logo
  • Sunday, September 27, 2020
  • वि.सं ११ आश्विन २०७७, आईतवार

भारत विश्वकै कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको दोस्रो स्थानमा

स्टिम न्युज वि.सं २२ भाद्र २०७७, सोमबार ०७:४५
भारत विश्वकै कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको दोस्रो स्थानमा

काठमाडौं: पछिल्ला केहिदिनमा भारतमा अत्यधिक संक्रमित भेटिन थालेका छन् । कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा भारत दोस्रो स्थानमा आइपुगेको छ ।

ब्राजिललाई पनि उछिन्दै भारत अमेरिका पछि दोस्रो स्थानमा आइपुगेको हो । भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिने क्रम रोकिएको छैन । यसअघि आइतबार बिहानसम्म तेस्रो नम्बरमा रहेको भारत दोस्रो नम्बरमा रहेको ब्राजिललाई उछिन्दै अगाडि पुगेको हो । अहिले भारतमा संक्रमित संख्या ब्राजिलभन्दा झन्डै एक लाख बढी छ ।

अरु मुलुकमा संक्रमण दर कम हुँदै जाँदा भारतमा भने दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको छ । यही अवस्था रहने हो भने भारत केही समयमै विश्वमा सबैभन्दा बढी प्रभावित हुने मुलुकभित्र पर्न सक्ने अवस्था छ ।

भारतमा केही दिनयता दैनिक ७५ हजार बढी संक्रमित भेटिने गरेका छन् । विश्वमा सबैभन्दा बढी संक्रमित भेटिने गरेका अमेरिका र ब्राजिलमा केही दिनयता दैनिक ४० हजारभन्दा बढी संक्रमित फेला परेका छैनन् ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ९१ हजार सात सय २३ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित संख्या ४२ लाख दुई हजार पाँच सय ६२ पुगेको छ । कोरोनाका कारण ७१ हजार छ सय ८७ जनाले ज्यान गुमाइसकेका छन् । एकै दिन एक हजार आठ जनाले ज्यान गुमाए ।

संक्रमितमध्ये ३४ लाख ४७ हजार दुई सय ९७ जना उपचारपछि घर फर्किएका छन् । आठ लाख ८३ हजार पाँच सय ७८ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

हालसम्म सबैभन्दा बढी प्रभावित अमेरिकामा ६४ लाख ५८ हजार नौ सय छ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २९ हजार सात सय ६६ जनामा मात्रै संक्रमण देखियो । सुरुवाती चरणमा अमेरिकामा पनि दैनिक ६० हजारभन्दा बढी संक्रमित भेटिने गरेका थिए । अहिले क्रमस त्यो संख्या दिनप्रतिदिन घट्दै गइरहेको छ ।

कोरोना संक्रमित एक लाख ९३ हजार दुई सय १४ जनाले अमेरिकामा ज्यान गुमाए । पछिल्लो २४ घण्टामा तीन सय ९६ जनाको मृत्यु भयो । ३७ लाख २४ हजार पाँच सय ६१ जना उपचारपछि घर फर्किएका छन् । २५ लाख ४१ हजार एक सय ३१ जना उपचाररत रहेकोमा १४ हजार छ सय ८७ जनाको अवस्था गम्भीर छ ।

संक्रमण दर कम हुँदै गएर विश्वमा प्रभावित हुने मुलुकमध्ये तेस्रो नम्बरमा पुगेको ब्राजिलमा हालसम्म ४१ लाख ३७ हजार छ सय छ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा १४ हजार छ सय छ जना मात्रै संक्रमित थपिए । यसअघि ब्राजिल विश्वमा कोरोना प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा थियो ।

ब्राजिलमा कोरोनाका कारण एक लाख २६ हजार छ सय ८६ जनाले ज्यान गुमाएका छन् । एक दिनमा चार सय ५६ जनाको मृत्यु भयो । ३३ लाख १७ हजार दुई सय २७ जना उपचारपछि घर फर्किएका छन् । छ लाख ९३ हजार छ सय ९३ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

विश्वमा हालसम्म दुई करोड ७२ लाख ७५ हजार एक सय ५१ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा दुई लाख २२ हजार नौ सय ८१ जना संक्रमित थपिए । हालसम्म आठ लाख ८७ हजार ९४ जना संक्रमितको मृत्यु भइसकेको छ । एकै दिन तीन हजार नौ सय १८ जनाले ज्यान गुमाए ।

एक करोड ९३ लाख ५६ हजार सात सय ६५ जना उपचारपछि कोरोना पराजित गर्न सफल भएका छन् । ७० लाख ३१ हजार दुई सय ९२ जना उपचाररत रहेकोमा ६० हजार १६ जनाको अवस्था चिन्ताजनक छ ।



Loading...
loading...

Top