकमको नमस्ते, स्काई तथा एनसेल कम्पनीका सीमकार्डले भारतीय सीमा क्षेत्रमा काम गर्दैन । जहदा गाउँपालिकी उपाध्यक्ष शालो साह चाँडै नेपाल टेलिकमको टावर राख्ने कुरा भइरहेको बताउँछिन् । उनी नेपाली सिमकार्ड चल्ने टावर नहुँदा जनताका काम गर्न समेत कठिनाई भएकाले बताउँछिन् ।




Top