सर्वोकृष्ट कृषक गाईपालक राजेन्द्रराज पन्त

गाईपालक
Advertisement

सर्वोकृष्ट कृषक गाईपालक राजेन्द्रराज पन्त

गोरखाका गाईपालक कृषक राजेन्द्रराज पन्त वर्षको सर्वोकृष्ट कृषकका रूपमा सम्मानित भएका छन् । कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पन्तलाई पुरस्कृत गरेको हो । 
ललितपुरमा आयोजित कार्यक्रमकाबीच एक सर्वोकृष्ट र चार उत्कृष्ट गरी पाँच कृषकलाई राष्ट्रियस्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको हो । गोरखानको पालुङटार नगरपालिका ७ मा दुई सय ६० गाई र ४० बाच्छाबाच्छी रहेको व्यवस्थित गाई फार्म सञ्चालन गरिरहेका पन्तले गाईलाई आवश्यक घाँसको लागि ३ सय ४० रोपनी क्षेत्रमा घाँस खेति गरेका छन् । कृषिमन्त्री चक्रपाणि खनालले सर्वोकृष्टलाई २ लाख नगद र उत्कृष्टलाई जनही १ लाखका दरले नगद सहित पुरस्कार तथा दोसल्ला ओढाइ सम्मान गरे । सम्मान गर्दै मन्त्री खनालले कृषिलाई सम्मानित पेशाको रूपमा विकास गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताए । 
राष्ट्रियस्तरमा पुरस्कृष्ट हुने उत्कृष्ट कृषकहरूमा चितवनस्थित भरतपुर महानगरपालिका–२३ का बाख्रापालक कृषक योगेन्द्रबहादुर खड्का, बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नं. २ का च्याउ खेति गर्दै आएका लालबहादुर सुनार, धुनषा बनुपटु्टी गाउँपालिका वडा नं. ९ का बौएलाल मुखिया र कैलाली टिकापुर नगरपालिका वडा नंं. १ का केरा खेति गर्दै आएका कृषक रामबहादुर कुँवर रहेका छन् । पुरस्कार तथा सम्मान पाएका कृषकहरूले आफूहरूलाई कृषि कर्ममा थप मेहनत गर्न नैतिक बल थपेको र कृषक हुनुमा गर्व महसुस गरेको प्रतिक्रिया दिएका छन् । 
कृषकहरूको योगदानलाई सम्मान गर्दै कृषिलाई समाजको आकर्षक एवं सम्मानित पेशाको रूपमा स्थापित गर्न तथा कृषकको मनोबल उच्च बनाउदै कृषकबीच स्वस्थ प्रतिस्पर्धाको विकास गरि कृषि पेशालाई व्यावसायिक रूपमा विकास गर्ने उद्देश्यले बर्सेनि जिल्ला, क्षेत्र र केन्द्रीय तहमा सम्मान तथा पुरस्कारको कार्यक्रम गरिँदै आएको छ । यसअघि पाँच कृषकलाई क्षेत्रीयस्तरको पुरस्कार प्रदान गरिसकिएको छ । क्षेत्रीय कार्यालयहरूबाट सिफारिस भइ आएका कृषकमध्ये मन्त्रालयले केन्द्रीयस्तरमा समिति बनाइ सर्वोकृष्ट र उत्कृष्ट कृषकको छनोट गरेको हो । हरेक वर्ष असार १५ मा राष्ट्रिय कार्यक्रम गरी पुरस्कार वितरण गर्ने प्रावधान रहेकोमा यो वर्ष भने पाँच दिन ढिला गरी पुरस्कार वितरण गरिएको हो ।

Facebook Comments