प्रकृतिले सिङ्गारिदिएको घलेगाउँ पर्यटक सत्कारमा रमाउँछन् घलेगाउँवासी

घलेगाउँ
Advertisement

प्रकृतिले सिङ्गारिदिएको घलेगाउँ पर्यटक सत्कारमा रमाउँछन् घलेगाउँवासी

जनक श्रेष्ठ लमजुङ, विविधताको खानी हो स्मार्ट भिलेज घलेगाउँ । शीरमा सेतो हिमाल । मध्य माग जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्यता रहेको घलेगाउँ ।

ऐतिहासिक तथा पर्यटकीय रुपमा निकै महत्वपूर्ण मानिएको छ यो गाउँ । जिल्लाको उत्तरी भेगको लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित घलेगाउँ क्होलासोथर गाउँपालिका ३ नम्बरमा पर्दछ । जिल्लाभरमै सबैभन्दा बढी पर्यटक आउने गर्छन् यस गाउँमा ।

नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा अघि बढ्दै गरेको यस गाउँ दक्षिण एशियाकै नमूना गाउँको रुपमा समेत परिचित छ । जनआन्दोलनपछि आन्तरिक पर्यटकको वृद्वि हुन थालेपछि घलेगाउँका स्थानीय बासिन्दा खुशीले गद्गद् छन् ।

उनीहरु पर्यटकका लागि रातदिन नभनी मेहनत गर्छन् । उनीहरुको पहिलो प्राथमिकता भनेकै गाउँमा आएका पर्यटकहरुलाई खुशी बनाउनु हो । जिल्लाका धेरै गुरुङ गाउँहरुले पर्यटकीय सम्भावना बोकेका छन् । यी मध्ये घलेगाउँ फरक शैली भएको गाउँ हो ।

धेरै पर्यटकीय गाउँठाउँहरुमा युवा पुस्ताले आफ्नो गाउँमा आएका पर्यटकलाई स्वागत तथा सत्कार गर्ने गरेको पाइन्छ । यहाँका बालबालिका र वृद्धवृद्धा पर्यटकको सत्कारमा जागरुक रहेको भेटिन्छ । उनीहरुले नै गाउँ धानेका छन् भन्दा फरक पर्दैन ।

गाउँमा आएका पर्यटकलाई स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादा लगाइदिने गरेका छन् । अनि गुन्द्रुक, मकै भटामास, कोदोको सेलरोटी, चिया लगायतका परिकारहरु खुवाउँछन् । स्वागत र विभिन्न परिकारहरु पर्यटकलाई दिएपछि गुरुङ संस्कार संस्कृतिको गीत तथा नाचहरु प्रस्तुत गरी पर्यटकलाई भरपूर मनोरञ्जन दिलाउँछन् ।

“पाहुना तथा पर्यटकलाई घरमा लगेर गुरुङ संस्कारमा आधारित कृष्ण चरित्र नाच, घाटु, घ्याबे्र, लामा, सोरठी लगायतका परम्परागत नृत्यहरु प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा हो, यसबाट आफ्ना संस्कार र संस्कृतिको जर्गेना हुने र पर्यटकहरुले यसबारे जानकारी सँगै मनोरञ्जन गर्न पाउँछन् ।

” पर्यटन व्यवस्थापन समिति, घलेगाउँका अध्यक्ष तथा क्होलासोथोर गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर घलेले बताए । उनले भने – “पर्यटक सत्कारका लागि हामी घलेगाउँवासी सधैं उत्साहित छौँ ।

प्रकृतिले सिङ्गारिदिएको घलेगाउँ आफैंमा पनि सुन्दर छ ।

यहाँबाट ६९८६ मिटर उचाइको लमजुङ हिमाल, ७९३५ मिटर उचाइको अन्नपूर्ण हिमाल दोस्रो, अन्नपूर्ण हिमाल चौथो,६९६३ मिटर उचाइको माछापुच्छ्रे हिमाल, ८१६३ मिटर उचाइको मनास्लु हिमाल, सात हजार ८९३ मिटर उचाइको हिमालचुली, ७८३५ मिटर उचाइको ङादीचुली डा. हर्क हिमाल र ६६७२ मिटर उचाइको बुद्व हिमालहरु देख्न सकिन्छ ।

सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, गुरुङ समुदायको परम्परागत गुरुङ घर, गुरुङ सङ्ग्रहालय, क्वोईवो धीं, घले राजाको शालिक, सात कुवा, चिया बगान, भिर मौरी, वनझाङ्ग्री छहरा लगायतका स्थान समेत घलेगाउँको विशेषताको रुपमा रहेका छन् । तीे स्थानहरुको अवलोकन तथा अध्ययन गर्न तथा देख्न सकिन्छ ।

घलेगाउँका बासिन्दाहरुको अर्को विषेशता हो हस्तकला । उनीहरुले दैनिक जीवनमा आवश्यकता पर्ने कतिपय वस्तुहरु आफैँ तयार गर्दछन् । भेंडाबाख्राको ऊनबाट राडीपाखी, बख्खु, अल्लोको धागोबाट झाङ्ग्रा झोला, थैलो, नियालोको चोयाबाट डोको, नाम्लो, भकारी, थुन्से, घुम जस्ता अति आवश्यक वस्तुहरु तयार गर्दछन् ।

