गणतन्त्र दिवस: जो परिवर्तनका लागि क्रान्तिमा होमिए

गणतन्त्र दिवस
Advertisement

गणतन्त्र दिवस: जो परिवर्तनका लागि क्रान्तिमा होमिए

सन्तोष शर्मा

‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ…’

देशप्रेमको भावले ओत प्रोत र युग परिवर्तन गर्नसक्ने ताकत राख्ने श्याम तमोटले लेख्नुभएको यो गीतले जोकोहीको मन–मष्तिस्क क्रान्तिको ज्वारभाटा उठ्छ । त्यो ज्वारभाटालाई क्रान्तिपथमा सामेल गराउन भने जोकोहीले सक्दैन, ल्याकत राख्दैन तर झापा मेचीनगर–१० धुलाबारीका ४६ वर्षीय हरि थापाले देशको मुहार फेर्न विद्रोहको विगुल फुके र जनयुद्धमा होमिनुभयो ।

“२०५६ सालतिरको कुरा हो, साथीहरु घरमा आउनुभयो,” माओवादीको सशस्त्र युद्धमा सामेल हुँदा क्षण सम्झँदै थापाले भन्नुभयो, “मुलुक र जनजीविका परिवर्तन ल्याउन बन्दुक समाएँ ।” अहिले उहाँको दाहिने पाता राम्ररी चल्दैन । कारण उहाँका शरीरमा अहिले ७४ वटा बमका छर्रा छन् । इलामको मङ्गलबारेबाट झापा आउने क्रममा सेनासँग भीडन्त हुँदा सेनाले हानेको ‘३६ ग्रिनेट’ कड्किँदा उहाँको शरीरमा ८६ छर्रा लागेको थियो ।

“इलामबाट झापा आउँदा सेनासँग भीडन्त भयो”, युद्धको क्षण सम्झँदै थापाले भन्नुभयो, “शरीरभरि प्वालै–प्वाल भयो, ८६ वटा छर्रा पसे, १२ वटा निकालियो, अझै ७४ वटा त शरीरमै छ ।” झापाको मेची अञ्चल अस्पताल, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएको उहाँले बताउनुभयो । “पछिल्लो पटक धरानमा क्याम्प राखिएको थियो”, उहाँले भन्नुभयो, “डाक्टरले छर्रा ननिकाल्नु भनेका छन्, अपरेशन गरेर हड्डी फुटाएर छर्रा निकाल्दा शरीर नचल्न पनि सक्छ रे !” शरीरमा रहेका छर्राले पीडा हुने गरेको उहाँले सुनाउनुभयो ।

सशस्त्र जनयुद्धताका थापाले धेरै लडाइँ लड्नुभएको छ । इलामको बन्दुके, पाँचथरको गोपेटार, चैनपुरलगायतका थुप्रै ठाउँमा युद्ध लडेको अनुभव उहाँसँग छ । “मोर्चामा त कति लडियो–लडियो”, उहाँले भन्नुभयो, “अहिले सम्झँदा नि सपनाजस्तो लाग्छ ।” घाइते थापाले अहिलेसम्म राज्य पक्षबाट कुनै राहत पाउनुभएको छैन । “एक पटक जिल्ला प्रशासन कार्यालय झापाबाट उपचार खर्च भनेर रु २५ हजार आएको छ भनेर फोन आएको थियो”, थापाले भन्नुभयो, “त्यतिबेला मैले उपचार गरेको सबै कागजात शान्ति समितिमा बुझाएको थिएँ, निकै पहल गर्दा पनि कसैले चासो दिएनन्, त्यो पैसा पनि निकाल्न नसकेर फिर्ता गयो रे !”

त्यतिबेला आफूसँगै युद्ध मोर्चामा रहेका थापाको साथीहरु कोही मन्त्री त कोही सांसद छन् । सँगैका साथीहरु झलकसिंह दर्लामी, धीरेन शर्मा सांसद छन् भने इन्द्रबहादुर आङ्बो प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री रहेको उहाँले बताउनुभयो । “धेरै साथीहरु छन्, कोही मन्त्री, सांसद भएका छन्”, उहाँले भन्नुभयो, “आफू त पढालेखा पनि परिएन, परिवर्तनका लागि युद्धमा लागियो मात्र ।”

“घाइते शरीरलाई निको पार्नतिर लाग्दा भएको अलिकति जग्गा पनि सकियो”, उहाँले भन्नुभयो । साथीहरुले चलाएको फिनेल उद्योगमा केही लगानी गरेर त्यसैबाट आएको आम्दानीले गुजारा चलाइरहेको उहाँले बताउनुभयो । जीविकोपार्जनको दर्बिलो माध्यम नभएपछि झापाबाट इलामको रोङ गाउँपालिका–५ मा रहेको पुख्र्यौली घरमा बसाइँ सर्ने तरखरमा हुनुहुन्छ, थापा ।

