logo
  • Sunday, February 23, 2020
  • वि.सं ११ फाल्गुन २०७६, आईतवार

नेपाल-भारतका हिमश्रृङ्खला हेर्ने स्थल ओझेलमा

स्टिम न्युज वि.सं २६ माघ २०७६, आईतवार ०७:४७
नेपाल-भारतका हिमश्रृङ्खला हेर्ने स्थल ओझेलमा

बैतडी। घनघस्याको उकालो र नेपाल–भारतका हिमशृङ्खला एकैपटक हेर्न सकिने बैतडीको गणेशधुराले चर्चा नपाउँदा ओझेलमा परेको छ । गणेशधुराबाट बझाङको जेठी बहुरानी हिमाल, दार्चुलाको अपि नाम्पा र भारतको उत्तराखण्ड राज्यको पञ्चचुली हिमाल गणेशधुराबाट एकैपटक नियाल्न सकिन्छ ।

बैतडीको पाटन नगरपालिका १, डैसीली गाउँमाथि रहेको गणेशधुरा समुद्री सतहबाट २९ सय मिटर उचाइमा रहेको छ । यो धुराबाट डडेल्धुरा सदरमुकाम पनि सजिलै हेर्न सकिन्छ ।

दशरथचन्द मार्गको अनार खोलीबाट १३ किलोमिटर सडक यात्रा पार गरेर पाटन नगरपालिका १ डैसीली गाउँ पुगिन्छ । डैसीलीबाट गणेशधुरा जान ढुङ्गाका पुराना सिँढी रहेका छन् । करिब दुई किलोमिटरसम्म रहेको ढुङ्गाका सिँढी संरक्षण नहुँदा भत्केका छन् ।

साउने सङ्क्रान्तिमा यहाँ पूजा लाग्ने गरेको स्थानीय दलसिंह ठगुन्नाले बताउनुभयो । ऐतिहासिक धार्मिक स्थलका रूपमा गणेशधुराको पूजा गर्ने चलन रहे पनि यसको संरक्षण र प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको स्थानीय युवा तर्कसिंह ठगुन्ना बताउनुहुन्छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।



Loading...
loading...

Top