धान कुट्ने ढिकी, मकै, कोदो पिस्ने जाँतो, ढुङ्गा, जस्तापाता र खरले छाएको घरको छाना, भर्यांग, ढोकाहरुमाकुँदिएको कला तथा परम्परागत घुमाउरो घरमा प्रयोग भएका स्थानीय शीप पाहुना तथा पर्यटकलाई नौलो लाग्न सक्छ ।

यी र यस्ता कयौँ परम्परागत कलाहरुले धनी छ घलेगाउँ । पुराना शैलीका घुमाउरा घरहरु, बाक्लो घले गुरुङ बस्ती अनि, चौबीसै घण्टा पानी, बिजुली, वाइफाइको व्यवस्था र गाउँलेहरुबीचको एकता घलेगाउँका विशेषता हुन् ।

त्यसो त गुरुङसेनीहरुको आत्मीयता, सहयोगी भावना, निष्कपट स्वभाव बोकेका स–साना बालबालिकाहरु तथा बूढी आमाहरुको पर्यटकप्रतिको मायालु व्यवहारले घलेगाउँ पुगेका पाहुनाहरु तुरुन्तै फर्कन मान्दैनन् ।

त्यस्तै, लोपोन्मुख चराचुरुङ्गीहरुको मिठासपूर्ण आवाजले आल्हादित बनाउँछ । सुन्दर वनपाखा, एकनाशको स्वच्छ र शीतल हावापानीले समेत पर्यटकहरु घलेगाउँमा बस्न लालायित बनाउँछन् ।

पहिलाको घलेगाउँ र अहिलेको घलेगाउँमा धेरै भिन्नता छ । दश वर्ष लामो द्वन्द्वकालमा अस्ताएको पर्यटन क्षेत्र अहिले फस्टाएको स्थानीयवासीहरु बताउँछन् । समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको गुरुङहरुको उद्गम थलो तथा घले राजाले अन्तिम पटक राज्य सञ्चालन गरेको यस घलेगाउँमा १२५ घरधुरी छन् ।

यहाँका ९५ घर गुरुङ समुदायका र बाँकी दलित समुदायका छन् । यहाँ ३४ घरमा होमस्टे समेत सञ्चालनमा रहेको छ । बा¥ह वटाबाट शुरु होमस्टे भएको यो गाउँ अहिले नेपालकै दोस्रो रहेको घलेगाउँ होमस्टे व्यवस्थापनका संयोजक दीर्घराज घले बताउँछन् । उहाँका अनुसार यहाँ एकै रात डेढ सय जना पर्यटक सुत्न मिल्छ ।

यहाँ समिति नै गठन गरेर प्रत्येक हप्ता एकचोटि गाउँ सरसफाइ गर्ने अभियान शुरु गरिएको छ । यहाँ आउने पर्यटकलाई गाउँघरमै उब्जाइएका अर्गानिक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, स्थानीय जातका कुखुरा, खसीबोका, भेंडाको मासु लगायतको परिकार घलेगाउँको आकर्षण हुन् ।

गाउँमा बास बस्न पुगेका पाहुनाको सत्कार सँगसँगै लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गा लगायतका लोपोन्मुख संस्कृतिमा देख्दा फरकपन महशुस भएको पर्यटक सुस्मिता अधिकारी बताउँछिन् ।

बेंसीशहर बजारबाट ३२ किलोमिटरको कच्ची सडक पार गर्दै मोटरबाट साढे दुई घण्टामा यो गाउँ पुगिन्छ । पैदल यात्रा गरेमा करीब ५ घण्टा लाग्छ । विसं २०५६ सालदेखि शुरु भएको ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने अभियानकै प्रतिफलका रुपमा घलेगाउँ अहिले नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा चिनारी दिन सफल छ ।

यस गाउँका सबै घरमा रातो टिन हाल्न गण्डकी प्रदेश सरकार केही दिन अघि २९ लाख ४६ हजार रुपैयाँ र क्होलासोथर गाउँपालिकाले १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । स्मार्ट भिलेजको अभियानअन्तर्गत गाउँका १२५ घरधुरीमध्ये ८० प्रतिशत घरमा पुराना छाना हटाएर नयाँ रातो रङ्गको टिन लगाइएको समितिका सचिव उमल बहादुर विकले बताए ।

आगामी वर्ष घलेगाउँलाई स्मार्ट भिलेजको रुपमा घोषणा गर्ने तयारीका साथ अघि बढेको घलेगाउँका स्थानीय बासिन्दा बताउँछन् । हिमालयको काख र स्वच्छ हावापानीमा रमाएका गुरुङ समुदायको लमजुङमा बाक्लो बसोबास छ । एकै ठाउँमा गुचमुच्च भएर बस्न रुचाउने यस समुदायभित्र एकता छ ।

रोधीं सँगसँगै यहाँका बासिन्दा पछिल्लो समय आमा समूह, बाबा समूह र युवा क्लबमा आबद्ध भएर गाउँको विकासमा लागिपरेका छन् ।

रासस

Facebook Comments