माओवादीले उठाएको सङ्घीयता, धर्मनिरपेक्षतालगायतका मुद्दा कार्यान्वयन भए पनि अपेक्षाकृत काम हुन नसकेको उहाँको गुनासो छ । “केही मुद्दा र माग पूरा भए”, थापाले भन्नुभयो, “जुन उद्देश्यले युद्धमा लागियो, त्यो अहिले पूरा हुन सकेको छैन ।” मुलुकमा आमूल परिवर्तनका लागि जीवन उत्सर्ग गरेका वीर शहीदका सपना साकार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “घाइतेको उपचार र जीवन निर्वाहमा सरकारले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “परिवर्तनका लागि जीवन समर्पण गर्नेको जीवनमा पनि परिवर्नतन आउनुपर्छ ।” दुई छोराछोरी र श्रीमतीका साथमा दुःखजिलो गरेर बाँचिरहेका उहाँ अहिले पार्टीको साधारण सदस्य मात्र हुनुहुन्छ ।

थापाजस्तै घरपरिवार माया मारेर युद्धमा होमिएका अर्का सिपाही हुनुहुन्छ, झापा मेचीनगर–३ बडाखाल (तत्कालीन बाहुनडाँगी गाविस) का ५५ वर्षीय प्रदीप राई । मुलुकमा क्रान्तिको ज्वाला दन्किरहेको बेला राईले सशस्त्र क्रान्तिको बाटो तय गर्नुभएको थियो । विसं २०५५ सालमा एलबी सुब्बा र मिस्सी धिमालले उहाँलाई क्रान्तिमा सामेल हुन ऊर्जा दिनुभयो रे ! “सानो तिनो व्यवसाय गरेर जीवीका चलाउँदै थिएँ”, उहाँले विगत सम्झनुभयो, “त्यतिखेर बाहुनडाँगीमा माओवादीको कोही पनि थिएनन् ।”

इलामको घोडेटार, धुसेनी लगायतका स्थानमा भएको युद्धमा सहभागी उहाँलाई २०६२ सालमा मेचीनगरको हात्तीसुँढेमा एम्बुलेन्समा आएको शाही सेनाको घेरा हाल्यो । “एम्बुलेन्समा सेना आएको रहेछ, मलाई थाहा भएन, पछि थाह पाएपछि भाग्न खोज्दा सेनाले खुट्टामा गोली हान्यो र गिरफ्तार ग¥यो”, उहाँले विगत सम्झिनुभयो, “त्यसपछि बंकरमा लगेर राखे ।”

बंकरमा सेनाले दिएको यातना सम्झिँदा उहाँको शरीर अहिले पनि सिरिङ्ग हुन्छ रे ! “खुट्टामा एउटा पनि नङ्ग्रा थिएन, पिलासले च्यापेर निकालिदिए, सुइँले घोच्ने गथ्र्ये,” पीडादायी त्यो समय सम्झिँदै उहाँले भन्नुभयो, “खुट्टामा गाँठो परेको छ, धेरै दुख्छ, कहिलेकाहीँ हिँड्न पनि सक्दिनँ ।” युद्धताका दीपक गुरागाईंलगायतका साथीहरुले शहादत प्राप्त गरेको उहाँको मथिगंलमा ताजै छ । “शान्ति सम्झौतापछि धेरै साथीहरु तिरवितर भए”, उहाँले भन्नुभयो, “एलबी, वसन्तलगायतका साथीहरु विदेश गएका छन् ।”

द्वन्द्वका घाइते राईले अहिलेसम्म सरकारले उपलब्ध गराएको रु २५ हजारमात्र पाएका छन् । “न त सरकारले नै हेर्छ, न त पार्टीले खोज्छ”, राईले भन्नुभयो, “जनमजदूरी गरेर परिवार पाल्दैछु, बेलाबेला शरीरले साथ नदिँदा त्यो पनि मुस्किल छ ।” मुलुकमा गणतन्त्र आएर पनि अनुभूत गर्न नपाएको राईको भनाइ छ । “हरेक मान्छेमा स्वार्थ हुँदोरहेछ”, उहाँले भन्नुभयो, “हामीलाई टेकेर धेरैजना माथि गए, तलका हामीलाई बिर्सिए ।” सरकारले द्वन्द्वपीडितलाई सहयोग गर्नुपर्ने उहाँको माग छ । “सरकारले शहीदलाई सम्मान, उनीहरुको परिवारलाई राहत दिनुपर्छ”, उहाँले भन्नुभयो, “द्वन्द्वपीडितको पीडामा सरकारले मलहम लगाउनुपर्छ ।”

युग परिवर्तका लागि आफ्नो जीवन उत्सर्ग र समर्पण गर्नेप्रति सरकारले पहलकदमी गर्नुपर्छ । नत्र गणतन्त्र ल्याउनेले नै गणतन्त्रको अनुभूति गर्न पाउने छैनन् । आफू मरेर पनि हजारौँ–लाखौँलाई नेपालीलाई गणतन्त्रको सुनौलो बिहानी दिनेप्रति श्रद्धासुमन ।

Facebook Comments