ढाट आगजनीमा मेरो कुनै संलग्नता छैन: प्रदेश सांसद खनाल (अन्तरवार्ता )

प्रदेश ३ सांसद कृष्ण खनाल
Advertisement

ढाट आगजनीमा मेरो कुनै संलग्नता छैन: प्रदेश सांसद खनाल (अन्तरवार्ता )

जेष्ठ ३ गते पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिकाको गोन्द्राङमा राखिएको कर उठाउने ढाट आगजनीमा आफ्नो कुनै संलग्नता नरहेको प्रदेश ३ का सांसद कृष्ण खनालले बताउनुभएको छ ।

स्टिम न्यूज संग कुरा गर्दै खनालले उक्त घटना भएको समयमा आफू त्यहाँ आउने बेला परेको तर उक्त ढाट आगजनीमा आफ्नो नेतृत्वमा भएको भनि संचार माध्यममा आएका समाचारहरू मा कुनै सत्यता नरहेको बताउनु भयो ।

प्रदेश ३ सांसद कृष्ण खनाल संग स्टिम न्यूजले गरेको कुराकानीको सम्पादित अंश:

  • जेष्ठ ३ गते भरतपुर महानगरपालिकाको गोन्द्राङमा रहेको ढाटमा भएको आगजनीका बेला तपाइँ पनि त्यहाँ उपस्थित हुनुहुन्थ्यो, खास के भएको थियो त्यहाँ ?

यसबारेमा मैले हिजो विज्ञप्ति नै निकालेर आफ्नो कुराहरू राखिसकेको छु, त्यो दिन म स्व. मदन भण्डारी ज्यूको को स्मृति सभामा भाग लिएर फर्कदै थिएँ । त्यहाँ पहिलेनै स्थानीयवासीहरू जम्मा हुनुभएको थियो । उक्त ढाटको विषय नयाँ होइन ढाटको विषयलाई लिएर पटक पटक यस्ता तनावहरू हुने गरेका छन्, जब म त्यहाँ पुगे केहीले तपाइँ हाम्रो जनप्रतिनिधि तपाइँले बोल्नुपर्छ भनेर भन्नु भयो र म त्यहाँ नै बसें । हामी कुराकानी गरिरहेका थियौं, त्यसैक्रममा एउटा समूहले पेट्रोल फ्याँकेर आगो लगाए, सिभिल ड्रेसमा त्यहाँ रहनु भएकी असईको हात खुट्टामा आगो लाग्यो । त्यो घटना दुखद् र विडम्बनापूर्ण छ म त्यसमा खेद व्यक्त गर्दछु ।

  • समाचारहरूमा तपाइँको नेतृत्वमा आगजनी गरियो भनेर आए, तपाइँले त्यहाँ माहोललाई संयमित बनाउने प्रयास गर्नुभएन ? माहोललाई उत्तेजित बनाउन तपाइँको कुनै भूमिका पो रह्यो कि ?

म जनप्रतिनिधि, राज्यको फूली लगाउने व्यक्ति मैले माहोललाई उत्तेजित बनाउने कुरै हुँदैन । हामी एकापट्टी छलफल गर्दै थियौं, अकस्मात एउटा समूहले आगजनी गर्यो । जनप्रतिनिधि भएको कारणले उहाँहरूले तपाइँले बोल्नुपर्छ भनेपछि म त्यहाँ बाट गइहाल्न मिलेन, केही मिडियाहरूले म त्यहाँ रहेकै भरमा सत्यतथ्य नबुझी मलाई दोषी बनाएर समाचार सम्प्रेषण गरे जुन दुखद् छ । मेरो विगत हेर्नुभयो भनेपनि धेरै कुरा प्रष्ट हुन्छ, म त्यस्तो खालको मान्छे नै होइन ।

  • त्यहाँ जनताको खास माग के हो ? ति मागहरू प्रति तपाइँको धारणा के हो ?

यो वर्षौं देखिको समस्या हो, त्यो ढाटलाई लिएर यसअघि पनि पटक पटक तनाव उत्पन्न भएको छ, चितवनको ठूलो जनसंख्या पूर्वी चितवनमा बसोबास गर्दछ, दैनिक त्यो बाटो भएर उहाँहरूले आवतजावत गर्नुपर्ने हुन्छ । यस्तोमा त्यहाँ ढाट रहनु र जनताबाट अवैज्ञानिक ढंगले कर उठाउनु उपयुक्त नहुने आवाज वर्षौं देखि उठेको छ, जिल्लाको शुन्य स्थानमा ढाट राख्नुपर्ने कुरा सरोकारवालाहरूले पटक पटक उठाएका छन् । जनताको यस मागमा मेरो समर्थन छ ।

  • तपाइँ नेकपाको तर्फबाट निर्वाचित जनप्रतिनिधि पनि, प्रदेश तथा केन्द्रमा तपाइँकै दलको सरकार छ, तपाइँ जनताको यस मागमा सहमत पनि हुनुहुन्छ,  यस्तोमा जनता सडकमा आउनुपर्ने अवस्था उत्पन्न हुनुमा तपाइँको कमजोरी देखिदैन ?

त्यस्ता किसिमका चर्चाहरू हुने गर्दछन् तर मेरो विगतलाई पनि नियाल्नु भयो भने थाहा हुन्छ म सधैँ जनताको पक्षमा लड्ने व्यक्ति हुँ, सबैकुरा आफूले भनेजस्तै हुँदैनन्, म निरन्तर जनताका आवाजहरू सम्बन्धित निकायसम्म पुर्याउन लागि परिरहेको छु । म यस विषयलाई अझै समाधानमुखी हिसाबले उठाउन आफ्नो तर्फबाट पहल गर्नेछु ।

  • घटना पछी बसेको सर्वदलीय बैठकमा उपलब्ध भिडियो समेतको आधारमा कारबाही गरिने निर्णय भएको तर प्रहरीले केही व्यक्तिहरूलाई पक्राउ गरेको र तपाइँ लगायतका केहीलाई पदीय हैसियतकै कारण प्रहरीले छानबिनको दायरामा नल्याएको भन्ने आरोप पनि छ, के भन्नुहुन्छ ?

यसमा मेरो कुनै धारणा छैन, त्यो प्रहरीको कामको विषय हो । कानुनि कामकारबाहीमा पक्षपात हुनु हुँदैन भन्ने धारणा राख्दछु, त्यहि किसिमको व्यवस्थाको लागि लडेको व्यक्ति हुँ । प्रहरीले आवश्यक छानबिन गरोस्, पदीय हैसियतकै आधारमा कोहि कसैलाई कुनै छुट हुनु हुँदैन । प्रहरीले निष्पक्ष रूपमा आफ्नो काम गरोस्, सत्यतथ्य बाहिर ल्याओस् र दोषीलाई कारबाही गरोस्, म दोषी छु भने पदकै कारण मैले उन्मुक्ति पाउने भन्ने हुँदैन ।

ढाट आगजनी प्रकरणमा चितवन प्रहरी माथि सन्देह, के भन्छन् एसपी सिंह ?

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here