logo
  • Thursday, November 21, 2019
  • वि.सं ५ मंसिर २०७६, बिहीबार

स्वादिष्ट तीजको दर कसरी बनाउने ? जानकारी सहित

स्टिम न्युज वि.सं १५ भाद्र २०७६, आईतवार ०६:४६
Blog single photo

काठमाडौँ: आज हिन्दू धर्मावलम्बीहरुको एक प्रमुख चाड तीजको पहिलो दिन हो । हिन्दू महिलाहरुको विशेष चाड भनेर चिनिने यो पर्वमा आज पहिलो दिन दर पकाएर खाने र भोलि दोस्रोदिन निराहार व्रत बस्ने प्रचलन रही आएको छ ।

आजको दिन आ–आफ्ना चेलीबेटीहरुलाई बोलाई दर खुवाउने गरिन्छ । विवाह गरिसकेका तथा घरभन्दा टाढा रहेका चेलीबेटीलाई माइत तथा घरमा बोलाएर दर खुवाउनु आजको दिनको विशेषता हो ।

दर ठाउँ अनुसार फरक फरक तरिकाले पकाउने र खाने गरिन्छ । यसैगरी यो पर्वमा दर खाने भनेर कतिपयले मासु, चिउरा, रोटी लगायतका परिकार पकाई खाने चलन पनि पाइन्छ । तर तीजको दर आफ्नै विशेषता, महत्व र बनाउने तरिका पनि फरक छ । यस्ता कुरा अन्य चाडपर्वमा पनि खाइने भएकोले आजको दिनमा दर नै खानु पर्ने मान्यता पनि कतिपयले राख्छन् ।

दर के हो त ? कसरी पकाउने ?

तीजमा पकाइने दर एक विशेष प्रकारको दूधजन्य खाना हो । आफ्नो इच्छा र चाहना अनुसार अन्य समयमा खाए पनि हरितालिका तीजको पहिलो दिन भने ‘दरखाने दिन’ कै नामले प्रख्यात छ । दर यसरी पकाउने :

आवश्यक सरसामग्री

(१)  चामल (आवश्यकताअनुसार, परिवार सदस्यको आधारमा निर्धारण गर्नुहोस्)
(२)  दूध (आवश्यकताअनुसार, चामलको मात्रा हेरेर, लगभग आधा केजी चामलबराबर ३ लि.)
(३)  घ्यू (तयार गरिएको चामल भुट्न पुग्नेगरी)
(४)  मरमसला (नरिवल, काजु, बदाम, छोकडा, ल्वाङ, सुकमेल, मरिच, जाइदानो (जाईफल) को धुलो)
(५)  चिनी (आवश्यकता र स्वादअनुसार)
(६) कराई (उपलब्ध भएसम्म किटको नत्र अलि बाक्लो पिँध भएको ठूलो कराई)
(७) काक्रोको अचार (खल्पी) (उपलब्ध भएसम्म नत्र अन्य कुनै ताजा अचार)
(८)  आलु र करेला तथा बोडीको तरकारी

पकाउने तरिका

(१) कराई राम्रोसँग तताउनुहोस् ।
(२) तातेको कराईमा घ्यू राख्नुहोस् ।
(३) घ्यू राम्रोसँग ततेपछि चामल राख्नुहोस् ।
(४) सानो आगो पारेर चामललाई राम्ररी खैरो हुने गरी भुट्नुहोस् ।
(५) चामल खैरो भइसकेपछि घ्यूबाट छुट्याएर कुनै भाँडामा खन्याउनुहोस्, चामल डढ्न नदिनुहोस्, कराईलाई आगोबाट निकाल्नुहोस् र सेलाउन दिनुहोस् ।
(६) यो समयमा आवश्यक मरमसला तयार गर्नुहोस् । स्वादअनुसार नरिवल, काजु, बदाम, छोकडालाई कोरेसोमा कोरेर वा मसिनो गरी काटेर तयार गर्ने । ल्वाङ, सुकमेल, मरिच, जाइदानो (जाईफल) लाई भने पिसेर धुलो बनाउने ।
(७) निकालेको चामल सेलाई सकेपछि पुन कराईमा राखेर आगोमा बसाउने ।
(८) अब दूध आवश्यकताअनुसार राख्ने र राम्रोसँग चलाई रहने जबकी चामल डढ्न नपाओस् ।
(९) दूध सुक्न लागेपछि चिनी राख्ने र राम्रोसँग चलाउने । (चिनीलाई दूध सुक्न नपाई कहिलेपनि नहाल्नुहोस् यसो गर्दा चामल डढ्छ)
(१०) अब तयार गरेको मरमसला सबैतिर पुग्नेगरी माथिबाट छर्नुहोस् र राम्रोसँग चलाउनुहोस् । (जबकी मसला डल्लो पर्न र एकापट्टिी थुप्रिन नपाओस्) ।
(११) दूध राम्रोसँग सुकिसकेपछि कराईलाई आगोबाट निकाल्नुहोस् । केहीबेर सेलाउन दिनुहोस् तर नछोप्नुहोस् ।
(१२) अब दर तयार भयो आवश्यकता र उपलब्धताअनुसार तरकारी र अचार राखेर खानुहोस् ।

याद गर्नुहोस् यो दरमा घ्यू, दूध र मसलाको मात्रा धेरै हुने भएकोले पेटसम्बन्धी समस्या हुनेहरुले कम खानुपर्दछ । (नोटः यो हाम्रो गाउँघरमा तथा कोठामा दर पकाउने विधिमात्रै हो)




Top