logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

भात फाल्ने ‘साना किसान’ को ठूलो अविवेक ! विचार डा. अरूणा उप्रेती

वि.सं ८ बैशाख २०७६, आईतवार १२:२९
Blog single photo

भात फाल्ने ‘साना किसान’ को ठूलो अविवेक ! विचार डा. अरूणा उप्रेती

काठमाडौ : राष्ट्रिय साना किसान सम्मेलन गत फागुन १६ गते भएको थियो । याक एण्ड यति होटेलमा भएको साे कार्यक्रममा पोषण, प्राङ्गारिक मल र स्वास्थ्यसम्बन्धी एक कार्यपत्रमा मलाई आफ्नो विचार प्रस्तुत गर्न बोलाइयो ।

आफ्नो प्रस्तुतिपछि खाना खाने बेला भयो । म तोकिएको ठाउँमा पुगेँ । म त्यहाँ उभिएर एकछिन् हेरेपछि मेरो मनमा लाग्यो- के यो साँच्ची नै साना किसान धरतीपुत्र धरतीपुत्रीहरुको सम्मेलन हो त ? मलाई त विश्वास नै लागेन । किनभने, प्रायः सबैले अनेकथरिका खाना प्लेटभरि लिएका थिए र खान नसकेर फ्यालेका थिए । खानापछि गुलियो, केक, हलुवा, आइसक्रिम पनि त्यतिकै फ्यालिएको थियो । मेरो मनमा अचानक साना किसानको अनुहार देखा पर्‍यो । साना किसान त्यो हो, जसले अन्नलाई माया गर्छ । साँच्ची नै साना किसानहरु यो सम्मेलनमा आएका भए अन्नलाई यसरी फ्याँक्न सक्थे होलान् ?

एक-एक मुठी धान उब्जाउन, एक पाथी आलु फलाउन, एक माना दाल उब्जाउन, एक मुठी हरियो धनियाँ उमार्न कति शारीरिक मेहनत, पानी, मल आदिको जरुरत पर्छ भन्ने उनीहरुले बुझेका हुन्छन् । घरतीका छोराछोरी साना किसानहरुले के साँच्ची नै त्यसरी हृदयहीन भए खाना फ्याल्न सक्थे होला त ? म किसान त होइन । तर, गाउँघरमा जादाँ किसानको मेहनत देखेकी छु । मेरी मावलकी हजुरआमा र मामा पनि किसान थिए । मेरी हजुरआमा धान र तोरीको गेडागेडा एक-एक गेडा पनि खेत र आँगनबाट उठाँउथिन् । अति गरीबीबाट उठेकी मेरी हजुरआमा वास्तवमा धेरै वर्षपछि ठूला किसान भएकी थिइन् । भारतको उत्तर प्रदेशको लखिमपूर गाउँमा मामाको ठूलो ‘हवेली’ बनेको थियो । तर, आफ्नो जीवनको चरम गरीबीमा साना-साना छोराछोरीलाई खुवाउन नपाउँदाको दुःखले गर्दा मेरी बज्यैले हामी नातिनातिनालाई पछि पनि भातकोे एक दाना पनि खेरा फाल्न दिन्न थिइन् ।

बालकालमा सिकेको त्यो कुरा मेरो जिन्दगीमा ठूलो पाठ बनेको छ । तर, साना किसानले नेपालमा चाँहि त्यस्तो पाठ सिकेनन् । केही महिनाअघि मकवानपुर जाँदा एक सानो चिया पसलमा लेखेको देखेँ । ‘कृपया खानेकुरा खेर नफाल्नु होला ।’ त्यो देखेर मलाई निकै रमाइलो लाग्यो । अब चिया पसलका मालिकहरुलाई पनि खाना खेर फ्याल्नु हुन्न भन्ने सचेतना आइसकेछ भन्ने ठानेँ । कतिपय भोजमा त ३/४ वर्षका बालबालिकालाई पनि अभिभावकले प्लेटभरि खाना लिइदिन्छन् । तर त्यो बालकको पेटमा त कति पो भोजन अटाउँछ ? ५/७ गाँस देखाएपछि बालकको पेट र मन दुवै अघाउँछ । तर, त्यो खाना फ्यालेर बच्चालाई अझ गुलियो खानाका लागि तयार गरिन्छ अनि मिठाइहरु पनि फ्यालिन्छ ।

यस्ता नानीलाई कोच्याए खाना चाहने अभिभावकले सुदुरपश्चिम र कर्णालीका कुपोषित बालबालिकाले खान नपाएको र उनीहरुको पीडा अनुभव गरिदिन सकेको भए ? हामीकहाँ यसरी खाना फ्याल्नुहुन्न भने संस्कृतिको विकास अझै हुन बाँकी छ । कतिपय कुरामा पश्चिमी देशको नक्कल गर्ने हामीले खाना नफ्याल्ने उनीहरुको बानीचाहीँ अँगाल्न सकेेका छैनौँ । अमेरिका वा युरोपमा होटलमा जाँदा खाना जाँदा पनि खाना यदि बढी भयो भने प्याकेटमा हालेर घर लैजाने पद्दति छ । नेपालमा चाँही अझै होटलमा जाँदा यसरी खाना बढी भए लिएर जाने चलन छैन । मैले चाँहि गर्छु । भोलिपल्ट ‘बासी’ भए पनि झन मीठो हुन्छ ।

मकवानपुर चिया पसलेले ‘खाना नफाल्नु होला, चाहिनेजति मात्र लिनुहोला’ भन्ने लेखेर झुण्ड्याउने साहस ठूला ठूला होटलवालाहरुले पनि गरेदेखि सबैको बुद्धि आउँथ्यो कि ? अन्न भनेका देवता हुन् र यिनको सम्मान गर्नुपर्छ भनेर हजुरआमाले सिकाउनुभएको थियो । भोजनको अभावमा शरणार्थीहरु कसरी तड्पिन्छन् ? राजमार्गमा बसका यात्रुहरुको खान नपाएको र भोजनको अभावमा, सुत्केरीको दूध नआएर शिशु छटपटिएको, दूध खान नपाएर मरेका घटनाहरु सुनेर पनि हामी खाना फ्याल्छौँ भने हाम्रो मानवीय विवेक खोई ? खाना फ्याले ठूलो मान्छे रहेछ भनेर मानिसहरुले औंल्याउँछन् भनेर गर्व गर्न हो वा सानैदेखि बालबालिकालाई कहिले खानेकुरा नफ्याँक्नु पनि धर्म हो भनेर सिक्ने र सिकाउने ? महोदय, यति पढिसकेपछि त बिहे, भोज वा पार्टी जाँदा प्लेटमा पहाडै जस्तो गरी खान लिनुहुन्न होला नि होइन ?




Top