गण्डकी प्रदेशको पोखराबाट पनि श्रम स्वीकृति दिन सुरु

0
श्रम स्वीकृति दिन
Advertisement

गण्डकी प्रदेशको पोखराबाट पनि श्रम स्वीकृति दिन सुरु

पोखरा। वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बिहीबारदेखि गण्डकी प्रदेशको पोखराबाट पनि श्रम स्वीकृति प्रदान गर्ने सुरु गरेको छ । पोखराको शहीद चोकमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पुनः श्रम स्वीकृति दिन थालेको हो ।

श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले चन्द्रमान गुरुङलाई स्वीकृति प्रदान गर्दै सेवा सुरु गर्नुभएको हो । सेवा सुरु गर्न मन्त्री विष्टसँगै श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल पनि पोखरा पुग्नुभएको छ ।

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहजरूपमा उपलब्ध गराउने उद्देश्यले सरकारले सो प्रदेशबाट पनि पुनः श्रम स्वीकृति जारी गर्न सुरु गरेको हो । सरकारले पहिलो चरणमा यही पुस १५ गतेदेखि प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रदान गर्न शुरु गरिसकेको छ ।

प्रदेश कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गर्ने छ। त्यस्तै सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य गर्नेछ ।

प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । अब सेवाग्राहीले श्रम स्वीकृतिका लागि काठमाडौँको ताहाचालस्थित श्रम कार्यालयमा लाइन लाग्नुपर्ने छैन । यसअघि जनकपुर र बुटवलबाट पुनःश्रम स्वीकृति दिन थालिसकिएको छ ।

Facebook Comments